मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ श्रावण १६ सोमबार ०६:१५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरी र गाउँपालिका अध्यक्षको ‘आपराधिक योजना’ : दुई युवकलाई लागुऔषध कारोबारको ‘नक्कली मुद्दा’

प्रारम्भिक छानबिन प्रतिवेदन : एसपी र गाउँपालिका अध्यक्षको मिलेमतो

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ श्रावण १६ सोमबार ०६:१५:००

प्रहरीकै आन्तरिक छानबिनले खुलासा गरेको छ– व्यक्तिगत रिसइबीको प्रतिशोधमा प्रहरीले दुई भारतीय युवालाई लागुऔषध मुद्दामा ‘फसाएको’ छ । पश्चिम नवलपरासीमा प्रहरीले सुनियोजित रूपमा दुई युवकसँग लागुऔषध बरामद भएको भनेर नक्कली मुद्दा चलाएको छानबिनबाट खुलेको हो । छानबिनको क्रममा एसपी ऋषिराम कँडेल र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको भूमिका शंकास्पद देखिएको छ । छानबिनले एसपी र गाउँपालिका अध्यक्षको ‘आपराधिक सोच’ पनि उजागर गरेको छ । 

आफू पनि फस्ने भएपछि एसपी कँडेल घटनालाई सामसुम पार्न लागेका छन् । पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । निर्दाेषलाई फसाइएको भन्दै स्थानीय अगुवाले यसमा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको माग गरेका छन् । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो । तर, थप छानबिनले सुनियोजित रूपमा उनीहरूलाई लागुऔषध मुद्दामा फसाइएको देखाएको छ । 

तर, पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको हो । निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन गरेको छ । पक्राउ परेका भारतीय नागरिक गुप्ता कवाडीको व्यापारमा आबद्ध व्यक्ति हुन् । नेपाल बस्दै आएका उनी र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य थियो । पछिल्लो समय आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएका थिए । उनले त्यसरी योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएको छानबिनमा खुलेको हो । 

यसरी पक्राउ गरिएको थियो ? 
पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटक–पटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए, र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको थियो । 

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । पूर्वप्रहरी धोबी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका सहयोगी हुन् । गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोत बताउँछ । घटनाको विषयमा विस्तृत छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘मुद्दामा फसाइएको हो कि भन्ने कुरा आएपछि छानबिन भइरहेको छ,’ उनले भने,‘छानबिन नटुंगिएकाले ठ्याक्कै के भएको हो प्रस्ट भइसकेको छैन ।’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध देखिन्छ । ‘उहाँ इन्स्पेक्टर हुँदा नवलपरासी बस्नुभएको रहेछ, त्यतिवेलादेखि नै दुईजनाबीच निकटता देखियो,’ ती अधिकारी भन्छन्, ‘त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई युवकलाई लागुऔषध मुद्दामा फसाउने प्रयास भएको देखिन्छ ।’ 

सूचनाको दोहोरो जाँच नगरी व्यक्ति पक्राउ गर्ने र अनुसन्धानमा लापरबाही गर्दा प्रहरीबाट निर्दाेष व्यक्ति पक्राउ पर्ने घटना बढेका छन्, सुराकीले नै गलत सूचना दिएको भनेर प्रहरीले आफ्नो गल्ती लुकाउने प्रयास गर्दा संस्थामाथि नै जनविश्वास खस्कँदै गएको छ 

त्यस दिन एसपी, गाउँपालिका अध्यक्ष र पूर्वप्रहरी धोबीबीच पटक–पटक कुराकानीसमेत भएको देखिन्छ । साथै पक्राउ परेका व्यक्तिहरूको मोबाइल जाँचबाट समेत कवाडीका सामान लिन आउन आग्रह गर्दै धोबीले धेरैपटक फोन गरेकोसमेत पुष्टि भएको छ । गाउँपालिका अध्यक्षलाई जोगाउन हाल पूर्वप्रहरी धोबीलाई फरार बनाइएको स्रोत बताउँछ । तर, एसपी कँडेल भने यो विषय अझै छानबिनकै क्रममा रहेकाले विस्तृत बोल्न नमिल्ने बताउँछन् । ‘कसैले उनीहरूलाई फसाउन खोज्यो कि भन्नेतर्फ पनि छानबिन भइरहेको छ,’ उनी भन्छन्, ‘विस्तृत विवरण छिट्टै आउँछ ।’ 

