मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०९:०६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिँदैनौँ : प्रमुख साह

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०९:०६:००

प्रमुख साहबाट सयदिने कार्यकालको सम्झना 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सयदिने कार्यकालको सम्झना गरेका छन् । सय दिन कस्तो रह्यो भन्नेबारेमा हामी आफैँले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुने प्रमुख साहको भनाइ छ । 

प्रमुख साहले भनाइको पूर्ण पाठ 
हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ । त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यत्तिका कामहरू गर्‍यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ । यसैले सय दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भ सम्झिन जायज हुनेछ भन्ने लाग्छ । 

१. फुटपाथबाट मकैको ठेला हटाएको 
यो सन्दर्भले अझै पनि सही, वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर, अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मकता मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीहरूका लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुला गर्ने कोसिस गरेको थियो । जुन पूर्ण रूपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरू आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदै छ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नुपर्थ्यो, त्यही गर्‍यौँ । जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरूमा सकारात्मक रूपमा देखिन थालेको छ । 

२. ई–स्पोर्टसका लागि लागि एक करोड 
गीत गाउने, नाच्नेजस्ता कलाकारहरूप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारका लागि त सम्मानभन्दा पनि अप्ठ्यारा बढी थिए । तर, अहिले अवस्था फेरिएको छ । यतिसम्म कि, यस्ता विषयसँग सम्बन्धित रियालिटी सोहरूमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । ई–स्पोर्टस् पनि खेलका रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दै छ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसात् गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउनेबित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरू फरक पर्न थाले । ई–स्पोर्टसमा हामीले चाहेजस्तै कार्यक्रम भएपछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक 
एउटा कलात्मक पार्कभित्रको सानो अंगका रूपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा ई–स्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो । यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधानजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनुपर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर, बजेटमा धेरैभन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्‍यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ । 

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन 
मान्छे एउटै जीवनभित्र फरक–फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिका रूपमा प्रेमिल र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक ठाउँमा एकसँग अर्को भूमिका विपरीत हुनुपर्ने पनि हुन सक्छ । माहाेलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहाेललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोही रूपमा बुझिदिनुहुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावबारे भने सजग रहेको जानकारी गराउँछु । 

५. फोहोर व्यवस्थापनमा ढिलाइ 
यसमा के स्वीकार गर्नुपर्दछ भने सय दिनभित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर, झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौँ । 

६. नर्भिकलगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा 
जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रूपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्नेछैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोख्यौँ । आममानिसको आवाज सम्बन्धित ठाउँसम्म पुर्‍याउने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो । 

अन्त्यमा, हामी एक सय दिनको दौडमा छैनौँ । हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ, तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउनेछैनौँ ।