अस्पतालको शय्याबाट रुँदै भन्छिन् - म मेरो हजुरबाको लागि भए पनि बाँच्नुपर्छ, बचाइदिनुस्
काभ्रेको बेथानचोक गाउँपालिका– ५ कामीडाँडाकी २० वर्षीया सनिका तामाङ अस्पतालको शय्याबाट जीवनको भिख मागिरहेकी छिन् । २० वर्षको कलिलो उमेरमा दुवै मिर्गाैलाले काम नगर्ने भएपछि उनी महाराजगन्जस्थित शिक्षण अस्पतालको शय्याबाट जीवन बचाइदिन अनुनयविनय गरिरहेकी छिन् ।
स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल महारागन्ज आएकी सनिकालाई डाक्टरले दुवै मिर्गाैला फेल भएको सुनाएपछि उनी छाँगाबाट खसेजस्तो भइन् । उनलाई अस्पतालमा भेट्न आउने जोसुकैलाई पनि रुँदै भन्छिन्, ‘म मेरो सहाराविहीन हजुरबुबाका लागि भए पनि बाँच्नुपर्छ, बचाइदिनुस् ।’
जीवनमरणको दोसाँधमा रहेकी उनलाई आफ्नोभन्दा बढी डाँडामाथिको घामजस्तै वृद्व हजुरबुबाको चिन्ताले दिनरात सताउँछ । ‘मेरोभन्दा बढी चिन्ता मेरो हजुरबुबाको लाग्छ,’ उनले भनिन्, ‘जीवन एक दिन मर्नकै लागि हो, तर मेरो हजुरबुबाको विजोग हुन्छ, हजुरबाकै लागि भए पनि बाँच्नुपर्छ ।’
सनिकाले आफ्नो पिताको अनुहारसमेत चिनेकी थिइनन् । बाउको माया कस्तो हुन्छ भन्ने महसुस गर्नसमेत पाइनन् । उनी सानै हुँदा बुबाले संसार छाडेर गए । बुबा स्वर्गवास भएपछि आमाले दोस्रो बिहे गरेर गइन् । सनिकालाई बुबाआमाको माया दिदी र हजुरबुबाले दिए । हुर्कँदै गर्दा दिदीको पनि बिहे भयो। त्यसपछि हजुरबुबाको सहारा नातिनी र नातिनीको सहारा हजुरबुबाबाहेक कोही भएनन् । हजुरबुबाले हुर्काए, बढाए । हजुरबुबाको हेरचाह गर्ने वेलामा उनी आफैँ मृत्युसँग लडिरहेकी छिन् ।
भन्छिन्, ‘विष खाएर मरौँ भने हजुरबुबाको माया लाग्छ । उपचार गरौँ भने पैसा छैन ।’ चिकित्सकले मिर्गाैला प्रत्यारोपण गरेपछि ठीक हुने सल्लाह दिएपछि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेकी छिन् । भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनलाई थप पीडा दिएको छ । नयाँ जीवनको आशामा बाँचिरहेकी पीडित सनिकाले सहयोगका लागि सबैसामु अपिल गरेकी छिन्।