घटनाको विषयमा प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले पनि छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ । प्रहरीको गल्ती प्रमाणित भएमा उनीहरूलाई पनि कारबाही हुने लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्याय बताउँछन् । 

बनावटी मुद्दामा एकपछि अर्का निर्दाेष फस्दै 
काठमाडौं उपत्यका प्रहरी कार्यालयले गत २३ असारमा चाबहिलबाट शिव लिम्बूलाई कस्तुरीको बिना कारोबार आरोपमा पक्राउ गरेको थियो । लिम्बूले आफू निर्दाेष रहेको बताउँदा प्रहरीले पत्याएन । पछि सञ्चारमाध्यममा समाचार आएपछि बल्ल प्रहरीले छानबिन अघि बढायो । जस क्रममा उनको मोटरसाइकलमा कस्तुरीको बिनाजस्तो वस्तु राखेर प्रहरीलाई खबर गरी पक्राउ गरेको खुलेको थियो । सो स्थानमा सिसिक्यामेरासमेत भएकाले उनी जोगिएका थिए । तर, विनाअपराध उनी दुई हप्तासम्म हिरासतमा बस्नुपरेको थियो । 

जग्गाको कारोबार विवादपछि उनलाई थुनाउन आदम भन्ने सुवास राईले फसाउने प्रयास गरेका थिए । राई अझैसम्म फरार छन् । प्रहरीले पनि प्राप्त सुराकीको राम्रोसँग जाँच नै नगरी पक्राउ गर्दा उनी थुनामा परेका थिए । यो घटनामा प्रहरीमाथि सामान्य कारबाहीसमेत भएको छैन । गत १३ असारमा ललितपुरमा यस्तै घटना भएको थियो । सहयोगी सहकारीका प्रबन्धक श्यामकृष्ण श्रेष्ठलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको थियो । उनको स्कुटरमा पेस्तोल भेटिएको भनी सुरुमा ललितपुर प्रहरीले सार्वजनिक गरेको थियो । 

पीडितले आफूलाई फसाइएको दाबी गरेपछि थप छानबिन हुँदा व्यक्तिगत रिसइबीमा लुभुका अनिल श्रेष्ठ र अख्खनदास श्रेष्ठले उनको स्कुटरमा पेस्तोल राखेर प्रहरीलाई खबर गरेको खुलेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गम्भीरता नदेखाउँदा श्यामकृष्ण झन्डै तीन साता थुनामा बस्नुपरेको थियो । सहकारीबाट लिएको कर्जा तिर्न दबाब दिएको तथा बहुविवाह मुद्दामा आफ्नो प्रतिकूल बकपत्र अदालतमा दिएको प्रतिशोधमा उनले प्रहरी प्रयोग गरी हातहतियार मुद्दामा थुनाउने प्रयास गरेका थिए । फसाउने व्यक्ति पक्राउ परे भने उनीहरूलाई अप्रत्यक्ष रूपमा सघाउने प्रहरीलाई जोगाइएको थियो । 

प्रहरीले कतिसम्म गर्छन् भन्ने कुरा गत वर्ष रौतहटमा पत्रकारलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको घटनाले पनि प्रस्ट पार्छ । गत वर्ष ३२ साउनमा स्थानीय पत्रकार मोहम्मद मोजिबुल्लालाई प्रहरीले पक्राउ गरी उनीसँग लागुऔषध बरामद भएको दाबी गरेको थियो । छानबिनको क्रममा अपराध अनुसन्धानमा खटिने सादा पोसाकका दुई प्रहरीले नै उनको मोटरसाइकलमा लागुऔषध राखिदिएको सिसिक्यामेराबाट पुष्टि भएपछि प्रहरीको बदमासी बाहिरिएको थियो । 

