१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Saturday, 28 September, 2024
रासस ढोरपाटन
२o७९ असोज १२ बुधबार १२:१६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

१४ दिन हिँडेर भेडा बेच्न बाग्लुङ बजार

Read Time : > 2 मिनेट
रासस, ढोरपाटन
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १२:१६:oo

अगाडि–अगाडि काला–सेता रङका भेडाहरू। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुईजना बाग्लुङ बजारको उपल्लाचौरमा भेटिए। उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका– ३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर। उनीहरू काका–भजित हुन्।

१४ दिनअगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मंगलबार दिउँसो बाग्लुङ बजार आइपुगेका छन्। दसैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बाग्लुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बाग्लुङ बजार आइपुगेका हुन्। बाग्लुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए। साठी भेडा १५ गतेभित्र बेचिसकेर गाउँ फर्कने विचारमा छन् दुवैजना।

करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दसैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन्। नन्दबहादुर भन्छन्, ‘आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा बिक्री भइसके। अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दसैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचिसक्नुपर्छ।’

नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताए। ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उनको भनाइ छ। उनले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्किसक्ने बताउँछन्। ‘मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एकजनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्किसक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ,’ नन्दबहादुरले भने।

नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहज रूपमा बाग्लुङ बजारसम्म ल्याउन सकेको बताए। यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उनको भनाइ छ। बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उनले सुनाए। ‘यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले  बाटामै मरेका थिए। केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो। सजिलैसँग आइयो बाग्लुङ बजार,’ उनले भने।

नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताए। आफूहरूले ल्याएको बथानमा न्यूनतम रु. २० हजारदेखि अधिकतम रु. ३५ हजारसम्मका भेडा रहेको उनको भनाइ छ। तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताए। आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ।

‘अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरू सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो,’ तीर्थबहादुरले भने, ‘ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ।’

तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताए। दसैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उनको भनाइ छ। तीर्थबहादुर भेडा बेचिसकेर दसैँ मनाउन गाउँ जाने बताउँछन्।

‘भेडा त अरू वेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो वेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुपर्‍याे, एक सरो राम्रो कपडा किनिदिनुपर्‍याे,’ उनले भने, ‘अरू खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यहीँ अलि सस्तोमा पाइएला यतैबाट लगेर जानुपर्ला।’

बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ। मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ। बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताए। उनले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गरे।

थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गरे। “मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्”, उनले भने।