मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार २३ बिहीबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पकेट क्षेत्रकै मकै बाँदरले खाएपछि तनहुँका कृषक चिन्तित

Read Time : < 1 मिनेट
२०७९ असार २३ बिहीबार ०६:१४:००

मकैको पकेट क्षेत्र म्याग्दे, व्यास, रिसिङमा बाँदरले मकै खाइदिएपछि किसानहरू हैरान भएका छन् । बारीमा फल लागेको मकै बाँदरको हुल आएर खाइदिएको व्यास नगरपालिका– ९ का स्थानीय राजु आचार्यले बताए । ‘बाँदर जतिवेला पनि आउन सक्छ त्यसैले बाँदर धपाउनका लागि एकजना मकैबारीमा नै बस्नुपर्छ । कहिलेकाहीँ बाँदरको जमात आएर मकै सखाप पार्छन्,’ उनले भने । 

उत्पादन भएको मकै परिवार पाल्न वर्षभरि पुर्‍याउनुपर्ने बाध्यता छ । तर, बाँदरको आतंकले कृषकले हैरानी खेप्नुपरेको छ । त्यस्तै, म्याग्देमा पनि बाँदरले दुःख दिएको रमेश विकले बताए । जंगल पनि नजिकै भएकाले बाँदर मकैबारीमा आएर खाने गरेको उनको गुनासो छ । पछिल्लो समय विभिन्न पालिकाले कृषकलाई बाँदर धपाउनका लागि अनुदानमा बन्दुक वितरण गरेको थियो । त्यसले बाँदर धपाउनका लागि सहयोग गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताए । ‘बाँदरले मकै खाएर दुःख दिएको गुनासो आएपछि बाँदर धपाउनका लागि कृषकलाई बन्दुक वितरण गरिएको थियो त्यो केही हदसम्म प्रभावकारी पनि बनेको छ’ उनले भने । 

जिल्लामा रामपुर, कम्पोजिट, हाइब्रिड, अरुण, मनकामनालगायतका मकैको बिउ लगाउने गरिन्छ । जिल्लामा २७ हजार एक सय ७० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको छ । गत वर्ष ६८ हजार दुई सय ४२ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।