अन्यायमाथि न्यायले विजय हासिल गरेको खुसीमा हामी दसैँ मनाउँछौँ । मार्कण्डेय पुराणभित्रको दुर्गा स्तुतिअनुसार दुम्जाको तल सुनकोसी तटमा रहेको कुशेश्वर महादेवको मन्दिरनजिक दुर्गा माताको उत्पत्ति भयो, जहाँ अहिले दुर्गा तीर्थ छ । अलि पर उहाँले मुकुट राख्नुभयो, जसलाई मुकुटेश्वरी भनिन्छ ।
दुर्गा माताले शुम्भ–निशुम्भ वध गरेको ठाउँ सिन्धुली मूलकोटमा छ । दुष्टलाई नाश गरेर खड्ग पखालेको ठाउँ रामेछापको खाँडादेवी भन्छौँ । खाँडा राखेर कालिन्चोकमा गएपछि दुर्गा माता अन्तध्र्यान हुनुभयो । त्यसपछि उहाँलाई देखिएन, उहाँ त्यहीँ विलीन हुनुभयो । भगवती पार्वती ‘पर्वतकै छोरी’ हुनुहुन्छ । यसरी पहाडमै शक्ति प्रकट भएको देखिन्छ । त्यसकारण पनि पहाडमा सबैले यो चाडलाई विशेष रूपमा मनाउँछन् र शक्तिको उपासना गर्छन् । दसैँमा कसैले रातो टीका र कसैले सेतो टीका लगाउनुहुन्छ होला । तर, सबैले मान्नुहुन्छ ।
हिमाली क्षेत्रमा चिसो ज्यादा र मौसम प्रतिकूल हुने भएकाले दसैँ मनाउने प्रचलन छैन, तर त्यहाँ पनि शक्तिको उपासना हुन्छ । मधेसमा पनि पहाडमाजसरी दहीले मुछेको चामलको टीका लगाइँदैन होला, जमरा राखिँदैन होला । तर, मिथिला क्षेत्रमा (नेपालको मधेस र उत्तर भारतको बिहार) सप्तमीदेखि भजन कीर्तन गर्ने, नवमीसम्म विशेष पूजा गर्ने र दशमीको दिन मूर्ति विसर्जन गर्ने परम्परा छ ।