मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज १२ बुधबार १३:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

Read Time : < 1 मिनेट
२०७९ असोज १२ बुधबार १३:३९:००

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत वाणिज्य बैंकहरूले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन्। तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरूले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन्।

नेपाल राष्ट्र बैंकले रु. पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो। तर, बैंकहरूले सात दिनभित्र ब्याज–हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार–व्यवसाय धरापमा परेका वेला राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायीहरूलाई मानसिक तनाव दिने काम गरिएको बताए। उनले भने, ‘ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ।’

संघका अध्यक्ष कँडेलले आफू पनि बैंकको ताकेताबाट पीडित भएको बताए। उनले भने, ‘आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैंकले मनपरी ब्याज बढाउने, राष्ट्र बैंकको निर्देशनविपरीत ताकेता गर्ने काम भइरहेको छ।’ नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैंकहरूले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गरे।

यसअघि सुर्खेत उद्योग वाणिज्य संघले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैंकहरूलाई विरोधपत्र बुझाइसकेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैंकको निर्देशनविपरीत बैंकहरूबाट काम भइरहेको भए कारबाही हुने बताए।

‘हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैंकका कार्यहरूको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैंकले आवश्यक कारबाही गर्छ,’ उनले भने। बैंकको ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ। प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापारचक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताए।