मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ श्रावण १७ मंगलबार ०८:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पृथ्वीको मालिक गोसाइँकुण्ड

गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।

Read Time : > 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार ०८:५२:००

गोसाइँकुण्डको ‘गो’ र ‘साइँ’ शब्दले भिन्नाभिन्नै अर्थ बोक्छन् । ‘गो’ भन्नाले पृथ्वी र ‘साइँ’ भन्नाले मालिक हो । पृथ्वीको टोपीसमेत भनिने गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । पौराणिक कथनअनुसार यो कुण्ड भगवान् शिवले सिर्जना गरेका हुन् । यही विश्वासका साथ आन्तरिक पर्यटकहरू मनोकांक्षा पूरा हुने विश्वासले गोसाइँकुण्ड पुग्छन् भने विदेशी पर्यटक पदयात्राका लागि जान्छन् । 

धार्मिक मेलाका लागि प्रसिद्ध
गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दसहरा र साउन शुक्ल पूर्णिमा (ऋषितर्पणी अर्थात् जनैपूर्णिमा) गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । 

यस्तो छ किंवदन्ती
पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष भगवान् शिवले सेवन गरेका थिए । उक्त विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगे । गोसाइँबाबाका रूपमा त्यहाँ पुगेका भगवान् शिवले त्रिशूल भित्तामा हिर्काएर गंगाजल अर्थात् त्रिशूलधाराको उत्पति भयो । त्यही त्रिशूलधाराको पानीबाट गोसाइँकुण्ड बन्यो ।

कसरी पुग्ने ?
सामान्य अवस्थामा काठमाडौंबाट गोसाइँकुण्ड पुग्न तीन दिन लाग्छ । धुन्चेसम्म बसमा यात्रा र धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीविना र दोस्रो दिन गोसाइँकुण्डमै पुग्ने गर्छन् ।एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक साता छुट्याउनुपर्छ । गोसाइँकुण्ड जानलाई धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग छन् । चल्तीको पदमार्ग भने काठमाडौं–धुन्चे–गोसाइँकुण्ड नै हो । अर्को, काठमाडौं–सुन्दरीजल–हेलम्बु–ठाडेपाटी बाटो आउँछ । कमै यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्छन् । 

के–के लैजाने ?
समुद्री सतहदेखि गोसाइँकुण्ड चार हजार तीन सय ८० मिटरको उचाइमा छ । जहाँ लेक लाग्ने सम्भावना प्रबल हुन्छ । लेक लाग्ने तथा पैदलयात्रा धेरै गर्नुपर्ने भएकाले रेनकोट, स्लिपिङ ब्याग, न्यानो कपडा, टोपी, ज्याकेट, पन्जा, ड्राइफुड, चकलेट, लसुन, अदुवा, सातु, थर्मस आदि बोक्नुपर्ने हुन्छ । सिटामोल र अल्टिच्युड ‘सिकनेस’का औषधि बोक्न बिर्सिनुहुन्न । 
जनैपूर्णिमाको अवसरमा लाग्ने यो वर्षको गोसाइँकुण्ड मेला यही १७ साउन नागपञ्चमीदेखि २७ साउन जनैपूर्णिमाको दिनसम्म लाग्दै छ । 

पुग्नै पर्ने पार्वतीकुण्ड
रसुवा कुण्डैकुण्डले भरिएको जिल्ला हो । यस जिल्लामा एक सय आठवटा कुण्ड रहेको बताइएको छ । वर्षैभरि कुनै न कुनै अवसरमा ती कुण्डहरूमा तामाङ परम्पराअनुसार मेला लाग्ने गर्दछ । जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेलापछिको दोस्रो ठूलो मेला पार्वतीकुण्डमा लाग्ने गर्छ । गोसाइँकुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवै तीर्थ भर्न जान्छन् भने पार्वतीकुण्डमा प्रायः बौद्ध धर्मावलम्बीहरू जाने गर्छन् । यद्यपि, हिन्दूधर्मावलम्बीहरू पनि जाने गरेका छन् । गोसाइँकुण्ड पुगेपछि पार्वतीकुण्डमा पुग्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।