मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मीनराज बसन्त काठमाडाैं
२०७९ असोज २ आइतबार ०७:०९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

रुसी कोइला कम्पनीको आँखा भारततिर

Read Time : > 3 मिनेट
मीनराज बसन्त, काठमाडाैं
२०७९ असोज २ आइतबार ०७:०९:००

पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि लजिस्टिक खर्च कम गरी भारतलाई कोइला बेच्ने कोसिसमा रुस लागिपरेको छ

रुसको कोइला कम्पनी ‘साइबेरियन कोल इनर्जी’ले भारतमा आफ्नो कार्यालय खोल्ने इच्छा देखाएको छ । रुस–युक्रेन जारी युद्धका कारण केही महिनायता युरोपियन देशहरूले रुससँगको कारोबारमा प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धको नमीठो पीडा खेपिरहेको साइबेरियन कोल इनर्जीले निर्यातका लागि भारतलाई उचित बजारका रूपमा हेरिरहेको छ । 

साइबेरियन कोल इनर्जी कम्पनीका सिइओ म्याक्सिम बसोभले भारतमा छिटै आफ्नो कार्यालय खोल्ने योजना रहेको बताएका छन् । उनका अनुसार साइबेरियन कोल इनर्जीले अहिलेसम्म भारतमा कमै मात्र रुसी कोइला निर्यात गर्दै आइरहेको छ । 

सन् २०२२ को पहिलो ६ महिनामा मात्रै भारतले रुससँग १० लाख २५ हजार टन इन्धन आयात गरिसकेको छ, जुन सन् २०२१ को तुलनामा करिब दुई गुणा बढी हो । साइबेरियन कोल इनर्जी विश्वको चौथो ठूलो कोइला कम्पनी हो । लजिस्टिकसम्बन्धी समस्या समाधान भएको खण्डमा कम्पनीले भारतमा वार्षिक एक करोड टन कोइला निर्यात गर्न सक्छ । यसैलाई थप मूर्त रूप दिन हालसालै मात्र बसोभले भारतको यात्रा गरेका छन् । 

खासमा, साइबेरियन कोल कम्पनी भारतसँगको आफ्नो कारोबारलाई बढाउन चाहन्छ । यसका लागि आवश्यक लजिस्टिक सुविधा, मागको मोटामोटी अनुमान, पार्टनरको संख्या बढाउने र आपूर्तिमा कम खर्च गर्नेजस्ता विषयमा काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसो त अहिलेसम्म रुसी कोइलाको ठूलो खरिदकर्ता भने भारत होइन । यसको मुख्य कारण हो, कोइला आयातसँग जोडिएको खर्च । तर, पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि लजिस्टिक खर्च कम गरी भारतलाई कोइला बेच्ने कोसिसमा रुस लागिपरेको छ । 

सिइओ बसोभले केही महिनामै भारतमा कोइला निर्यातमा ५० प्रतिशतको वृद्धि हासिल गरेको बताएका छन् । रुसले प्रतिवर्ष ५० देखि ७० लाख मेट्रिक टन कोइला आपूर्ति गर्छ । तर, अबको उसको उद्देश्यचाहिँ प्रतिमहिना २० लाख टन आपूर्ति गर्ने रहेको छ । 

रुसलाई मोदीको ग्रिनलाइन 
गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको पूर्वी भ्लादिभोस्तोकमा आयोजित सातौँ पूर्वीय अर्थतन्त्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गरे । सम्बोधनका क्रममा उनले भारतले रुससँग ऊर्जा सम्बन्ध गाँस्न खोजेको बताए । यस्तो वेला जारी रुस–युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूले रुसबाट आयात नगर्न दबाब दिएको उनको भनाइ थियो । ‘भारतले रुससँग उत्तर–ध्रुवीय विषयमा बलियो पार्टनरसिप गर्न खोजिरहेको छ । त्यहाँ (रुसमा) ऊर्जा क्षेत्रमा पनि प्रचुर सम्भावना छ,’ मोदीको भनाइ थियो ।

‘रुस–युक्रेन युद्ध सुरु भएलगत्तै कूटनीतिक सम्बन्ध र संवादको आवश्यकताबारे भारतले लिने अडान दबाबपूर्ण थियो । यद्यपि, भारत जारी युद्धको शान्तिपूर्ण ढंगले अन्त्य होस् भन्नेमै छ,’ प्रधानमन्त्री मोदीले भने, ‘यति मात्रै होइन, हालसालै भएको अन्न र रासायनिक मलको सुुरक्षित निर्यातसम्बन्धी सम्झौताको पनि भारत स्वागत गर्दछ ।’

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मोदीले भारतीय स्टिल उद्योगलाई कोइला आपूर्ति गरी रुस महŒवपूर्ण सहयोगी बन्न सक्ने बताए । आर्थिक वर्ष २०२१/०२२ मा रुसले केवल २.४ प्रतिशत कोइला आपूर्ति गरेको थियो । 

