मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ल्याप्रोस्कोपी पेटसम्बन्धी शल्यक्रियाको  सरल विधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:३२:००

हेल्थ टिप्स

डा. राजन शाह ल्याप्रोस्कोपिक सर्जन एभरेस्ट अस्पताल

शरीरको भित्री अंगमा भएका समस्याहरूलाई टेलिस्कोप क्यामेरामार्फत नियाल्ने र उपचार गर्ने विधि ल्याप्रोस्कोपी प्रविधि हो । यस विधिबाट स्त्रीरोग, हाडजोर्नी, पिसाबसम्बन्धी समस्या, पाचनप्रणाली र नाक–कान–घाँटीसम्बन्धी उपचार गर्न सकिन्छ ।

तर, स्त्रीरोगको उपचारमा यसको प्रयोग जति विस्तारित हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । दुर्गममा पनि यस विधि प्रयोग गर्ने हो भने धेरैले सरल उपचार पाउँथे । यद्यपि, काठमाडौंलाई छाड्ने हो भने कतिपय सहरमा अझै पनि पेट चिरेरै अप्रेसन गर्ने गरिन्छ ।

महिलाहरू पेट तथा पाठेघरसम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भइरहेका हुन्छन् । कसैको महिनावारी नियमित भइरहेको हुँदैन, कसैको बच्चा हुँदैन, कसैको बच्चा जन्माउने क्रममा स्वास्थ्यमा गडबडी देखिन्छ, कसैको बच्चा भइसकेपछि पनि समस्या देखिन्छ । 

कसरी गरिन्छ ?
ओपन सर्जरी गर्दा पेट चिरेर गर्ने गरिन्छ । महिला रोगअन्तर्गत पाठेघरमा मासु पलाएको छ भने यसरी पेट चिरेर, त्यसलाई काटेर फाल्नुको विकल्प केही वर्षअघिसम्म थिएन । यसक्रममा कतिपयको पेट १० सेन्टिमिटर, कसैको १५ सेन्टिमिटर र ट्युमर धेरै छ भने २०–३० सेन्टिमिटरसम्म पनि चिर्ने गरिन्थ्यो । पेटसम्बन्धी अन्य विभिन्न समस्यामा पनि यसरी नै उपचार गरिन्थ्यो । यसरी पेट चिर्दा बिरामीलाई कति गाह्रो हुन्छ होला ? त्यो हामी सबैले कल्पना गर्न सक्छौँ । 

ल्याप्रोस्कोपीमार्फत शल्यक्रिया गर्दा दूरबिन प्रविधिबाट झन्डै एक सेन्टिमिटरको एउटा सानो प्वाल पेटमा बनाइन्छ । यसपछि हामी टेलिस्कोपलाई पेटभित्र छिराउँछौँ र सबै अंगको अनुगमन त्यसमार्फत गर्छौं । हामीले अन्य दुईवटा माइनर पोर्ट पनि खोल्छौँ, यी माइनर पोर्टहरू झन्डै ० दशमलव ५ सेन्टिमिटरका हुन्छन् । यसरी स–सना प्वाल बनाएर हामीले उपचार गर्छौं । पाठेघरमा मासु पलाएकोे, गर्भनलीभन्दा बाहिर बच्चा बसेकोलगायत विभिन्न रोगको उपचार यसमार्फत गर्न सकिन्छ । 

कत्तिको सुरक्षित छ ? 

यसमा पेट काट्नुपरेन । दुलो मात्रै बनाएर ल्याप्रोस्कोपीकै लागि डिजाइन गरिएका उपकरण (क्यामेरा)का माध्यमबाट मोनिटरमा हेरेर उपचार गर्न सकियो । प्रत्यक्ष रूपमा बिरामीलाई पनि नहेरी शल्यक्रिया गर्न सकिन्छ । 

- ओपन सर्जरीको दाँजोमा ल्याप्रोस्कोपी सर्जरीमा डाक्टरले अझै राम्रोसँग बिरामीको समस्यालाई डिटेलमा हेर्न सक्छन् । किनकि, ल्याप्रोस्कोपीका क्यामेराहरू एचडी हुन्छन्, अहिले त फोरके पनि आएको छ । इमेज म्याग्निफाइड र स्पष्ट देखिन्छ । सानो–सानो रक्तकोषिकाहरू पनि अझै डिटेलमा देखिन्छ । त्यस्तै, हामीले क्यामेरालाई रोटेट गरेर जुन एंगलमा हेर्नुपर्ने हो, त्यही एंगलबाट हेर्न सक्छौँ ।

फाइदा 

ओपन सर्जरी गर्दा चिकित्सकको टोलीमा ठूलो जनशक्ति संलग्न हुन्छ । बिरामीको छाला तान्नुपर्ने हुन्छ, धेरै अंग चलाउनुपर्ने हुन्छ जसकारण टिस्युहरूमा चोट धेरै लागेर बिरामीलाई अपरेसनपछि पीडा हुन सक्छ । बिरामीको घाउमा संक्रमण फैलने सम्भावना पनि रहन्छ । दुखाइ कम गर्न र संक्रमण निको पार्न अन्य औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । तर, ल्याप्रोस्कोपी सर्जरीमा यस्तो हुँदैन । 

- यसमा हामीले अत्याधुनिक इनर्जी डिभाइसहरू प्रयोग गर्छाैं, ती प्रविधिले चाहिएको ठाउँमा मात्रै कट गर्छन्, जसकारण टिस्यु र ट्रमा कम हुन्छ । मेनुपुलेसन कम भएपछि बिरामीलाई अपरेसनपछि हुने पीडा र इन्फेक्सन हुने सम्भावना पनि कम रहन्छ । 

- बिरामीको अप्रेसन निकै कम समयमा हुन्छ । बिरामी चाँडै निको हुन्छ र चाँडै हिँडडुल गर्न सक्छ । अर्थात्, अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । 

- ल्याप्रोस्कोपी विधिबाट उपचार गर्दा रगत धेरै बग्दैन । जसकारण, शरीरमा रगतको कमी हुँदैन ।