पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र सुरक्षा गार्डबीचको विवादलाई कसरी हेर्नुभएको छ ?
यो खासै टिप्पणी गर्नलायक विषय त होइन, तर सोधिहाल्नुभयो, यसमा मचाहिँ दुवैको गल्ती देख्छु । मन्त्रीलाई त्यसरी लाइनमा नबस्ने सुविधा चाहिने भए त्यहाँ पहिल्यै जानकारी गराएर गएको भए राम्रो हुन्थ्यो । फेरि मन्त्री हुँ भनिसकेपछि सुरक्षा गार्डले पनि सामान्य मर्यादा राखिदिएको भए केही बिग्रिन्नथ्यो ।
भुइँतहबाटै उठेका नेताहरू पनि सत्तामा पुग्नासाथ किन ‘भिआइपी’ बन्न हतारिन्छन् होला ?
यस्तो रोग हामीकहाँका लोकतन्त्रवादी होऊन् या साम्यवादी, सबैमा देखिन्छ । म दिल्लीमा राजदूत भएर बस्दा कैयौँ मन्त्री कहिले अनौपचारिक भ्रमणमा त कहिले ट्रान्जिटका कारण पनि पुगिरहन्थे । सबैलाई स्वागत गर्न आफैँ जान सम्भव हुन्नथ्यो । यस्तोमा दूतावासको कर्मचारीलाई पठाउँदा राजदूत ठूलो भयो, हामीलाई टेरेनजस्ता आरोप लाग्थे । हाम्रा नेतामा भिआइपी बन्ने मोह अचम्मको देखिन्छ ।
नेपाली राजनीतिमा यस्ता घटना किन दोहोरिइरहन्छन् ?
यसमा हाम्रो संस्कार जिम्मेवार छ । पहिले राजाले सबैलाई ‘तिमी’ भनेको देखेको, सुनेको या भोगेको नेताले सत्तामा पुगेपछि आफैँलाई राजा ठान्ने संस्कार मौलाएकाले यस्ता घटना दोहोरिइरहेका हुन् ।