मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ भदौ १ बुधबार ०७:५५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफाले गर्‍यो भारतलाई निलम्बन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ भदौ १ बुधबार ०७:५५:००

तेस्रो पक्षले फुटबल संघको विधानमा हस्तक्षेप गरेको जनाउँदै फिफाले भारतीय फुटबल संघलाई अनिश्चितकालीन प्रतिबन्ध लगायो

सन् २०१० देखि महिला साफ च्याम्पियनसिप हरेक दुई वर्षमा आयोजना भइरहेको छ । हालसम्म पाँचपटक भएको प्रतियोगिताका सबै उपाधि भातरकै कब्जामा छ । चारपटक नेपाललाई फाइनलमा पराजित गरेको भारतले दक्षिण एसियामा एकछत्र राज गरेको छ । साफ च्याम्पियनसिपको एक फाइनलमा भारतले बंगलादेशलाई हराएको थियो । 

२१ भदौदेखि छैटौँ संस्करणको महिला साफ नेपालमा आयोजना हुँदै छ । यसपटक पनि धेरैले उपधिको दाबेदार भारतलाई नै मानिरहेका थिए । उपाधि भित्र्याउने लक्ष्यसहित भारतीय टोलीले युरोपमा प्रशिक्षण लिनुका साथै केही मैत्रीपूर्ण खेल पनि खेल्यो । तर, मंगलबार बिहानको विश्वको सर्वोच्च निकाय फिफाले उनीहरूलाई स्तब्ध बनाउने निर्णय गरेको छ । यसपटकको महिला साफ च्याम्पियनसिपमा भारतले सहभागिता जनाउन नपाउने भएको छ । विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले भारतलाई निलम्बन गरेपछि छैटौँपटक उपाधि जित्ने भारतको सपना अधुरो बन्ने पक्का भएको छ । 

यसकारण भारत निलम्बित
तेस्रो पक्षले फुटबल संघको विधानमाथि हस्तक्षेप गरेको भन्दै फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धसँगै अब भारतले अन्तर्राष्ट्रिय फुटबलमा सबैखाले प्रतियोगिता गुमाउनेछ । घरेलु मैदानमै आयोजना हुने यू–१७ महिला विश्वकप, राष्ट्रिय पुरुष तथा महिला टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र प्रतियोगिता, यू–२० एएफसी एसिया कप छनोट, यू–१७ पुरुष साफ र एएफसी छनोट, यू–१५ महिला साफ र एएफसी छनोट भारतले गुमाउनेछ ।

भारतीय क्लबले समेत एएफसीका प्रतियोगिता गुमाउने भएका छन् । एएफसी क्लब च्याम्पियनसिप खेल्न उज्वेकिस्तान पुगेको आईलिग च्याम्पियन गोकुलम केरेला अब घर फर्कनेछ । यस टोलीमा रहेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारत निलम्बनमा परेसँगै कीर्तिमान रच्ने अवसर गुमाउने भएकी छन् । सावित्रा एएफसी क्लब च्याम्पियनसिप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै थिइन्, जुन लक्ष्य तत्काललाई पूर्ण हुनेछैन । यस्तै, एटिके मोहन बंगानले खेल्ने क्षेत्रीय प्रतियोगितासमेत अनिर्णीत बनेको छ । 

कहिले, कसले लग्यो उपाधि ?
सन् २०१०, २०१२, २०१४ र २०१९ मा भएको फाइनलमा भारतले नेपाललाई हराउँदै उपाधि जितेको थियो । सन् २०१६ मा भने नेपाल सेमिफाइनलबाट माथि बढ्न सकेन । बंगलादेशलाई पराजित गर्दै भारत नै च्याम्पियन बन्यो । नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भयो । समग्रको चार फाइनल भेटमा भारतसँग नेपालले ३ गोल गर्दा १३ गोल बेहोरेको छ ।

नेपाली टोलीलाई राहत
भारत निलम्बनमा परेपछि नेपाली महिला टोलीलाई राहत मिलेको छ । सदाबहार विजयी टोली निलम्बनमा परेपछि नेपाली महिला टोलीलाई राहत मिलेको हो । उपाधि जित्ने नेपाली टोलीको लक्ष्य झनै सहज भएको छ । नेपाली टोलीकी एक खेलाडीले भनिन्, ‘चाहना भारतलाई पराजित गर्दै उपाधि जित्ने थियो । तर, दुर्भाग्य ! भारत निलम्बनमा पर्‍यो । 

योसँगै घरमै उपाधि राख्ने योजना बलियो भएको छ ।’ महिला साफमा भारतपछि बलियो टोली नेपाल नै हो । अहिलेसम्म नेपाल भारतबाहेक अन्य टोलीसँग हारेको छैन । यद्यपि, पछिल्लो समय महिला फुटबलमा बंगलादेशले गरेको सुधारले भने नेपालले डर पक्कै मान्नुपर्छ ।