मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २८ मंगलबार o८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रसचिव दिल्ली जाँदै, आजै औपचारिक वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o८:३o:oo

परराष्ट्रसचिव भरतराज पौड्याल मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपालबाट करिब एक दशकपछि भारतमा परराष्ट्रसचिवस्तरीय औपचारिक भ्रमण हुन लागेको हो । सचिव पौड्याल र  भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुई देशबीच सम्बन्धका सबै विषयमा आज रात्रिभोजसहित औपचारिक वार्ता हुने तय भएको छ । 

‘परराष्ट्रसचिवको कुनै एउटा मात्रै विशेष एजेन्डा छैन । दुई देशबीच सम्बन्धका सबै आयाममा छलफल हुन्छ । विशेष गरी प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएका सहमति र समझदारीको कार्यान्वयन प्रगति पुनरावलोकन हुन्छ । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पछिल्लो बैठकमा भएका निर्णय कार्यान्वयनका विषयमा पनि पुनरावलोकन हुन्छ,’ परराष्ट्र स्राेतले भन्यो ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सांस्कृतिक, कनेक्टिभिटी, सुरक्षा, व्यापारका विषयमा विस्तृतमा छलफल हुनेछ । दुई देशबीच सीमा विवादका विषयमा ठोस छलफल नहुने, तर यसबारे दुई देशबीच औपचारिक संयन्त्रमा छलफल सुरु गर्नुपर्छ भन्ने नेपालको चाहना परराष्ट्रसचिव पौड्यालले राख्ने तयारी छ । आसन्न निर्वाचनमा भारतबाट गाडीलगायतका सहयोगका विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्रसचिव  नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारत महाशाखा हेर्ने सहसचिव सुधीर भट्टराईलगायत हुनेछन् । भारतीय प्रतिनिधिमण्डलमा विदेशसचिव क्वात्रा, नेपालका लागि राजदूत नवीन श्रीवास्तव, विदेश मन्त्रालयको उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवलगायत हुनेछन् । बैठककै तयारीका क्रममा भारतीय राजदूत श्रीवास्तव आइतबार दिल्ली गएका छन् ।   

परराष्ट्रसचिव पौड्यालले बुधबार भारतीय विदेशमन्त्री डा‍‍. एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले नेपाली राजदूतावासको भ्रमण गर्ने र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिने कार्यक्रम छ । बुधबार नेपाली राजदूत डा. शंकर शर्माले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।