तुलनात्मक रूपमा अस्ट्रियाले भारतीय आयातको ६९.९ प्रतिशत सप्लाई गर्‍यो, जसको भ्यालु ९ अर्ब ६ करोड डलर थियो । तर, आपूर्तिकर्ता रुस विश्वको छैटौँ इन्धन उत्पादक र पाँचौँ ठूलो उपभोक्ता हो । अगस्टमा आइपुग्दा रुस भारतको तेस्रो ठूलो तेल आपूर्तिकर्तासमेत बन्यो । उसले भारतको कुल तेल आवश्यकतामध्ये १८.२ प्रतिशत सम्बोधन गर्न सक्यो । 

त्यसो त भारत तेल क्षेत्र साइबेरियामा आफ्नो उपस्थिति विस्तार गर्न चाहिरहेको छ । तर, यसबारे भारतीय अधिकारीहरूले रुसी अधिकारीहरूसँग यसको सम्भावना र संयुक्त तेल उत्खननबारे छलफल गर्नेछन् । तेल र ग्यासको क्षेत्रमा रुस–भारत सहकार्य गर्ने खबरले पश्चिमा देशहरू निस्कने तयारी गरिरहेका छन् ।

भारतमा कोइलाको बजार 
भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार भारतले आर्थिक वर्ष सन् २०२०/०२१ मा कुल २१ करोड ५२ लाख ५१ हजार टन कोइला (कोकिङ कोइला र नन–कोकिङ) आयात गर्‍यो । जसको समग्र भ्यालु ११ खर्ब ६० अर्ब २४ करोड भारु थियो । जबकि, सन् २०१९/०२० मा उसले २४ करोड ८५ लाख ३७ हजार टन आयात गरेको थियो । सन् २०१९/०२० को तुलनामा २०२०/०२१ मा १३ प्रतिशतले गिरावट हो ।

कहाँबाट कति आयात ? 
भारतले विभिन्न देशबाट कोइला आयात गर्छ । ती देशमा इन्डोनेसियादेखि रुससम्म पर्छन् । आर्थिक वर्ष सन् २०२०/०२१ मा भारतले कुल १६ करोड ४० लाख ५३ हजार टन नन–कोकिङ कोइला आयात गरेको छ । जसमा, इन्डोनेसियाबाट ९ करोड ११ लाख ३१ हजार टन, दक्षिण अफ्रिकाबाट ३ करोड १० लाख ९३ हजार टन, अस्ट्रेलिया १ करोड ८० लाख ८ हजार र अमेरिकाबाट ८३ लाख ९ हजार टन आयात गर्‍यो । यसबाहेक भारतले रुसबाट ५४ लाख २१ हजार टन, कोलम्बियाबाट २३ लाख ५० हजार, मोजाम्बिक १९ लाख र अन्य देशबाट ५८ लाख ३५ हजार टन कोइला आयात गर्‍यो । भारतले गत आर्थिक वर्षमा रुसबाट मात्रै कुल ३.१४ प्रतिशत कोइला आयात गरेको छ । सबैभन्दा बढी इन्डोनेसियाबाट ४२.९९ प्रतिशत र सबैभन्दा कम युनाइटेड अरब इमिरेट्सबाट ०.३८ प्रतिशत आयात गरेको छ । 

माग कति ? 
भारत आफैँ पनि कोइला उत्पादक देश हो । यद्यपि, बढ्दो माग पूर्तिका लागि उसले बाहिरबाट पनि कोइला आपूर्ति गर्छ । आव २०२०/०२१ मा भारतमा कोइलाको माग १ अर्ब ५ करोड २० लाख टन थियो । जबकि, उसले ७१ करोड ६० लाख टन उत्पादन गर्‍यो भने २१ करोड ५२ लाख ५१ हजार टन बाहिरबाट आयात गर्‍यो । 

भारतमा प्रत्येक वर्ष कोइलाको माग बढिरहेको कोइला मन्त्रालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष सन् २०१६/०१७ मा कुल कोइलाको माग ८८ करोड ४८ लाख ७० हजार टन रहेकामा आव २०१७/०१८ मा ९० करोड ८४ लाख टन, आव २०१८/०१९ मा ९९ करोड १३ लाख ५० हजार टन, आव २०१९/०२० मा १ अर्ब टन र आव २०२०/०२१ मा बढेर १ अर्ब ५ करोड २० लाख टन रहेको छ । यही अनुपातमा आयात पनि बढेको तथ्यांकमा उल्लेख छ । 

नेपालमा कोइला निर्यात 
भारत आफूले उत्पादन र आयातका साथै कोइला निर्यात पनि गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा उसले कुल २९ लाख ४५ हजार टन कोइला निर्यात गर्‍यो । जसमा सबैभन्दा बढी नेपालमा गरेको छ । भारतले गत आवमा नेपालमा जम्माजम्मी २२ लाख १ हजार टन कोइला निर्यात गरिरहँदा बंगलादेशमा ६ लाख ६५ हजार, भुटानमा ४८ हजार टन र अन्य देशमा ३१ हजार टन कोइला निर्यात गरेको छ । 

–एजेन्सीहरूको सहयोगमा