मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार ०८:५१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मतदाता नामावली अद्यावधिक गर्दै आयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार ०८:५१:००

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आइतबार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । 

मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउन १३ देखि १६ भदौसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो । आयोगले यसअघि नै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरिसकेको छ । आगामी ३ मंसिरभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । 

आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचन मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनभित्र १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो । 

गत २९ वैशाखसम्म ८७ लाख ४१ हजार पाँच सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो । सरकारले गत १९ साउनमा निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले २० साउनदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी ३१ भदौमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।