मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
टेकराज थामी काठमाडौं
२०७९ श्रावण २ सोमबार ११:२६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई सय व्यक्तिका मिर्गौला बेचेको गिरोह पक्राउ

श्रीमतीका लागि मिर्गौला खोज्दै हिँडेका ग्राहकको पिछा गर्दा भेटियो गिरोह

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ श्रावण २ सोमबार ११:२६:००

भारतको दिल्लीस्थित अस्पतालमा ‘डायलाइसिस’ गराइरहेकी श्रीमतीका लागि मिर्गौला खोज्दै काठमाडौं आएका ग्राहकको पिछा गर्दा प्रहरीले दुई सय व्यक्तिको मिर्गौला बेचिसकेको गिरोह फेला पारेको छ । दुईजनाको मिर्गौला बेच्न भारततर्फ लैजाने क्रममा अनुसन्धान ब्युरोले पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका– ५ का विधानहिमाल श्रेष्ठ भनिने धनबहादुर श्रेष्ठ, गुल्मी तम्घास नगरपालिका– २ का विजय कुँवर, झापा पृथ्वीनगर नगरपालिका– १ का आशिष तामाङ तथा दैलेख चामुण्डा–बिन्द्रासैनी नगरपालिका– ६ का धुपेन्द्र शाही र विमलबहादुर शाही छन् । ‘मिर्गौलाको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन् । यिनीहरूले दुई सयभन्दा धेरैको मिर्गौला दिल्ली र कोलकाताका विभिन्न अस्पतालमा लगेर बेचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ब्युरोका निमित्त प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘दुई पीडितलाई पनि रंगेहात फेला पारेका छौँ । घटनाको सम्बन्धमा अनुसन्धान हुँदै छ, थप तथ्य खुल्दै जाला ।’ एउटा मिर्गौलाको पाँच लाख रुपैयाँ लिने गरेको र त्यसमध्ये तीन लाख मिर्गौलावालालाई दिएर दुई लाख गिरोहमा संलग्नहरूले बाँड्ने गरेको उनले बताए ।

प्रहरीका अनुसार भारतको दिल्लीस्थित अस्पतालमा ६३ वर्षीया श्रीमतीको मिर्गौला ‘डायलाइसिस’ गराइरहेका ७५ वर्षीय एक व्यक्ति २१ दिनअघि मिर्गौला खोज्न काठमाडौं आएका थिए । यसैक्रममा उनी धुपेन्द्रको सम्पर्कमा पुगेका थिए । पाँच लाख रुपैयाँमा मिर्गौला मिलाइदिने आश्वासन धुपेन्द्रबाट पाएपछि उनी दिल्ली फर्किएका थिए । यता धुपेन्द्र आफैँ मिर्गौला बिक्री गर्ने व्यक्तिको खोजीमा लागे । उनले काभ्रेको होक्सेनिवासी दुई दाता फेला पारे । प्रतिमिर्गौला पाँच लाख रुपैयाँ र एक सेट मोबाइल दिने भनेपछि उनीहरू दिन जारी भए । लगत्तै गिरोहले उनीहरूलाई काभ्रेबाट काठमाडौं ल्याए । तारे होटेलमा दुई महिनासम्म राखे । खान, बस्न र आवश्यक सबै खर्चको व्यवस्था गरे । यसैक्रममा उनीहरूको रगत, पिसाबलगायत आवश्यक सबै स्वास्थ्य परीक्षण गराए । रिपोर्ट अनुकूल आएपछि दुवैलाई वीरगन्ज–रक्सौल हुँदै दिल्ली लैजाने योजना बन्यो । तर, योजना बनाउँदाबनाउँदै प्रहरीले उनीहरूलाई पक्राउ ग¥यो ।

घटनाबारे एसपी मल्लले भने, ‘यिनीहरूले काभ्रेका दुई मिर्गौलादाता फेला पारेपछि पाँच लाख र एक सेट मोबाइल दिने भनेर सहमति गराएछन् । काभ्रेबाट काठमाडौं ल्याई दुई महिनासम्म तारे होटेलमा राखेर सबै तयारी सकेपछि दिल्ली लैजाने योजना बनाउँदै गर्दा पक्राउ परेका हुन् ।’

