मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १९ बिहीबार १४:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडा कार्यालयमा अध्यक्ष र सदस्यको छुट्टाछुट्टै ताला, दुई सातादेखि सेवा प्रभावित

Read Time : < 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार १४:३५:००

मुगुको छायाँनाथ रारा नगरपालिका– १२ को कार्यालय राजनीतिक खिचातानीले दुई हप्तादेखि बन्द छ। वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच स्वार्थ नमिल्दा वडा कार्यालयमा दुवै पक्षले ताला लगाएका छन्।

नगरपालिकाले केही दिनअघि एक सूचना जारी गर्दै करारका कर्मचारीलाई कार्यसम्पादनको आधारमा मात्रै हाजिर गराउने जनाएको थियो। उक्त निर्णयका आधारमा करारका कर्मचारीलाई हाजिर नगर्न भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष आइतुराम रोकायाले वडा कार्यालयमा ताला लगाए। करार कर्मचारीलाई हाजिर गर्न नदिन आफूले कार्यालयमा ताला लगाए पनि दोस्रो ताला किन लगाइएको भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

वडाध्यक्षले करार कर्मचारीलाई हाजिर गर्न नदिई आफूनिकटका कर्मचारी राख्न खोजेको भन्दै कार्यालयमा पुनः माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्यले ताला लगाए। अघिल्लो कार्यकालमा नियुक्त भए पनि नगरपालिकाको आदेशअनुसार करार कर्मचारीलाई हाजिर गराइनुपर्ने भन्दै माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य रुनउदीप ऐडीले कार्यालयमा अर्को ताला लगाए।

यसअघि करारका तीन कर्मचारीले सेवा प्रवाह गरिरहेकोमा अहिले वडाध्यक्षले आफ्ना नजिकका गोर्खबहादुर नेपालीलाई सहयोगी बनाई कार्यालयका काम गरिरहेका छन्। कार्यालयका काम कार्यालयबाट नभई वडाध्यक्षको घर र सदरमुकाम गमगढीस्थित सम्पर्क कार्यालयबाट आरोप छ।

राजनीतिक स्वार्थका कारण दुई हप्तादेखि नागरिकले सरकारी सेवाबाट वञ्चित भएका छन्। नागरिकताको सिफारिस, योजनालगायत सामान्य सिफारिससमेत नपाएको स्थानीय आइतुसिंह कामीले बताए।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले छड्के अनुगमनका क्रममा वडा नम्बर १२ को कार्यालयमा ताला लगाइएको बुधबार मात्र थाहा पाएको बताए। वडा कार्यालयमा ताला लगाइएको विषयमा दुवै पक्षलाई स्पष्टीकरणसहित नगरपालिकामा बोलाई छानबिन गर्ने र तत्काल ताला खुलाउन पहल गरिने उनले बताएका छन्।