१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २३ सोमबार ०८:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिव्यक्ति विद्युत् खपत वृद्धिदर खुम्चियो

आव ०७७/७८ मा २५ प्रतिशतले बढेको प्रतिव्यक्ति विद्युत् खपत वृद्धिदर ०७८/७९ मा ८ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
२०७९ श्रावण २३ सोमबार ०८:००:००

सरकारले नीतिगत रूपमा विद्युत् खपत बढाउन विभिन्न कार्यक्रम ल्याए पनि प्रतिव्यक्ति विद्युत् खपतमा भने सुधार आउन सकेन । गत आर्थिक वर्ष ०७८/७९ मा प्रतिव्यक्ति विद्युत् खपत ८ प्रतिशतले मात्रै बढेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांक छ । यो अघिल्लो आर्थिक वर्षको वृद्धिदरभन्दा १७ प्रतिशत बिन्दुले कम हो । आव ०७७/७८ मा प्रतिव्यक्ति विद्युत् खपत अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको थियो । तर, गत आवमा प्रतिव्यक्ति विद्युत् खपतको वृद्धिदर भने खुम्चिएको छ ।

आव ०७७/७८ मा प्रतिव्यक्ति विद्युत् खपत तीन सय २५ किलोवाट घन्टा थियो । गत आवमा प्रतिव्यक्ति विद्युत् खपत तीन सय ५० किलोवाट घन्टा पुगेको छ । आव ०७७/७८ मा भने प्रतिव्यक्ति विद्युत् खपत ६५ किलोवाट घन्टाले बढेर तीन सय २५ पुगेको थियो । मन्त्रालयका अनुसार सो वर्ष प्रतिव्यक्ति विद्युत् खपत दुई सय ६० किलोवाट घन्टा थियो । सरकारले महसुल दर घटाउनेलगायतका काम गरेर विद्युत् खपत बढाउन प्रोत्साहन गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरण पनि विद्युत् खपत बढाउन दौडधुप गरिरहेको छ । तर, सरकारको लक्ष्यअनुसार विद्युत् खपत बढ्न नसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘विद्युत् खपत बढाउन विभिन्न प्रयासहरू त भएका छन् । तर, त्यसअनुसार खपतमा वृद्धि हुन सकेको छैन,’ स्रोतले भन्यो, ‘त्यसका पछाडि धेरै कारणहरू छन् । सुधार ल्याउन सकियो भने विद्युत् खपत राम्रोसँग बढ्छ ।’

नेपालमा विद्युत् प्रयोग गर्न सकिने ठाउँमा पेट्रोल, डिजेल, ग्यासलगायतका इन्धन प्रयोग भइरहेका छन् । उक्त इन्धन आयात गर्दा बर्सेनि खर्बाैँ रुपैयाँ पनि बाहिरिएको छ । तर, त्यसका लागि आवश्यक नीति तथा पूर्वाधारको विकास हुन सकेको छैन । ग्यास विस्थापित गरेर खाना पकाउन विद्युतीय चुलो प्रयोग गर्दा भार थेग्न सक्ने वितरण प्रणालीको विकास भएको छैन । त्यस्तै, विद्युतीय सवारीसाधनका लागि पनि पर्याप्त मात्रामा चार्जिङ स्टेसन बनेका छैनन् । 

  नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनअनुसार अझै पनि ६५.५ प्रतिशत उद्योगले डिजेलमार्फत ऊर्जा उत्पादन गरिरहेका छन् । तर, उद्योगले माग गरे पनि औद्योगिक क्षेत्रमा आवश्यक प्रसारण लाइन बनाएर सरकारले विद्युत् पुर्‍याउन सकेको छैन । यस्ता कारण विद्युत्को खपतमा सोचेअनुरूप वृद्धि हुन नसकेको मन्त्रालयका एक अधिकारीले बताए । 
विद्युत् उत्पादनको उच्च सम्भावना भएको नेपालमा प्रतिव्यक्ति विद्युत् खपत यसै पनि कम मानिन्छ ।

छिमेकी मुलुक भारतमा प्रतिव्यक्ति विद्युत् खपत १२ सय किलोवाट घन्टा र बंगलादेशमा २८ सय किलोवाट घन्टा पुगेको छ । तर, नेपालमा भने तीन सय ५० किलोवाट घन्टा मात्रै पुगेको छ । यसलाई सन्तोषजनक मान्न नसकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल स्वयं स्वीकार गर्छन् । ‘कुल प्रतिव्यक्ति विद्युत् खपत सन्तोषजनक होइन,’ उनले भने, ‘छिमेकी मुलुकहरूमा प्रतिव्यक्ति विद्युत् खपत २८ सयसम्म पुग्दा हामी तीन सय ५० मै हुनु सन्तोषजनक स्थिति होइन । यद्यपि, पछिल्लो समय खपत भने बढ्दै गएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

गत आव ०७८/७९ सम्म नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा दुई हजार दुई सय ६८ मेगावाट विद्युत् जोडिएको छ । साथै, चालू आवमा ६ सय २८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै छ । तर, विद्युत्को हालको पिक डिमान्ड भने १८ सय ८५ मेगावाट रहेको छ । त्यसअनुसार नेपालमा अझै पनि उत्पादन भएअनुसार  विद्युत् खपत भएको छैन । ‘यद्यपि, नेपालमा बढी भएको विद्युत् भारतमा निर्यात भइरहेको छ, त्यो एकदमै राम्रो पक्ष हो,’ भेटुवालले भने, ‘पछिल्लो समय नेपालका अन्य क्षेत्रको तुलनामा ऊर्जा क्षेत्रको विकास राम्रो छ । तर, विद्युत् खपत बढाउनमा भने काम गर्नुपर्नेछ । यो वर्ष प्रतिव्यक्ति विद्युत् खपत चार सय किलोवाट घन्टा पुर्‍याउने सरकारको लक्ष्य छ ।’ सोहीअनुसार नै मन्त्रालयले काम गरिरहेको उनको जिकिर छ ।