मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ असोज ११ मंगलबार ०६:२९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पितृ खुसी पार्न भन्दै घरमै गएर कुटीकुटी छोरीको हत्या, आमा मरणासन्न

Read Time : > 4 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ असोज ११ मंगलबार ०६:२९:००

हत्या आरोपमा सात महिलासहित २३ पक्राउ
दोषीमाथि कारबाही गर्न मानव अधिकारवादीको माग

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घटना आइतबारको हो । सोह्र श्राद्धको अन्तिम दिन माझी समुदायमा पितृ तार्ने पर्व नै मनाउने प्रचलन छ । जसअन्तर्गत दुई दिनअघि पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने गर्छन् । यसरी बोलाउँदा परिवारको कुनै एक सदस्यको शरीरमा पितृ पस्ने (काम छुट्ने) विश्वास उनीहरूमा छ । शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्छ, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमै घाट (नदी)मा लगेर विधिपूर्वक पितृ विसर्जन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाडे पितृ खुसी भएको विश्वास गरिन्छ । यससँगै उनीहरूको सोह्र श्राद्ध सकिन्छ । 

तर, यसपटक भने विगत वर्षजस्तो भएन । बगाउँदासमेत काम्ने व्यक्तिलाई ‘पितृले छाडेन’ । यसरी काम्न नछोड्नुुमा दोष बिबी माझीको भएको निष्कर्ष समुदायका केही व्यक्तिले निकाले । सबैजना काम्दै बिबी र उनकी आमा सुनमाया माझी बसेको घरमा पुुगे । चामलको अक्षताले आँखामा हान्दै बिबीलाई अनुहार तथा टाउकोमा मुड्कीले कुटपिट गर्न थाले । उनी मरणासन्न भइन । त्यही समयमा एउटा बिरालो बिबीको घरमा आइपुुग्यो । माझी युवायुवतीले बिरालो समाते र त्यहीँ काटेर आगोमा पोलिदिए । निर्घात कुटपिट गरिएकी बिबीको त्यतिवेलासम्म मृत्यु भइसकेको थियो । उल्टै उनीहरूले बिबीलाई कथित ‘बोक्सी’ करार गरे । र, बिबीको शरीरबाट बिरालो उत्रिएकाले त्यसलाई काटेपछि उनी पनि मरेको निष्कर्ष निकाले । 

छोरीको हत्यापछि त्यही समूहले आमा सुनमायालाई पनि घरबाट निकालेर कुटपिट गर्न थाले । अचेत अवस्थामा पुगेकी उनको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए । उपचारमा संलग्न चिकित्सक डा. केशव धामीले वृद्धाको अवस्थामा केही सुधार आएको बताए । ‘आज (सोमबार) बिहानसम्म उहाँ (वृद्धा)को अवस्था चिन्ताजनक थियो । अहिले (साँझ) स्वास्थ्य खतरामुक्त देखिएको छ,’ उनले भने, ‘उहाँ डिप्रेसनमा देखिएकाले हामीले त्यहीअनुसार उपचार गरेका छौँ । केही दिन चिकित्सककै निगरानीमा राख्नुपर्छ ।’

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात महिलासहित २३ जनालाई पक्राउ गरेको छ । स्थानीयले खबर गरेपछि घटनाबारे जानकारी पाएको प्रहरीले १८ जनालाई आइतबार घटनास्थलबाटै र थप पाँचजनालाई सोमबार पक्राउ गरेको हो । सबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

बिबीको हत्या भएको घटनास्थल नियन्त्रणमा लिएर सोधपुछ गर्दै प्रहरी

पक्राउ परेकाहरूले कुटपिटबाट बिबीको ज्यान गएको स्वीकार गरेका छन् । तर, आफूहरूले नभई पितृ खुसी नभएकाले पितृले नै आएर कुुटपिट गरेको मारेको उनीहरूको प्रारम्भिक बयान छ । ‘२३ जना हाम्रो हिरासतमा छन् । उनीहरूले कुटपिटबाट बिबीको ज्यान गएको स्विकारेका छन्, तर आफूहरूले नभई पितृ खुसी नभएकाले पितृ नै आएर कुटेर मारेको प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी थिङले भने, ‘हामीले यो घटनालाई गम्भीर तरिकाले हेरेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले नै भन्न सकिन्न ।’ 

