१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:५५:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१८ वर्षीया किशोरीले  बलात्कृत भएको भन्दै डेढ महिनाअघि  दिएको जाहेरीमा प्रहरीको बेवास्ता

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५५:oo

किशोरीको बिलौना : प्रहरीले चासो नदिँदा बलात्कारी खुलेआम हिँडिरहेको छ 

१८ वर्षीया किशोरीले बलात्कृत भएको भन्दै डेढ महिनाअघि दिएको जाहेरीमा प्रहरीले बेवास्ता गरेको छ । ठमेलस्थित ‘होलिडे इन’मा बलात्कृत भएको भनेर उनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी बुझाए पनि आरोपीलाई पक्राउसम्म गरिएको छैन । 

आरोपी हुन्– सिन्धुपाल्चोकका २५ वर्षीय ईश्वर श्रेष्ठ । उनी भक्तपुरमा बस्छन् । तर, प्रहरीको नजरमा श्रेष्ठ बेपत्ता छन् । दरबारमार्ग वृत्तकी प्रमुख डिएसपी कोपिला चुडाल अभियुक्तले फोन नै प्रयोग नगरेका कारण पक्राउ गर्न समस्या परेको दाबी गर्छिन् । 

दरबारमार्ग वृत्तकी प्रमुख डिएसपी कोपिला चुडाल भन्छिन्– 

अभियुक्तको दाइ दूरसञ्चारमा कार्यरत रहेछ, फोन ट्रयाकिङ नहोस् भनेर भाइलाई फोन बोक्न नदिँदोरहेछ, अनि हामीले कसरी पक्राउ गर्ने ? 

‘म पनि महिला हुँ । महिलाको केस भएको हुँदा म संवेदनशील छु,’ उनले भनिन्, ‘तर, अभियुक्तको दाइ दूरसञ्चारमा कार्यरत रहेछ । फोन ‘ट्रयाकिङ’बाट पक्राउ पर्ने भयले उसले भाइलाई फोन नै प्रयोग गर्न नदिँदोरहेछ । अनि कसरी पक्राउ गर्न सकिन्छ ? तपाईं आफैँ भन्नुहोस् त ।’

९ साउनमा जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई थापाथलीस्थित प्रसूतिगृह लगेर स्वास्थ्य परीक्षण गरायो । परीक्षणमा किशोरीको यौनांगमा ‘पेनिट्रयाट’ भएको रिपोर्ट आयो । त्यसलगत्तै प्रहरीले किशोरीलाई ईश्वरसँग भेट गराइदिने २९ वर्षीया सरस्वती श्रेष्ठलाई पक्राउ गर्‍यो, तर उनलाई हिरासतमा लिएन । साधारण सोधपुछसमेत नगरी छाडिदियो । 

‘सरस्वती श्रेष्ठविरुद्ध जाहेरी परेको थिएन । प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने जाहेरीमा नाम उल्लेख भएको व्यक्तिलाई हो । त्यसैले हामीले उनलाई छाडिदियौँ । यसमा प्रहरीको दोष छैन,’ चुडाल भन्छिन् । 

सरस्वती उनै हुन् जसले ६ साउनमा किशोरीलाई हात्तीवनबाट बौद्धस्थित आफ्नो डेरामा बोलाएकी थिइन् । पीडितका अनुसार सरस्वतीले आफूलाई एक रात उनकै कोठामा राखेर भोलिपल्ट दरबारमार्गस्थित प्लाटिनम डिस्को लगेकी थिइन् । डिस्कोमा मदिरा सेवन गर्न लगाएकी थिइन् । त्यही समयमा आफ्नो भाइ भन्दै ईश्वरसँग चिनजान गराएकी थिइन् । ईश्वरकै आग्रहमा सरस्वतीसमेत मिलेर किशोरीलाई ठमेलस्थित एलओडी क्लब लगेका थिए । त्यहाँ पनि मदिरा सेवन गराए । त्यहाँबाट अर्धचेत अवस्थामा किशोरीलाई ठमेलस्थित ‘होलिडे इन’ होटेलमा पुर्‍याए । ईश्वर र किशोरीलाई होटेलको एउटै कोठामा छाडेर सरस्वती अर्का केटा साथीसँग वसन्तपुरतिर लागिन् । सोही रात ईश्वरले पटक–पटक बलात्कार गरेको पीडित किशोरी बताउँछिन् । 

नयाँ पत्रिकाको सम्पर्कमा आएकी उनले भनिन्, ‘मलाई प्लाटिनमबाट एलओडी लगे । त्यहाँ जबर्जस्ती रक्सी खुवाए । मेरो होस हराउँदै गयो । मलाई घर लैजान भन्दै ट्याक्सीमा राखे । तर, उनीहरूले त ठमेलस्थित होटेलमा पो लगे । म अर्धचेत थिएँ । बिहानपख होस खुल्दासम्म पनि ईश्वर ममाथि थियो । आफूलाई नांगो अवस्थामा देखेपछि म चिच्याएँ, त्यसपछि ऊ भाग्यो । मेरो गुप्तांग सुन्निएको र दुखेको थियो ।’ 