प्रहरीका अनुसार कारोबारका मुख्य योजनाकार धनबहादुर हुन् । गिरोहले उनकै योजनामा मिर्गौलाको दाता र ग्राहक खोज्ने धन्दा सञ्चालन गर्दै आएको थियो । मिर्गौला बेच्न तयार हुने व्यक्तिको रगत समूह संकलन गर्ने र सोहीअनुसारको दाता खोज्ने जिम्मा भने विजयको थियो । दाताको स्वास्थ्य परीक्षण गर्ने, उनीहरूका लागि होटेलको प्रबन्ध गर्ने काम भने विमल, आशिष र धुपेन्द्रले गर्दै आएका थिए ।

कारोबारका मुख्य योजनाकार जसले आफ्नै मिर्गौला बेचेका थिए 
रामेछाप मन्थलीका २८ वर्षीय धनबहादुर कारोबारका मुख्य योजनाकार हुन् । उनले आफ्नै मिर्गौला भारतको अस्पतालमा लगेर बेचिसकेका छन् । उनका सहयोगी दैलेख चामुण्डाका ३२ वर्षीय विमलबहादुरले पनि दिल्लीमै गएर आफ्नो मिर्गौला बेचेका थिए । त्यसपछि उनीहरू आफ्नै समूह बनाएर मिर्गौला बेच्ने र किन्ने व्यक्ति खोजेर कारोबार गर्ने धन्दामा संलग्न भएका थिए ।

आफ्नै शरीरको दाग देखाएर मिर्गौला बेच्न राजी गराउँथे 
प्रहरीका अनुसार यो गिरोहले आर्थिक रूपले विपन्न, खासगरी सडकका मगन्ते र मजदुरलाई प्रलोभनमा पारेर मिर्गौला बेच्न राजी गराउँथे । मिर्गौला बेच्न प्रोत्साहन गर्थे । एउटै मिर्गौला भए पनि शरीर स्वस्थ रहने भन्दै मिर्गौला निकालेको आफ्नै शरीरको दाग देखाउँदै आश्वस्त गराउँथे । राजी भएपछि काठमाडौं ल्याएर दुई महिनासम्म तारे होटेलमा राख्थे । स्वास्थ्य परीक्षणपछि वीरगन्ज हुँदै रक्सौल नाकासम्म पु¥याउँथे । त्यसपछि भारतमै रहेका दलालको जिम्मा लगाउँथे । भारत लगेर पनि उनीहरूलाई दुई महिनासम्म तारे होटेलमै राख्थे । मिर्गौला स्वस्थ पार्न पौष्टिक आहार खुवाउँथे । सम्पूर्ण रूपले स्वस्थ भएपछि अस्पताल लगेर मिर्गौला झिक्थे । त्यसपछि हातमा तीन लाख रुपैयाँ थमाएर नेपाल फर्काइदिन्थे । भारतमा पनि दलालको काम गर्ने अधिकांश नेपाली नै रहेको एसपी मल्लले बताए । ‘यस्तो धन्दा डरलाग्दोसँग फस्टाएको अनुसन्धानबाट खुलेको छ । नेपालमा गिरोह चलाउने त नेपाली हुने नै भए । भारतमा दलाली गर्नेसमेत नेपाली रहेको अनुसन्धानबाट खुलेको छ । सूचना आएअनुसार भारतका अस्पताल क्षेत्रमा यस्ता दलाल छ्यापछ्याप्ती भेटिने गरेका छन्,’ उनले भने ।

गिरोहका पाँचजनाले यसरी बाँड्थे काम
प्रहरीका अनुसार कारोबारका मुख्य योजनाकार रामेछाप मन्थली नगरपालिका– ५ का विधानहिमाल श्रेष्ठ भनिने धनबहादुर श्रेष्ठ हुन् । गिरोहले उनकै योजनामा मिर्गौलाको दाता र ग्राहक खोज्ने धन्दा सञ्चालन गर्दै आएको थियो । मिर्गौला ग्रहणकर्ताको रगत समूह संकलन गर्ने र सोहीअनुसारको दाता खोज्ने जिम्मा भने गुल्मी तम्घास नगरपालिका– २ का विजय कुँवरको थियो । त्यस्तै, मिर्गौला बेच्न तयार हुने व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने, उनीहरूका लागि होटेलको प्रबन्ध गर्ने काम दैलेख चामुण्डा–बिन्द्रासैनी नगरपालिका–६ का विमलबहादुर शाही र धुपेन्द्र शाही तथा झापा पृथ्वीनगर नगरपालिका– १ का आशिष तामाङले गर्दै आएका थिए ।