व्यवस्था परिवर्तनको मागले मात्रै हामीलाई ग्रहीय विनाशतर्फ डोर्याउने शक्तिसँग सीधा सामना गर्न, समस्या मापन गर्न र प्रभावकारी कदम चाल्न लाखौँ मानिसलाई प्रेरित एवं परिचालन गर्ने सामर्थ्य राख्छ
हामी अहिले छलफल गर्न सक्छौँ ? यहाँ म बहुसंख्यक मिडिया र राजनीतिक वर्गले लामो समयदेखि बेवास्ता गरेको विषयलाई उठान गर्दै छु । पृथ्वीमा जीवनको अस्तित्व एक मात्र मुद्दा हो, जुन निकै महत्वपूर्ण छ भनेर यहाँहरूलाई थाहा छ । तर, यो विषयलाई चतुरतापूर्वक लुकाइन्छ । त्यसबाहेक यस विषयलाई पत्रपत्रिकाका पहिलो पृष्ठका समाचार र विद्वान् भनिएकाहरूको विचारमा बेवास्ता गरेको देखिन्छ । जलवायु विज्ञानलाई अस्वीकार गर्ने लेख प्रकाशित गर्ने टाइम्सका सम्पादक पनि यसबारे जानकार छन् । मुद्दालाई बेवास्ता वा अस्वीकार गर्ने बेलायती कन्जर्भेटिभ नेतृत्वका दाबेदार पनि यसबारे जानकार छन् । मौनता यतिविधि चर्को गरी प्रतिध्वनित भएको थिएन ।
यो निष्क्रिय मौनता होइन । अस्तित्व संकटको सामना गरिरहँदा यो एक सक्रिय मौनता, विचलन र अप्रासंगिकताका लागि दृढ प्रतिबद्धता हो । यो एउटा खाडल हो, जुन अप्रासंगिकता, अफवाह र तमासाले भरिएको छ । यद्यपि ग्रहले चिच्याएर बोल्छ र यसलाई बेवास्ता गर्न असम्भव छ । वायुमण्डलीय क्रुद्धताका यी दिन, यी लु र डढेलो हाम्रा मौनतामा निर्दयी भई बज्रिनेछन् । अहिले इंग्ल्यान्डले भोगिरहेको खतरनाक गर्मी दक्षिणी युरोपमा सामान्य बन्दै गएको छ र यो गर्मी मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका लागि शीतल मानिनेछ, किनभने यी क्षेत्रमा हुने गर्मीले ज्यानै लिने खतरा निम्त्याएको छ । कुनै समयको समशीतोष्ण जलवायु क्षेत्रमा द्रुत एवं व्यापक पहलकदमी नलिइने हो भने यी क्रुद्धताका दिन सामान्य हुन थाल्नेछन् ।
मानिसले एकअर्कालाई गर्ने हरेक क्षतिमा एउटै नियम लागू हुन्छ, अर्थात् जुन समस्याको छलफल हुँदैन, त्यसको सम्बोधन पनि गर्न सकिँदैन । सार्वजनिक जीवनमा व्याप्त मौनता र सबै प्रकारका दुव्र्यवहार एवं शोषण नै विनाशकारी विश्व तापमान वृद्धिलाई रोक्न नसक्नुको मुख्य कारण हो । यसलाई हामीले भोग्नु नपर्ने हो । अर्बपति मिडिया र यिनले प्रचार गर्ने राजनीतिज्ञ एकअर्काका लागि उपयुक्त होलान्, तर हाम्रा लागि यी दुवै योग्य छैनन् । यी आफूबीच एउटा संसार सिर्जना गर्दै छन्, जुन हामीले रोजेका होइनौँ र त्यहाँ सम्भवतः हामी बाँच्ने पनि छैनौँ । यस मुद्दामा आममानिस आफ्नो प्रतिनिधित्वको दाबी गर्ने हुँ भन्नेहरूभन्दा धेरै चनाखा छन् । तर, यी राजनीतिज्ञ र मिडिया मालिकले निर्णायक कदम रोक्न कल्पनाशील छल गरिरहेका छन् ।
राजनीतिज्ञ र मिडिया मालिक जीवाश्म इन्धन क्षेत्र, पशु कृषि, वित्तीय क्षेत्र, निर्माण व्यवसाय, अटो निर्माता र एयरलाइन्सको पक्षमा पैरवी गर्छन् वा अझ भनौँ यी सत्तासीनको स्वार्थका लागि काम गर्छन् । जस्तोसुकै विचारका किन नहुन् सत्तामा बसेकाहरू विरोधको दमन गर्छन् । अर्थतन्त्रलाई कार्बनरहित बनाउने हाम्रो मागले कार्बन–सघन उद्योगका अतिरिक्त बलियाले कमजोरलाई शासन गर्ने विश्वव्यापी व्यवस्थाका लागि खतरा निम्त्याउँछ ।
