
सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए ।
सरकारी तथ्यांकअनुसार ६ हजारभन्दा बढी बिरामीको मिर्गौलाको डायलाइसिस गर्नुपर्छ । उपकरण कम भएकाले बिरामीले सेवा लिन महिनौँ पालो पर्खनुपर्छ । कतिपयको डायलाइसिसको पर्खाइमा बस्दाबस्दै मृत्यु हुने गरेको छ । सरकारी तथ्यांकअनुसार ६ हजार बिरामी रेकर्डमा रहे पनि केहीले आफैँ पैसा तिरेर निजी अस्पतालमा सेवा लिँदै आएका छन् । तर, निजीमा लिएको सेवा र बिरामीको विवरण सरकारसँग हुँदैन ।
महाशाखाका प्रमुख डा. मरासिनीले सेवालाई सहज बनाउन थप डायलाइसिस खरिद गरेर वितरण गरेको बताए । अस्पतालहरूको मागअनुसार हेमोडायलाइसिस मेसिन दिन नसके पनि बिस्तारै उपलब्ध गराउँदै जाने उनले बताए ।