मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ११:२१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ११:२१:००

अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ ।  नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरूबीच छलफल भएको हो ।  

अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने, ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’  

नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उनले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गरे । 

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गरे । कोभिड– १९ महामारीको वेला एसियाली विकास बैंकले गरेको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगका लागि उनले  धन्यवाद दिए । 

सो अवसरमा उपाध्यक्ष लाभाषाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए । अर्थमन्त्री शर्माले दिएको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।