बिबी वृद्धा आमा पालेर बसेकी थिइन् । परिवारमा अन्य कुनै सदस्य छैनन् । धार्मिक प्रचलनका नाममा व्यक्तिको ज्यान लिनु जघन्य अपराध भएकाले प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको माग छ । ‘सामाजिक र सांस्कृतिक नाममा कुनै व्यक्तिको हत्या गर्नु निन्दनीय छ । सोह्र श्राद्धको नाममा व्यक्तिलाई कुटीकुटी ज्यान लिएको देखिएको छ । यसबाट सिंगो गाउँपालिका नै स्तब्ध भएको छ । माझी समुदायका युवायुवतीले कुनै प्रलोभनमा परेर जानीजानी पितृको नाममा महिलाको ज्यान लिएको हुन सक्ने देखिन्छ,’ उनले भने, ‘शरीरमा पितृ चढ्यो भन्दै युवायुवती महिला बसेको ठाउँमा पुुगेर हातखुट्टा समाई मुड्कीले मुखमा हिर्काउने र चामलले आँखामा हान्ने गरेर क्रूर तरिकाले हत्या गरेको देखिन्छ । हत्या भएकी महिलाको घरमा कोही–कसैलाई पनि जान नदिएर युवाहरूले जुन हर्कत देखाए, यस विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान अघि बढाउनुपर्छ ।’ 

मानव अधिकारकर्मीले पनि घटनाप्रति गम्भीर चासो दिएका छन् । पितृ विसर्जनको नाममा महिलालाई कुटीकुटी हत्या गर्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको अधिकारकर्मी हिमाल ढुंगेलले बताए । ‘अहिलेको समयमा अन्धविश्वासमा लागेर व्यक्तिको हत्या गर्नु पीडादायी घटना हो,’ उनले भने । मानव अधिकार प्रतिष्ठान रामेछापका अध्यक्ष रामचन्द्र शर्माले पनि यो घटना अत्यन्त गम्भीर प्रकृतिको भएकाले प्रहरीले सत्यतथ्य बुुझी यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने र घटनामा संलग्न व्यक्तिलाई कानुनअनुसार हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् । 

७० वर्षीया सुनमाया अस्पतालमा अर्धचेत एक मात्र सहारा छोरीको हत्या भयो, अस्पतालमा कुरुवा पनि कोही भएन
हत्या गरिएकी बिबीले वृद्धा आमालाई पनि आफूसँगै राखेर पालनपोषण गरिरहेकी थिइन् ।  खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार उनको विवाह भए पनि श्रीमान् पहिले नै बितिसकेका थिए, सन्तान थिएनन् । माइतीमा बुबा बितिसकेका र दाजुभाइ नभएकाले उनले आमा सुनमायालाई आफ्नै घरमा ल्याएर पालनपोषण गर्दै आएकी थिइन् । ‘घरमा आमाछोरी मात्रै बस्नुहुन्थ्यो ।

छोरी बिबीको तर्फबाट जायजन्म नभएको र श्रीमान्को पनि मृत्यु भइसकेपछि माइतीमा एक्लै रहेकी आमालाई उनले आफ्नै घरमा ल्याएर पाल्दै आएकी रहिछिन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘छोरीको हत्यापछि वृद्धा सुनमायाको एक मात्र सहारा पनि खोसिएको छ । यो उमेरमा अब उनको लालनपालन कसले गर्छ भन्ने विषय जटिल भएको छ । अहिले अस्पतालमा पनि उनको रेखदेख गर्ने कोही आफन्त छैन । अस्पतालका स्टाफको निगरानीमा छिन् ।’ उपचारमा संलग्न चिकित्सक डा. केशव धामीले सुनमायाको अवस्थामा केही सुधार आएको बताए । ‘आज (सोमबार) बिहानसम्म उहाँको अवस्था चिन्ताजनक थियो । रातिदेखि खतरामुक्त हुनुभएको छ,’ उनले भने, ‘उहाँ डिप्रेसनमा देखिएकाले हामीले त्यहीअनुसार उपचार गरेका छौँ । केही दिन चिकित्सककै निगरानीमा राख्नुपर्छ ।’

पक्राउ परेकाहरूले कुटपिटबाट बिबी मारिएको स्विकारेका छन्
डिएसपी राजकुमार थिङ प्रमुख, जिल्ला प्रहरी कार्यालय रामेछाप

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका २३ जना हाम्रो हिरासतमा छन् । उनीहरूले कुटपिटबाट बिबीको ज्यान गएको स्विकारेका छन्, तर आफूहरूले नभई पितृ खुसी नभएकाले पितृ नै आएर कुटेर मारेको प्रारम्भिक बयान दिएका छन् । हामीले यो घटनालाई गम्भीर तरिकाले हेरेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले नै भन्न सकिन्न । 

