Skip This
भारतीय नेता र चिन्तकले दिल्लीमा सम्झिए प्रदीप गिरि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १७ शुक्रबार १७:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय नेता र चिन्तकले दिल्लीमा सम्झिए प्रदीप गिरि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १७:२९:oo

भारतीय समाजवादी, प्रजातन्त्रवादी एवं कम्युनिस्ट पार्टीका नेताले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई महान् समाजवादी एवं भारतीय लोकतन्त्रवादीका सच्चा मित्र भन्दै सम्झेका छन्।

गिरिको सम्झनामा प्रदीप गिरि मित्र समाजद्वारा आयोजित कार्यक्रममा उनीहरूले गिरिबाट नेपाली र भारतीय दुवैले प्रेरणा लिएको बताए। भारतीय कंग्रेसका नेता जनार्दन द्विवेदीले प्रदीप गिरिमा जस्तो समाजवादी गुण धेरै मानिसमा नभएको भन्दै प्रशंसा गरे। गिरिसँग लामो मित्रताको चर्चा गर्दै उनले नेपालमा कम्युनिस्ट र समाजवादीहरू मिल्नुपर्ने बताए।

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता सीताराम येंचुरीले भारतका समाजवादी र साम्यवादीबीच गहिरो मित्रता रहेका गिरिको निधन दुवै देशका जनताका लागि अपूरणीय क्षति भएको बताए। उनले नेपालको लोकतान्त्रिक समाजवादी आन्दोलनमा गिरिले पुर्‍याएको योगदान सबैले सम्झिनुपर्ने उल्लेख गरे।

भारतीय कंग्रेसकै नेता मोहन प्रकाशले गिरिले भारतमा निर्वासित जीवन कष्टकर ढंगले व्यतीत गरेको सम्झिए। साँझ–बिहान के खाने भन्ने चिन्तामाझ गिरिले नेपालमा समाजवादी आन्दोलन सफल बनाउने सपना देखेर समर्पित भएको र यसबाट आफू प्रभावित भएको बताए।

जनता दल युनाइटेडका नेता केसी त्यागीले भारतीय राजनीति र अन्तर्विरोधबारे गिरि धेरै नै जानकार भएको बताए। उनले गिरिसँग लोकतान्त्रिक आन्दोलनका क्रममा र प्रचण्डसँग भूमिगतकालमा संवाद गर्ने क्रममा सहकार्य भएको स्मरण गरे। समाजवादी नेता विजय प्रतापले गिरि आफ्ना दाजुसरह भएको उल्लेख गरे। गिरि महान् समाजवादी रहेको र उनले नेपथ्यमा रहेर समाजवादी आन्दोलनलाई योगदान दिएको विजयप्रतापको भनाइ थियो।

समाजवादी चिन्तक एवं प्रोफेसर आनन्द कुमारले समाजवादीहरूले सपना देखेजस्तो असली समाजवादी जीवन गिरिले व्यतीत गरेको भन्दै सम्झना गरे। गिरिलाई यथार्थवादी लोकतन्त्रवादी र समाजवादी भन्दै उनले प्रशंसा गरे। समाजवादी नेता प्रोफेसर राजकुमार जैनले बनारसको समाजवादी स्कुलमा दीक्षित रहेर गिरिले नेपाल र भारतको समाजवादी आन्दोलनमा ठूलो योगदान दिएको बताए।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले मुलुकको आर्थिक विकास र समुन्नतिका लागि वैकल्पिक विचार र चिन्तन बोकेर गिरिले सम्मानित जीवन व्यतीत गरेको बताए।
 
पूर्वमन्त्री मातृका यादवले कांग्रेस नेतृत्वको सरकारले माओवादी नेताहरूको टाउकोको मूल्य तोकेका वेला गिरिले माओवादीलाई सेल्टर दिएको स्मरण गरे। नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले गिरि जनताका सच्चा मित्र भएको स्मरण गरे। पूर्वराजदूत राकेश सुदले राजनीतिमा लामो समय व्यतीत गरे पनि गिरि सामाजिक अभियन्ता, समाजसेवी र बुद्धिजीवी रहेको बताए। उनी सत्ताको कुनै लोभमा नरहेको देखेर आफू प्रभावित भएको उनको भनाइ थियो।

पूर्वराजदूत रणजित रायले गिरिसँग विगतमा घन्टाैँ कुराकानी गरेको स्मरण गर्दै नेपालको विकासका लागि गिरिले समावेशी समाज र सुदृढ नेपाल–भारत सम्बन्धमा जोड दिने गरेको बताए । नेपाल विद्यार्थी संघका नेता अम्बिकाप्रसाद जोशीले समन्वय गरेको कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित हुन नसकेका भारतीय कंग्रेसका वरिष्ठ नेता डा. करण सिंहले गिरिको सम्झना सुनाउँदै समवेदनापत्र पठाएका थिए । उनले गिरिलाई पुराना मित्र भन्दै सम्झेका छन्।