मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ४ बुधबार १०:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संसदीय चुनावअघि अर्थतन्त्रसँग सम्बन्धित विधेयक पारित गर्न चेम्बरको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ४ बुधबार १०:२२:००

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरूलाई अगाडि बढाउन माग गरेको छ । प्रतिनिधिसभामा अर्थतन्त्रसँग सरोकार राख्ने ११ विधेयक वर्षौंदेखि विचाराधीन छन् । चेम्बरले मंगलबार सभामुख अग्नि सापकोटालाई भेटेर ती विधेयकहरू संघीय चुनावअघि नै पारित गर्न माग गरेको हो । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुख सापकोटालाई भेटेर यस्तो माग गरेका हुन् ।  उक्त विधेयकहरू निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित थुप्रै समस्याहरू सम्बोधन हुन नसकेको चेम्बरको भनाइ छ । सभामुख सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरू पनि करिब–करिब सकिएको छ,’ उनले भने, ‘अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरू सम्बन्धित समितिका सभापतिहरूसँग जानकारी लिने पनि उनले बताए । सबै आर्थिक विधेयकहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन पहल गर्ने सभामुखको भनाइ थियो । भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरू संसदीय समितिमा झन्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको बताएका थिए । 

धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक अर्थ समितिमा छलफलका क्रममा रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पनि छलफलकै क्रममा छ । यसैगरी, बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा  छ । त्योलगायत अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरू संघीय निर्वाचनअघी पारित गर्नुपर्ने चेम्बर अध्यक्ष मल्लले बताए ।

यस्तै, अध्यक्ष मल्लले व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउनसमेत सभामुखलाई आग्रह गरेका छन् । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवद्र्धन गर्न सके वर्तमान व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । 

‘गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन आग्रह गर्दछु । समग्रमा संघीय निर्वाचन अघि न अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरू पारित गर्न हाम्रो अनुरोध छ,’ उनले भने, ‘त्यो गर्न सके मुलुकको आर्थिक क्षेत्रले निकास पाउनेछ ।’