मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ७ शनिबार १८:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पाइपलाइनको ‘रिभ्यु’ बैठक सम्पन्न, मटितेल र पेट्रोल ढुवानीका लागि सहयोग गर्ने भारतीय पक्षको प्रतिबद्धता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ७ शनिबार १८:४८:००

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको तीनवर्षे अवधिको कार्यप्रगति र आगामी सञ्चालन रणनीतिकेन्द्रित ‘रिभ्यु’ बैठक सम्पन्न भएको छ । आयल निगमको मधेस प्रदेशस्थित प्रादेशिक कार्यालयमा भएको बैठकमा पाइपलाइनको सरसफाइ, वीरगन्जदेखि पथलैयासम्मको घनाबस्तीमा गर्नुपर्ने सुरक्षा, दुई देशका प्राविधिकको समन्वयलगायतका विषयमा छलफल भएको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । 

सो बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी)का तर्फबाट पूर्वक्षेत्रीय पाइपलाइन परियोजनाको कार्यकारी निर्देशक एसके कनोजियाले नेतृत्व गरेका थिए भने निगमका तर्फबाट नायब प्रबन्ध निर्देशक सुशील भट्टराई नेतृत्वको टिम सहभागी थियो ।

०७६ भदौदेखि सञ्चालनमा आएको पाइपलाइनबाट हाल डिजेल मात्र आयात भइरहेको छ । यो पाइपलाइनबाट डिजेल, मटितेल र पेट्रोलसमेत आयात गर्न मिल्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न पहलकदमी लिने विषयमा बैठकमा छलफल भएको थियो । भारतमा सन् १९६६ देखि पाइपलाइनबाट इन्धन ढुवानी गरिरहेका कारण नेपालमा पनि सहज र सुरक्षित रूपमा पाइपलाइन सञ्चालनमा प्राविधिक सहयोग गर्न तयार रहेको आइओसी अधिकारीले बैठकमार्फत प्रतिबद्धता जनाएको प्रवक्ता उपाध्यायले बताए । ‘पाइपलाइन सञ्चालनमा हामी प्राविधिक रूपमा अझै पनि सिक्दै छौँ । त्यसैले दीर्घकालसम्म प्राविधिक सहयोग चाहिन्छ भनेर हामीले प्रस्ताव राख्यौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसमा आइओसी अधिकारीहरूले सकारात्मक जवाफ दिनुभएको छ।’ कुल ६९.२ किलोमिटर लामो पाइपलाइनको ३७ किलोमिटर भाग नेपालतर्फ पर्छ । वीरगन्ज–पथलैया–अमलेखगन्ज सडकखण्डको किनारमा डेढ मिटर जमिनमुनि पाइपलाइन बिछ्याइएको छ । 

आइओसी अधिकारीहरूले वीरगन्ज–पथलैयाको घनाबस्तीमा पाइपलाइन रहेकाले सुरक्षाका लागि विशेष सतर्कता अपनाउन ध्यानाकर्षण गराएका थिए । त्यसपछि सो रुटमा पाइपलाइन सुरक्षाका लागि अलग्गै कर्मचारी २४सै घन्टा खटाइएको निगम अधिकारीले जानकारी दिएका थिए । पाइपलाइन बिछ्याइएको पथलैया–अमलेखगन्ज आठ किलोमिटर दूरीमा भने दायाँ–बायाँ जंगल रहेकाले सुरक्षाका लागि खासै चिन्ता लिनुपर्ने अवस्था नरहेको निगम अधिकारीहरूले जनाएका छन् ।