१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा गएका २५ नेपाली कामदार कोमामा, पाँच सय ४५ जना जेलमा

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबईस्थित अस्पतालमा उपचार गरिरहेका सातजना कामदारको तत्काल उद्धार गर्ने

वैदेशिक रोजगारीका क्रममा बिरामी भई अस्पतालमा उपचाररत नेपाली कामदारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्धार गर्ने भएको छ । बिरामी र कोमामा रहेका कामदार परिवारको जिम्मेवारीमा उद्धार गरिनेछ । कामदारको उद्धारका लागि आवश्यक पर्ने खर्चको जिम्मेवारी रोजगारदातालाई नै बनाइने मन्त्रालयको योजना छ । रोजगारदाताले जिम्मेवारी नलिएमा कामदारको परिवार र सम्बन्धित नियोगलाई जिम्मेवार बनाइनेछ । तर, कुनै पनि निकायले जिम्मेवारी नलिएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकम प्रयोग गरिने मन्त्रालयले जनाएको छ । 

विदेशी जेलमा रहेका २५ जनालाई मृत्युदण्डको सजाय
वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले कोमामा पुगेका तीनजना महिलासहित २५ नेपाली विदेशी अस्पतालमा रहेको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । जसमध्ये १८ जना कोमामा, दुईजना अर्धचेतन र चारजनाको अवस्था भने सुधारउन्मुख रहेको छ । 

कुवेतमा चारजना नेपाली कामदार कोमामा छन् । युएई, ओमान, साउदी अरबको जेद्दा र जापानमा एक–एकजना छन् । कतारमा नौ, साउदी अरबको रियाद र बहराइनमा चार–चारजना रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये पाँच सय ४५ खाडी तथा मलेसियाका जेलमा छन् । जेलमा रहेकामध्ये १९ जना महिला कामदार छन् । 

जेलमा रहेकामध्ये २५ जनाले मृत्युदण्डको सजाय पाएका छन् । सातजनाले आजीवन कारावास, दुईजनाले २५ वर्ष सजाय, दुईजनाले १५ वर्ष सजाय, पाँचजनाले १५ वर्षभन्दा कम, १९ जनाले १० वर्षभन्दा कम, एकजनालाई पाँच वर्षभन्दा कम, ४४ जनाले एक वर्षसम्म, ७५ जनाले तीन महिनाभन्दा कम, दुई सय ९३ जनालाई सजाय तोकिन बाँकी रहेको छ भने १८ जनालाई जरिवाना तोकिएको छ । त्यस्तै, भारतका विभिन्न प्रदेशमा करिब १५ हजार नेपाली जेलमा रहेको सामाजिक संगठन नेपाली एकता मञ्चका सचिव आरबी खड्काको भनाइ छ । 

दुबईमा बिरामी भएका सात कामदारको तत्काल उद्धार गरिँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबईस्थित अस्पतालमा उपचार गरिरहेका सातजना कामदारको तत्काल उद्धार गर्ने भएको छ । दुबईबाट यस विषयमा जानकारी आएपछि मन्त्रालयले उद्धारको तयारी गरेको हो । 

तर, यस्ता कति नेपाली कामदार विदेशका अस्पतालमा छन् भन्ने सरकारसँग कुनै पनि यकिन तथ्यांक भने छैन । तसर्थ, मन्त्रालयले बोर्डलाई गन्तव्य मुलुकमा उपचार गराइरहेका नेपाली कामदारको तथ्यांक संकलनका लागि निर्देशन दिएको छ । बोर्डले पनि सम्बन्धित नियोगलाई तथ्यांक संकलन गरी पठाइदिन पत्राचार गरेको वैदेशिक रोजगार बोर्डका प्रमुख कार्यकारी राजन श्रेष्ठले बताए ।

हाल वैदेशिक रोजगार बोर्डले विभिन्न खालका कल्याणकारी काम गर्दै आएको छ । विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ । त्यस्तै, अंगभंग वा अशक्त भई विदेशमा काम गर्न नसकेका कारण नेपाल फर्की निवेदन गर्ने कामदारलाई आर्थिक सहयोग प्रदान गर्दै आएको बोर्डले जनाएको छ । करार अवधि कायम रहेको अवस्थामा परिवारका सदस्यलाई एकपटकलाई १५ हजारदेखि ५० हजारसम्म कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोग गर्दै आएको छ । वैदेशिक रोजगारमा गएको कुनै कामदारको मृत्यु भएमा शव भिकाउनमा सहयोग गर्दै आएको छ ।

