१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाप्रमुख आइतबार काठमाडौं आउँदै, ‘अग्निपथ’ पनि छलफलको एजेन्डा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२२:oo

भारतीय सेनाप्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउने कार्यतालिका सार्वजनिक भएको छ । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा गोर्खा भर्ती रोकिएका वेला सेनाप्रमुख पाण्डे नियमित भ्रमणका क्रममा आउन लागेका हुन् । 

नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका उनले राष्ट्रपति, प्रधानमन्त्री एवं उच्च सैनिक अधिकारीसँग नेपाल–भारत सैन्य सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ । उनी प्रधानसेनाति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित आउन लागेका हुन् ।

‘भारतीय सेनाप्रमुखज्यूलाई सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ,’ सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले नयाँ पत्रिकासँग भने । 

सेनाप्रमुख पाण्डेले पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर र शिवपुरीस्थित नेपाली सैनिक कमान्ड एन्ड स्टाफ कलेजको भ्रमणमा जाने कार्यक्रम छ । स्टाफ कलेजमा उनले नेपाल–भारत सैन्य सम्बन्धबारे चर्चा गर्नेछन् । सेनाले उनको विस्तृत कार्यतालिका भने सार्वजनिक गरेको छैन । 

प्रधानसेनापति शर्मासँग उनले जंगी अड्डामा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । त्यसमा नेपाल–भारत सैन्य सहकार्य र नेपाली सेनालाई आवश्यक हतियार तथा सैन्य सामग्रीको शीघ्र आपूर्तिलगायतका विषयमा छलफल हुनेछ । 

भारतीय सेनाप्रमुख पाण्डेले भारतीय सेनाबाट नेपाली सेनालाई प्रदान गरिएको तथा भविष्यमा गरिने गाडीलगायतका सैनिक सामग्रीको सांकेतिक हस्तान्तरण कार्यक्रम पनि राखिएको प्रवक्ता सिलवालले जानकारी दिए । सेनाप्रमुख पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पउनको शिष्टाचार भेट हुनेछ । प्रधानसेनापति शर्मासँग उनले द्विपक्षीय सैन्य सम्बन्धबारे छलफल गर्नेछन् । 

यसअघि प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथीबाट सुशोभित भइसकेका छन् । दुई देशका सेनापतिहरू एक–अर्काको मानार्थ महारथी हुने चलन सात दशकभन्दा पुरानो रहेको सेनाका पूर्वउपरथी विनोज बस्न्यात बताउँछन् ।

अग्निपथबारे चर्चा हुने

भारत सरकारले ३१ जेठमा भारतीय सेनामा अग्निपथ नामक नयाँ भर्ती योजना लागू गर्ने निर्णय गरेको थियो । जसअनुसार अब सेनामा नयाँ भर्ती चार वर्षका लागि हुनेछ । त्यसबाट २५ प्रतिशत जनशक्तिलाई मात्रै सेनाले निरन्तरता दिनेछ भने बाँकी जनशक्तिलाई अर्धसैन्य बलमा प्रतिस्पर्धाका लागि अवसर दिनेछ। चार वर्षसम्म सैनिकलाई तलब, भत्ता उपलब्ध गराउनेछ भने अवकाशका वेला भारतीय रुपैयाँ करिब ११ लाख उपलब्ध गराउनेछ । यो योजना भारतीय गोर्खा सैनिकका लागि पनि लागू हुने भारत सरकारले जनाएको छ ।

नेपाल सरकारले भने अग्निपथ योजनालाई गोर्खा भर्ती निरन्तरतासम्बन्धी १९४७ को त्रिपक्षीय सम्झौताले नचिन्ने भन्दै यसअघिकै प्रावधानअनुसार भर्ती निरन्तरता दिन मौखिक आग्रह गरेको छ । कूटनीतिक स्राेतका अनुसार नेपालले भारत सरकारलाई जवाफ मागे पनि उसले जवाफ दिएको छैन । भारतले अग्निपथअन्तर्गत नेपालीहरूको भर्तीका लागि सहमति दिने वा नदिने भारत सरकारको निर्णय स्वीकार गर्ने मौखिक जवाफ दिएको कूटनीतिक स्राेतले जनाएको छ । 

भारतीय सेनाप्रमुखको भ्रमणमा प्रधानमन्त्री, राष्ट्रपति र प्रधानसेनापतिले यो विषयमा चासो व्यक्त गर्नेछन् । ‘यसवेला दुई देशको सैन्य सम्बन्धको प्रमुख विषय नै अग्निपथ भएकोले यसमा छलफल नहुने भन्ने प्रश्नै उठ्दैन,’ प्रधानमन्त्रीनिकट स्राेतले नयाँ पत्रिकासँग भन्यो । 

सेनाका पूर्वउपरथी विनोज बस्न्यातको विश्लेषणमा अग्निपथ योजनाका कारण दुई देशको सैन्य सम्बन्धमा देखिएको अन्याेलबाट निकास दिन भारतीय सेनाप्रमुखको भ्रमण महत्वपूर्ण हुनेछ । ‘दुई देशबीच राजनीतिक सम्बन्धमा उतारचढाव आए पनि सेनाको तहमा सधैँ एउटै हैसियतमा छ । यो भ्रमणमा पनि दुई देशबीच उत्पन्न अन्याेल हटाएर मुलुकको फाइदा पुग्ने गरी हामीले भूमिका निर्वाह गर्नु आवश्यक छ,’ बस्न्यातले टिप्पणी गरे, ‘यसस्तरको भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ हुने गरेको छ ।’
 

ad
ad