१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सौरभ यादव सप्तरी
२०७९ असार २१ मंगलबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतको मूलढोकामा मिटरब्याजीविरुद्ध धर्ना, न्याय नपाए आत्महत्या गर्ने पीडितको चेतावनी

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ असार २१ मंगलबार १९:१९:००

सप्तरीका मिटरब्याजी रामदेव शाह तेलीको अत्याचारबाट पीडित भएकाहरूले मंगलबार धर्ना र प्रदर्शन गरेका छन्। गाउँगाउँबाट आएका पीडितहरूले अदालतको मूलढोकामा धर्ना दिएर नाराबाजीसमेत गरेका हुन्। 

लगातार धर्ना र नाराबाजी गरेका उनीहरूले आफूहरूलाई चर्को मिटरब्याज लिएर घरबारविहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारबाही नगरिए अदालतकै अगाडि आत्महत्या गर्ने भन्दै नाराबाजी गरेका छन्। 

उनीहरूले हाल फरार रहेका रामदेवलाई अविलम्ब पक्राउ गर्न र पक्राउ परिसकेका रामदेवका छोरा नन्दकिशोर छोरी अनुराधामाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्। पीडितहरूले साह परिवारसँग लिएको ऋण चर्को ब्याजसहित चुक्ता गरिसके पनि बन्धकीस्वरूप राखेको जग्गा फिर्ता नगरेको भन्दै दिनहुँजसो सदरमुकाम राजविराजमा प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरूले अदालतबाट न्याय नपाए अब आफूहरूसँग मर्नुको विकल्प नरहेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए। 

विपन्न नागरिकको उठिवास लगाउने मिटरब्याजी रामदेव अझै फरार छन्। नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएलगत्तै प्रहरीले रामदेव शाह तेलीका छोरा नन्दकिशोरलाई गत जेठ २७ सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट  पक्राउ गरेको थियो।