यो जघन्य अपराधको प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्छ
ज्ञानकुमार श्रेष्ठ
अध्यक्ष, खाँडादेवी गाउँपालिका 

सामाजिक र सांस्कृतिक नाममा कुनै व्यक्तिको हत्या गर्नु निन्दनीय छ । सोह्र श्राद्धको नाममा व्यक्तिलाई कुटीकुटी ज्यान लिएको देखिएको छ । यसबाट सिंगो गाउँपालिका नै स्तब्ध भएको छ । माझी समुदायका युवायुवतीले कुनै प्रलोभनमा परेर जानीजानी पितृको नाममा महिलाको ज्यान लिएको हुन सक्ने देखिन्छ । शरीरमा पितृ चढ्यो भन्दै युवायुवती महिला बसेको ठाउँमा पुुगेर हातखुट्टा समाई मुड्कीले मुखमा हिर्काउने र चामलले आँखामा हान्ने गरेर क्रूर तरिकाले हत्या गरेको देखिन्छ । हत्या भएको महिलाको घरमा कोही–कसैलाई पनि जान नदिएर युवाहरूले जुन हर्कत देखाए, यस विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान अघि बढाउनुपर्छ ।

घटनाप्रति मानव अधिकारकर्मीको ध्यानाकर्षण
पितृ विसर्जनको नाममा महिलालाई अमानवीय तरिकाले कुटीकुटी हत्या गरिएको विषयमा मानव अधिकार उल्लंघन भएको भन्दै घटनाप्रति मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मी हिमाल ढुंगेलले यो दर्दनाक घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । 
त्यस्तै, मानव अधिकार प्रतिष्ठान रामेछापका अध्यक्ष रामचन्द्र शर्माले घटना गम्भीर प्रकृतिको भएकाले सत्यतथ्य बुझेर विवरण सार्वजनिक गर्न प्रहरीसँग माग गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानुनअनुसार हदैसम्मको सजाय हुनुपर्ने उनको भनाइ छ । 

आमा पालेर बसेकी थिइन् बिबी
घरमा अरू सन्तान नभएपछि बिबी माझी वृद्धा आमा पालेर बसेकी थिइन् । बिबीको हत्यापछि सुनमाया माझीको रेखदेख गर्ने व्यक्ति कोही नभएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । ‘स्थानीय युवाले छोरी बिबी माझीको कर्तव्य गरी हत्या गरेपछि वृद्धा सुनमायाले लालनपालन कसले गर्छ भन्ने विषय जटिल भएको छ,’ उनले भने ।

घाइते सुनमायाको उपचारमा संलग्न चिकित्सक डा. केशव धामीले वृद्धाको अवस्थामा केही सुधार आएको बताए । ‘आज (सोमबार) बिहानसम्म उहाँ (वृद्धा)को अवस्था चिन्ताजनक थियो । अहिले (साँझ) स्वास्थ्य खतरामुक्त देखिएको छ,’ उनले भने, ‘उहाँ डिप्रेसनमा देखिएकाले हामीले त्यहीअनुसार उपचार गरेका छौँ । केही दिन चिकित्सककै निगरानीमा राख्नुपर्छ ।’

जो बिबीको हत्या आरोपमा हिरासतमा छन्
बिबी माझीको हत्या आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूको नाम पनि सार्वजनिक गरिरहेको छ । सबै खाँडादेवी गाउँपालिका– ३ का छन् । २३ मध्ये नौजना १६ देखि २० वर्ष उमेरका छन् ।
सविना माझी (१६)
शिरीष भन्ने राजकुमार माझी (१६)
सपना माझी (१७)
मनीषा माझी (१७)
राजेश माझी (१९)
भरत माझी (१९)
रामहरि माझी (१९)
सुरज माझी (२०)
संगीता माझी (२०)
सिर्जना माझी (२२)
बिन्दा माझी (२३)
कुमार माझी (२४)
उदयबहादुर माझी (२४)
पुसमान माझी (२४)
भरत माझी (२४)
धनबहादुर माझी (२६)
शुक्रे माझी (२६)
राजु माझी (२९)
विज्ञान माझी (३०)
शुक्रबहादुर माझी (३२)
शिवबहादुर माझी (३७)
राधिका माझी (४०)
धर्मबहादुर माझी (५४)