१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने पोखरा स्थित रंगशाला
रमेश सुवेदी काठमाडाैं
२०७९ भदौ १० शुक्रबार ०६:२९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ५० दिन बाँकी : सात हजारभन्दा बढी खेलाडी सहभागी हुने अनुमान

Read Time : > 1 मिनेट
रमेश सुवेदी काठमाडाैं
२०७९ भदौ १० शुक्रबार ०६:२९:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्ट डाउन’ सुरु भएको छ । ५० दिन बाँकी रहेको अवसरमा बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रचार–प्रचारलाई तीव्रता दिएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले अब प्रतियोगिता निश्चित भएको बताए । उनले भने, ‘मिति सर्ने, मौसमसहित दसैँतिहारमा के गर्ने ? मंसिरको चुनावले के गर्ला ? भन्ने प्रश्नहरू थिए । अब, ढुक्क भएका छौँ, प्रतियोगिता हुने निश्चित भएको छ ।’ 

२८ असोजबाट सुरु भई ३ कात्तिकमा प्रतियोगिता समापन हुनेछ । दोस्रोपटक गण्डकी प्रदेशमा हुन लागेको प्रतियोगितामा सहभागी हुने ११ टिमले छनोट प्रक्रिया पूरा गरिरहेका छन् । यसपटक राष्ट्रिय खेलकुदमा तीन विभागीय टिम (नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस) का साथै सात प्रदेश र एनआरएनले सहभागिता जनाउँदै छन् । राखेपले प्रत्येक टोलीलाई सहभागी खेल, खेलाडीको नाम यही २५ भदौभित्र पठाउन सूचना जारी गरेको छ भने १५ भदौसम्म खेलस्थलको टुंगो लाग्नेछ । 

 विजेता टिमलाई १० लाखबराबरको पुरस्कार
प्रतियोगिता आयोजनाका लागि राखेपले विभिन्न १४ उप–समिति गठन गरेको छ । विजेता टोलीले १० लाखबराबरको ट्रफी र पुरस्कार पाउनेछन् । प्रतियोगिताका सम्पूर्ण खेल गण्डकी प्रदेशमै आयोजना गर्ने तयारी गरिरहेको छ । यद्यपि, पुरुष क्रिकेट भने काठमाडौंमा हुने निश्चित छ । ‘अलि समस्या देखिएको स्विमिङ र सुटिङमा हो । स्विमिङ पोखरामै हुनेछ,’ घिसिङले भने । 

३६ खेलका सात हजार सात सय ९९ खेलाडी 
दोस्रोपटक गण्डकी प्रदेशमा हुने प्रतियोगितामा ३६ वटा खेल हुनेछन् । राखेपले एक खेल आयोजना हुन कम्तीमा चार टोली आवश्यक पर्ने नियमावली बनाएको छ । एक टिमले महिलातर्फ तीन सय ३५ तथा पुरुषतर्फ तीन सय ७४ सहित जम्मा सात सय ९ खेलाडी दर्ता गर्न पाउनेछन् । समग्रमा यसपटक प्रतियोगितामा सात हजार सात सय ९९ खेलाडीले सहभागिता जनाउने राखेपको अनुमान छ । जसमा महिला खेलाडी तीन हजार ६ सय ८५ र पुरुषतर्फ चार हजार एक सय १४ खेलाडी हुने अनुमान छ । 

३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा
०७५ मा बाँकेमा भएको प्रतियोगितामा भन्दा यसपटक खेलाडी बढ्ने अनुमान छ । कास्कीका ११ मध्ये आठ जिल्लामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा समान तीन सय ९३ स्वर्ण तथा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै, ६ सय कांस्य पदकका लागि भिडन्त हुनेछ । खेल तालिका भने राखेपले केही सातामा सार्वजनिक गर्ने जनाएको छ । यसका लागि टेक्निकल टिमले अध्ययन गरिरहेको छ । 

 सरकारसँग ६० करोड माग
राखेपले खेलकुद मन्त्रालयमार्फत सरकारलाई प्रतियोगिता आयोजना गर्न ६० करोड माग गरेको थियो । राखेपको प्रस्तावअनुसार नै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको छ । जसअनुसार पहिलो किस्तामा १० करोड प्राप्त गरिसकेको छ । यो बजेट राखेपले प्रतियोगिता बसोवास, यातायात, प्रचारप्रसार, खेल सामग्री तथा पोसाक, प्रतियोगिता उद्घाटन तथा समापन  समारोहमा प्रयोग गर्नेछ । 

 खेलाडी दर्ता अनलाइनबाट
राखेप सदस्यसचिव घिसिङले यसपटकको खेलाडी दर्ता अनलाइन माध्यमबाट हुने जनाएका छन् । उनका अनुसार प्रत्येक टिमको एक आइटी अफिसरलाई प्रतियोगिताको साइटको एड्मिन बनाउनेछ र जसले खेलाडी दर्ता अनलाइनबाटै गर्नेछ । घिसिङले प्रतियोगिताको सम्पूर्ण जानकारी सोही वेबसाइटबाट हुने र वेबसाइट निर्माण अन्तिम अवस्थामा पुगेको बताए । 

 क्रिकेट खेल प्रतियोगिताअघि नै हुने
नेपाल क्रिकेट संघ (क्यान)को प्रस्तावसँगै पुरुष टिमको प्रतियोगिता केही अघि नै गर्ने राखेपको तयारी छ । क्यानले पहिलोपटक आयोजना गर्न लागेको नेपाल टी–२० मा समय अपुग हुने बताएसँगै राखेपले क्रिकेट अघि नै गर्ने निर्णयमा पुगेको हो । मूलपानी र टियू मैदानमा हुने प्रतियोगिता २२ देखि २८ भदौसम्म हुनेछ । जसका लागि ९ टिम सहभागी हुनेछन् ।