
उपचारका लागि बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका कैदीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बिहीबार बिहान लुभुबाट उनलाई पक्राउ गरेको हो । ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएका कैदी भोला बुढाथोकी बुधबार अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका थिए।
बुढाथोकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि बुधबार गएका थिए । त्यसलगत्तै भागेपछि प्रहरीले खोजी कार्य जारी गरेको थियो । खोजीको क्रममा ललितपुरबाट पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।