घटनामा रौतहटका तत्कालीन एसपी सिद्धिविक्रम शाह पनि मुछिएका थिए । पत्रकारसँग रिसइबी भएको पक्षले त्यसरी प्रहरी प्रयोग गरी सुनियोजित रूपमा पक्राउ गरेको पुष्टि भइसकेको छ । तत्कालीन एसपी शाहलाई त्यो विषय जानकारी सार्वजनिक भएको फोन संवादको अडियोबाट प्रस्ट भएको थियो । यो घटनामा तल्लो तहका प्रहरीलाई कारबाही भयो भने एसपी शाहलाई भने हालै आफ्नो ब्याचमा पहिलो नम्बरमा बढुवा गरेर पुरस्कृत गरिएको छ । 

सूचनाको दोहोरो जाँच नगरी व्यक्ति पक्राउ गर्ने र अनुसन्धानमा लापरबाही गर्दा प्रहरीबाट निर्दाेष व्यक्ति पक्राउ पर्ने घटना बढेका छन् । दोषी प्रहरीमाथि कारबाही नहुँदा नक्कली मुद्दामा फसाउने प्रवृत्ति बढ्दै गएको छ । सुराकीले नै गलत सूचना दिएको भनेर यसमा प्रहरीले आफ्नो गल्ती लुकाउने प्रयास गर्दा संस्थामाथि नै आमविश्वास खस्कँदै गएको छ । 
नक्कली अपराधमा एकपछि अर्काे व्यक्ति फस्नु गम्भीर विषय भएको र यसमा संलग्न प्रहरीमाथि समेत कारबाही हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल बताउँछन् । ‘यसरी निर्दाेष व्यक्तिलाई राज्यबाटै नक्कली अपराधमा फसाउनु मानव अधिकारको गम्भीर उल्लंघन हो, कुनै पनि सर्तमा यस्ता घटना स्वीकार गर्न सकिँदैन । यस्ता घटनामा संलग्न प्रहरीमाथि पनि कारबाही हुनुपर्छ,’ उनले भने । 

नक्कली मुद्दामा फसाउने प्रयासका सबैजसो घटनामा घुमुवा प्रहरी मुछिएका छन् । घुमुवा प्रहरीको संगत नै धेरैजसो गलत आचरणका व्यक्तिसँग हुने भएकाले पनि उनीहरूले गलत सूचना दिएर निर्दाेष व्यक्ति फसाउने गरेका छन् । हालै मात्र उपत्यकामा दुईवटा घटनामा प्रहरीको सहयोगमा नक्कली मुद्दामा फसाउने प्रयास गरेको पुष्टि भएको थियो । सिसिक्यामेराका कारण निर्दाेष व्यक्ति जोगिएका थिए । 

नेपाल प्रहरीका पूर्वडिआइजी पीताम्बर अधिकारी प्रहरीलाई विभिन्न किसिमका सूचना आउने र त्यसको विश्वसनीयता जाँच गरेर मात्र व्यक्ति पक्राउ गर्नुपर्ने बताउँछन् । ‘कुनै पनि व्यक्तिले प्रहरीलाई त्यत्तिकै सूचना दिँदैन,’ उनी भन्छन्, ‘त्यसकारण यस्तो अप्रेसनअघि प्रहरीले सूचनाको स्रोत कस्तो के भनेर विश्लेषण गर्नुपर्छ । अर्काे कुरा घटनास्थलको अवस्था कस्तो छ भन्ने पनि निकै महत्वपूर्ण हुन्छ ।’ 

कुनै व्यक्ति पक्राउ परेलगत्तै विस्तृत अनुसन्धान नगरी सार्वजनिक गर्दा पनि यस्ता समस्या आउने उनी बताउँछन् । ‘अहिले त सामाजिक सञ्जालका कारण कुनै पनि व्यक्ति पक्राउ परेलगत्तै अपराध करार हुने अवस्था छ,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले निर्दाेष व्यक्ति फस्ने सम्भावना धेरै हुन्छ । त्यसकारण प्रहरीले सूचना दिने व्यक्तिको विश्वसनीयता र घटनास्थलको राम्रोसँग अध्ययन, विश्लेषण गर्नुपर्छ ।’