मैले हालैका वर्षमा परम्परागत वातावरणीय आन्दोलनमा भयानक त्रुटि भएको महसुस गर्न थालेको छु । चर्चित वातावरणवादी हरित संगठन रूपान्तरणको आफ्नो दर्शनमा पूर्णतया गलत छन् । यिनका लागि बिस्तारै गरिने परिवर्तन अर्थात् वृद्धिवाद एक मात्र व्यावहारिक रणनीति हो । धैर्य र वृद्धिवादको वकालत गर्दै गर्दा सत्तामा रहेकाहरू हामीलाई नराम्रोसँग ठगिरहेका छन् । सार्वजनिक संरक्षण, प्रशासन, अदालत, निर्वाचन प्रक्रियालाई ध्वस्त बनाएको र प्रदर्शन गर्ने एवं बाँच्ने अधिकार दबाएको उग्र–दक्षिणपन्थले सबैलाई निस्तेज पारेको छ । व्यवस्था परिवर्तन हुँदैन भन्ने हामीले ठानिसकेका वेला उग्र–दक्षिणपन्थले हामीलाई गलत साबित गरेको छ । व्यवस्था परिवर्तन गर्न धेरै गाह्रो छ वा धेरै समय लाग्छ भन्ने विषय समस्या थिएन । समस्या बरु वृद्धिवादमा निहित थियो । वृद्धिवादले रूपान्तरण त परको कुरो भयो, प्रतिक्रान्तिको भयानक आँधीलाई पनि रोक्न सकेन । वृद्धिवादले षड्यन्त्रकारी मौनतालाई पनि चिर्न सकेन । व्यवस्था परिवर्तनको मागले मात्रै हामीलाई ग्रहीय विनाशतर्फ डोर्याउने शक्तिसँग सीधा सामना गर्ने, समस्याको मापन गर्ने र प्रभावकारी कदम चाल्नका लागि लाखौँ मानिसलाई प्रेरित एवं परिचालन गर्ने सामर्थ्य राख्छ ।
वातावरणवादीले अभूतपूर्व अस्तित्व संकट व्याहोरिरहेको बताउँदै आएका छन्, तर उनीहरू प्लास्टिक बोतल वा स्ट्र प्रयोग नगरौँ भन्ने आह्वान मात्रैमा सीमित छन् । हरित वातावरणवादी समूहले आफ्ना सदस्यलाई मूर्खका रूपमा व्यवहार गरेका छन् र मलाई लाग्छ, यी सदस्य आफू मूर्ख भएकोमा अनभिज्ञ पनि छैनन् । वृद्धिवाद कहिल्यै पनि उपयुक्त थिएन । हामीले चाहेको परिवर्तनका लागि तीव्र रूपमा पहलकदमी लिनुको सट्टा वृद्धिवाद महत्वाकांक्षाको दलदलमा फस्न पुग्यो । परिवर्तनको एक मात्र द्रुत र प्रभावकारी विधि सधैँ व्यवस्था परिवर्तन हो र यसलाई दक्षिणपन्थीले प्रमाणित गरेका छन् ।
पारिस्थितिक सभ्यता, डोनट अर्थतन्त्र (मानवीय आवश्यकता एवं ग्रहीय आवश्यकताको सन्तुलन गर्ने अर्थतन्त्र), सार्वजनिक विलासिता, र व्यक्तिगत पर्याप्तता हाम्रा आवश्यकता हुन् । यी माग कुनै पनि अर्बपति मिडियाले मूलतः हासिल गर्न सफल भएका मागभन्दा ठूला छैनन् । स्मरण रहोस्, अर्बपति मिडियाका मागले नवउदारवादी उभार ल्यायो, जसले प्रभावकारी शासन, धनीमाथि लगाइएको प्रगतिशील कर, व्यापार एवं कुलीन वर्गको शक्तिमाथिको नियन्त्रण र प्रभावकारी लोकतन्त्रलाई नामेट पारेको छ । तसर्थ, आफ्नो मौनताको अन्त्य गरौँ । क्रमिक परिवर्तनको रणनीतिले महत्वपूर्ण परिवर्तन हुनेछ भनेर अरू र आफूलाई ढाँट्न छोडौँ । कायरपन एवं खोक्रो प्रतिनिधित्ववाद (टोकनिजम) त्यागौँ । आगो लाग्दा मात्रै इनारबाट पानी ल्याउने प्रवृत्ति बन्द गरौँ ।
द गार्जियनबाट (मोन्बोइट द गार्जियनका स्तम्भकार हुन्, उनी वातावरणीय मुद्दामा कलम चलाउँछन्)