१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०७:३९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

राजापाक्षेले सिंगापुर पुगेर इमेलबाट राजीनामा दिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०७:३९:००

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएका छन् । उनले बिहीबार सिंगापुर पुगेर राजीनामा दिएका हुन् । सिंगापुर ओर्लिएको केही समयपछि देशका सभामुख महिन्दा यापा आबेवर्देनालाई इमेलमार्फत राजीनामापत्र पठाइएको थियो । राजीनामापत्र इमेलबाट आएकाले त्यसको वैधानिकता के हुन्छ भन्ने विषयमा सभामुखले कानुनकर्मी र कूटनीतिज्ञसँग सरसल्लाह गरेका थिए ।

सभामुख आबेवर्देनाले पत्रको सत्यता पुष्टि गर्न चाहेपछि राजीनामाको औपचारिक घोषणामा ढिलाइ भएको थियो । श्रीलंकाका स्थानीय मिडियाअनुसार सभामुखले आवश्यक कानुनी सल्लाहका लागि महान्यायाधिवक्ताको कार्यालयको पनि सहयोग मागेका थिए । साथै, उनले सिंगापुरस्थित श्रीलंकाको उच्चायोगबाट राजापाक्षेको राजीनामापत्रको मूल पनि मागेका थिए । 

ठूलो जनविरोधपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षे माल्दिभ्स हँुदै सिंगापुर गएका थिए । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षे सिंगापुर गएको पुष्टि गर्दै उनी ‘निजी भ्रमणका लागि’ आएको जानकारी दिएको थियो । गोटाबायाले सार्वजनिक आक्रोशको बीचमा यसअघि नै बुधबारसम्म राजीनामा दिने वाचा गरेका थिए । तर, राजीनामा गर्ने भनिएको दिनअघि उनी माल्दिभ्स उडे । उनी मंगलबार राति सैन्य विमानमार्फत माल्दिभ्स भागेका थिए । 

माल्दिभ्सबाट बिहीबार साउदी विमानमा चढेर उनी सिंगापुरतिर लागेका थिए । उनीसँग श्रीमती र अंगरक्षक रहेको स्रोतले बताएको थियो । पहिलेदेखि गोटाबाया सुरक्षित स्थलमा पुगेर राष्ट्रपति पदबाट राजीनामा गर्ने मुडमा रहेको आशंका गरिएको थियो । नयाँ सरकार आए आफू पक्राउ पर्ने र कारबाहीमा पर्ने डरमा गोटाबायाले यस्तो कदम उठाएको विज्ञहरूले बताएका छन् ।