गत आर्थिक वर्ष ०७७/७८ को तथ्यांकअनुसार वैदेशिक रोजगार बोर्डले मृतक कामदारका परिवारका लागि ७३ करोड ७७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । अंगभंग भई गम्भीर बिरामी कामदारका लागि सात करोड ३३ लाख खर्च भएको छ । कामदारका परिवारलाई औषधोपचार सहयोगमा दुई लाख, अलपत्र कामदारको उद्धारमा दुई करोड ६६ लाख, शव झिकाउन समन्वय र सहयोगका लागि ९० हजार ६७ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । 

त्यस्तै, मृतकको शव घर ठेगानासम्म पुर्‍याउन १७ लाख ९४ हजार, अभिमुखीकरण तालिमबापतको रकम शोधभर्नामा १४ हजार सात सय, वैदेशिक रोजगार छात्रवृत्ति दुई करोड आठ लाख र सान्त्वना राहतस्वरूप ४६ लाख रुपैयाँ खर्च भएको बोर्डको तथ्यांक छ । 

यसअघि बोर्डले विदेशी अस्पतालमा उपचार गराइरहेका सातजना बिरामीलाई उद्धार गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनका अनुसार उद्धार गरिएका बिरामी कामदारलाई नेपालका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । जसमध्ये चारजनाको मृत्यु भएको थियो भने तीनजना निको भएर घर फर्किएको उनले बताए । 

उपचाररत कामदारको उद्धार गर्न कार्यदल गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका क्रममा बिरामी भई अस्पतालमा उपचार गरिरहेका कामदारको अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन गर्न निर्देशन दिएका छन् । 

तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहनेछन् । समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरूको एकीकृत तथ्यांक तयार गर्ने, तिनीहरूलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरूको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात् सरल एवं प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक स्रोत–साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट व्यहोर्ने काम गर्नेछ । 

त्यस्तै, विदेशी अस्पतालहरूमा उपचाररत नेपाली नागरिकहरूको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिसाको समयावधिलगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्नेछ । कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा पुगी काम गर्ने क्रममा बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या धेरै ठूलो रहेकाले उनीहरूलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले बताएका छन् । 

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली बिरामी कामदारका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक–पटक लेखिपठाएको थियो । गत असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिहरूबीच छलफल भएको थियो । उक्त बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि निर्देशिका बनाई सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको हो । 

मेरो परिवारसँग भेट गराइदिनुस् : देवराज पौडेल, बिरामी, साउदी अरब
मेरो नाम देवराज पौडेले हो । मेरो घर लालबन्दी, सर्लाहीमा पर्छ । म अहिले २५ वर्षको भएँ । म २०२१ मा ड्राइभर भिसामा साउदी अरब आएको हो । म दमामस्थित तलाल हमाद अल बिनाली जनरल कन्ट्र्याक्टिङ कम्पनीमा ड्राइभरको काम गर्थें । तर, गत जनवरीमा मेरो गाडी अगाडिको हेभी गाडीसँग ठोक्कियो । दुर्घटनापछि मलाई ट्राफिक प्रहरीले अस्पताल लगी भर्ना गरे । दुर्घटनापछि मेरो आधा शरीर चलेन । म आफैँ केही गर्न सक्दिनँ । 

मेरो घाँटी र मेरुदण्डको हड्डी पनि भाँचिएको छ । मेरो बेड नम्बर ३२२ हो । मलाई नर्सले नै खुवाउने काम गर्छन् । दिसा–पिसाबका लागि पाइप राखिएको छ । अस्पतालले मलाई उपचार खर्च तिर् अनि घर जा भन्छ । तर, मसँग पैसा छैन । घरपरिवार यति धेरै पैसा तिरेर मलाई लैजान सक्दैनन् ।

मैले काम गर्ने कम्पनीले मेरो उपचार खर्च भुक्तानी गर्दिनँ भन्छ । नेपाली दूतावासले पनि केही गरेन । मैले धेरै ठाउँमा हारगुहार गरिसकेँ । मलाई मेरो परिवारसँग बस्न मन छ । म मरे पनि नेपालमा मर्न मन छ । मलाई कुनै पनि हालतमा नेपाल फर्काइदिनुस् । मेरो बिन्ती छ । 

ad
ad