जाहेरी दिँदा पनि प्रहरीले आरोपी पक्रिने सुरसार देखाएन । त्यसपछि पटक–पटक टोलिफोन र सम्पर्क गर्दा पनि प्रहरीले न्यायिक प्रक्रियामा चासो नदिएपछि हात्तीवनस्थित डेरामा आत्महत्याको कोसिससमेत गरेको उनले बताइन् । ‘सुन्निएको गुप्तांगमा पीडा कम भएन । बरु दुखाइ तल्लो पेटतिर पनि सर्‍यो । मिर्गौला रहेकोतिर पनि दुख्न थाल्यो । पिसाब फेर्न अत्यन्तै गाह्रो हुन थाल्यो । एक दिन म ढलेपछि शुभचिन्तकहरूले ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगे,’ उनले भनिन्, ‘यौनांगमा गम्भीर चोट लागेको परीक्षणमा देखियो । त्यहाँ इन्फेक्सन भएर मूत्रथैली हुँदै मिर्गौलासम्म पुगेको रहेछ ।’ 

६ दिनको सघन उपचारपछि घर फर्केकी उनले अहिले दैनिक २० वटासम्म ट्याबलेट औषधि सेवन गरिरहेको बताइन् । ‘मैले न्याय पाइनँ । प्रहरीलाई कतिपटक भन्नु ? अभियुक्त खुलेआम हिँडिरहेको छ, तर प्रहरीले वास्तै गर्दैन,’ उनको गुनासो छ । 

कक्षा १२ को परीक्षा दिएपछि तीन महिनाअघि उनी झापाबाट काठमाडौं आएकी थिइन् । उनी हात्तीवनस्थित अपार्टमेन्टमा गाउँकै चिनेकी दिदीसँग बस्दै आएकी थिइन् । दिदीमार्फत नै उनले बौद्ध बस्ने सरस्वतीलाई चिनेकी थिइन् । किनकि सरस्वती अपार्टमेन्ट आउने–जाने गरिरहन्थिन् । दुई महिनाअघि सरस्वतीले किशोरीलाई बौद्ध बोलाइन् । चिनेकी दिदीले बोलाएपछि उनी सरस्वतीको डेरामा पुगेकी थिइन् । एक रात त्यहीँ बस्दा सरस्वतीले डिस्को जाने प्रसंग निकालेकी थिइन् । सुरुमा किशोरीले अस्वीकार गरे पनि पछि तयार भइन् । रातको १० बजे अनलाइनबाट ट्याक्सी बुक गरेर दुवै दरबारमार्ग पुगेका थिए । जब किशोरी सरस्वतीसँगै बसेर बियर खान लागेकी थिइन्, त्यसैवेला ईश्वर त्यहाँ आइपुगेका थिए । 

किशोरीले त्यस दिनको घटना सुनाइन्, ‘प्लाटिनममा हामी बियर खाँदै थियौँ । अचानक हाम्रो टेबुलमा ईश्वर देखापर्‍यो । मलाई त उसको नाम पनि थाहा थिएन । सरस्वतीले मेरो भाइ भनेपछि थाहा पाएँ । अन्ततः उनैबाट म बलात्कृत भएँ,’ उनले भनिन्, ‘मलाई लाग्छ, योजनाअनुसार नै सरस्वतीले ईश्वरलाई त्यहाँ बोलाएकी थिइन्, मसँग जबर्जस्ती यौनसम्पर्क गराउने उनको पहिलेदेखिकै योजना थियो ।’

किशोरीका बुबा विदेशमा छन् । आमा र बुबाको डिभोर्स भए पनि उनलाई पढाउन बुबाले नै खर्च पठाउँदै आएका थिए । उच्च शिक्षा पढ्ने उद्देश्य लिएर उनी १२ को परीक्षा दिनासाथ काठमाडौं आएकी थिइन् । अहिले रिजल्ट पनि आइसकेको छ । राम्रो अंकसाथ १२ कक्षा उत्तीर्ण गरे पनि बलात्कारको पीडाका कारण कलेज भर्ना हुन नसकेको उनले बताइन् । ‘ममी र ड्याडीको पहिले नै डिभोर्स भएको हो । तर, मलाई पढाउने खर्च भने बुबाले पठाइरहनुहुन्थ्यो । १२ को परीक्षा दिएर उच्च शिक्षाको खोजीमा म काठमाडौं आएँ । यही क्रममा बलात्कृत भएँ,’ उनले पीडा सुनाइन्, ‘अहिले रिजल्ट आएको छ, राम्रो जिपिएमा म पास भएकी छु । तर, मैले भर्ना हुन कलेज खोज्न सकेकी छैन । यत्रो पीडामा कसरी पढौँ ?’ 

बलात्कृत भएको महिना दिनसम्म उनले आफ्नो पीडा आमालाई पनि भन्न सकिनन् । आरोपी पक्राउ पर्ला, यौनांगको चोट पनि ठीक भएपछि पीडा कम होला भन्ने उनको आशा थियो । तर, पीडा कम भएन । न आरोपी श्रेष्ठ नै पक्राउ परे । उनी जब अस्पताल भर्ना भइन् त्यसपछि भने आमालाई घटना सुनाउनैपर्ने भयो । वैदेशिक रोजगारीमा रहेका बुबालाई त यसबारे अझै पनि थाहा छैन ।

‘मैले ड्याडीसँग अझै घटना सेयर गर्न सकेकी छैन । ममीलाई पनि अति गाह्रो भएपछि मात्रै भनेँ । उहाँ अहिले झापा फर्कनुभएको छ । बलात्कारी पक्राउ पर्छ कि भनेर मचाहिँ अझै काठमाडौंमै छु । तर, प्रहरीले कुनै वास्ता नगर्दा न्याय पाउने आस मर्दैै गएको छ ।’ 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने यो घटनाबारे आफूलाई जानकारी नै नभएको बताए । ‘घटना के भएको हो, मेरो जानकारीमा आएन । म बुझेर लिनुपर्ने एक्सन तुरुन्तै लिन्छु,’ उनले भने । 
 

ad
ad