मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Monday, 16 December, 2024
l rl08sf ltdlN;gf
२o७९ असार १९ आइतबार o८:५१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नागरिक नसुध्रिए नेता सुध्रिँदैनन् 

Read Time : > 3 मिनेट
l rl08sf ltdlN;gf
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o८:५१:oo

समाजले आफ्नै हैसियतअनुसारको नेता पाउँछ भन्ने भनाइमा कहीँ न कहीँ सत्यता छ । कुनै पनि समाजलाई नेतृत्व गर्ने नेता त्यही समाजबाट आउने हो । उसको आचरण त्यही समाजको प्रतिबिम्ब हो । राजनीति र समाजको अन्योन्याश्रित सम्बन्ध हुन्छ । राजनीतिज्ञको चरित्र समाजको संस्कार, आचरण, मूल्य–मान्यता र अभ्याससँग जोडिएको हुन्छ । यसर्थ समाज, नागरिक र राजनीति एक–आपसमा सम्बन्धित हुन्छन् । तर, आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना गरिरहँदा हामीले आफ्नो खराब आचरण र व्यवहारलाई सधैँ नजरअन्दाज गरिरह्यौँ । आफ्नो आचरण जस्तो भए पनि हामीलाई नेतृत्व गर्ने नेताचाहिँ सर्वगुण सम्पन्न चाहिएको हुन्छ । विकासोन्मुख समाजमा नेतृत्वबाट समाजको तीव्र अपेक्षा हुन्छ । तर, हामीले अपेक्षा गरेको नेतृत्व अमुक आदर्श व्यक्ति हो अथवा असल परिपाटी भन्नेमा हामी नै स्पष्ट देखिएनौँ । 

राजनीतिलाई दोषारोपण गर्दैमा राजनीतिक चरित्र बदलिँदैन । अल्पविकसित समाजमा ‘दोषारोपण’ एउटा संस्कृति बनिसकेको हुन्छ । राजनीति र राजनीतिज्ञप्रतिको दोषारोपणले मात्र नागरिकको जिम्मेवारी पूरा हुँदैन । किनकि समाजको संस्कार, सोचाइ, विचार र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्न सक्दैन । राजनीतिलाई सही दिशामा डोर्‍याउने प्रमुख मार्गदर्शक समाजको चेतना हो र त्यो सामाजिक चेतना भनेको हामी र हाम्रा सोचाइ, संस्कृति, व्यवहार, मूल्य–मान्यता र आचरणको समष्टि हो । हामीले आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना मात्र गर्‍यौँ, आदर्श नेता जन्माउन आदर्श समाज चाहिन्छ भन्ने भुलिरह्यौँ । आदर्श नेताका लागि राजनीति/राज्यले लगानी गर्नुपर्छ भन्ने भुल्यौँ । हुन त देशको सर्वोच्च नीति नै राजनीति हुनाले सबै बेथितिको दोष राजनीतिलाई दिनु आफैँमा अस्वाभाविक होइन । किनकि, कुनैपनि देश समृद्ध बन्न त्यसको राजनीति सही दिशामा हुनु अत्यन्तै जरुरी हुन्छ । तर, राजनीतिलाई मात्र दोष दिएर हाम्रा समस्या समाधान हुन्छन् त ?

हालै सम्पन्न स्थानीय निर्वाचनमा केही स्थानमा आशालाग्दा युवाले जिते । तर, अपवादबाहेक धेरै स्थानमा, पावर र पैसासँग भोट साटासाट भएको सुनियो । हुन त निर्वाचनमा पैसा बाँडेर भोट किनेर निर्वाचन जित्नु पनि नेपालको परिप्रेक्ष्यमा सामान्य जस्तै भइसक्यो । पारदर्शिता र जवाफदेहिता आवश्यक नपर्ने यो देशको विकृत राजनीतिमा पावर र पैसाका भरमा चुनाव जित्नु नौलो होइन । तर, यसमा दुःखको कुरा के छ भने निर्वाचनको समयमा नेताहरूबाट पैसा लिएर भोट दिनेहरूमा अशिक्षित र न्यून आय वर्गका मानिस मात्र छैनन् । धनाढ्य, पढेलेखेका शिक्षित भनिएका र समाजका हर्ताकर्ता भनिएकाहरू पनि पैसा वा पावरको लोभमा भ्रष्ट र बेइमान नेतालाई जिताउन अघि सरेको देखिन्छ । 

यस अर्थमा हेर्ने हो भने हामीकहाँ सबैभन्दा बढी समस्या शिक्षित वर्गमै देखिन्छ । समाजका अगुवा भनिएका वर्ग नै बेइमानको दायाँ हात भएपछि उत्पीडित वर्ग सधैँ पिल्सिरहने र भ्रष्टहरू मौलाइरहने हुँदो रहेछ । र, हामी नागरिकमा अझ भनौँ, अहिलेको युवा वर्गमा एउटा अर्को पनि समस्या छ, त्यो के हो भने अपवादबाहेक धेरैजसो युवालाई देशमा के भइरहेको छ, देशको आर्थिक राजनीतिक अवस्था कस्तो छ भन्ने थाहै छैन र थाहा पाउनु जरुरी छ भन्ने पनि सोच्दैन, अहिलेको पुस्ता । देशमा बढिरहेको विकृति, विसंगतिविरुद्ध आवाज उठाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि यो मेरो चासोको विषय होइन, म एक्लै बोलेर के हुन्छ र भनेर बस्छन् आजका युवा । 

देशको आर्थिक अवस्था एकदम जर्जर भइसकेको छ । खाद्यान्न, तेल, इन्धनको मूल्यवृद्धिले सीमा नाघेको छ, तैपनि हामी बोल्दैनौँ, सब ठिकठाक छ जसरी चुपचाप छौँ । महँगीले ढाड सेकिएको र बेथितिले पिरोलेको सबै थाहा छ हामीलाई । बेथितिको कारण भनेको अहिले राज्यसत्तामा भएका व्यक्ति हुन् भन्ने पनि थाहा छ । त्यही पनि फेरि निर्वाचन आएपछि पेट्रोल र खाजाको आसमा तिनै भ्रष्टको ‘र्‍यालीमा जान्छौँ, पैसाको लोभमा तिनैलाई भोट दिन्छौँ, जिताउँछौँ । हामीमाथि अत्याचार गर भनेर हाम्रो विवेकको चाबी तिनैलाई दिन्छौँ । अलि पछि तिनै नेतालाई सराप्छौँ । न्यायका लागि हुने आन्दोलन, बलात्कारविरुद्धको आन्दोलन र कुनै भ्रष्ट नेताको आमसभामा उपस्थित हुने युवाको तथ्यांकबाट थाहा हुन्छ, हाम्रो मानसिकता कस्तो छ भन्ने ।

अर्कातिर पुँजीवादले थिलथिलो पारेको हाम्रो मानसिकताले पैसा कमाउनुलाई सबैभन्दा महत्वको विषय बनाएको छ । कहाँबाट कमायो, कसरी र कुन नियतबाट कमायो, कालो धन हो कि मिहिनेतको कमाइ भन्ने कसैलाई चासो हुँदैन । कालो धन आर्जन गरी रातारात करोडपति हुनु प्रतिष्ठाको विषय बनेको छ । पैसा कमाउने होडबाजीले मान्छेलाई यति गिजोलेको छ कि दुई नम्बरी गरेर पैसा कमाउनुलाई हामी सामान्य ठान्न थालेका छौँ । पैसा लिएर भोट दिनु नौलो विषय रहेन अब । खराब मान्छेको चाप्लुसी गर्नु सामान्य लाग्छ । यसको मतलब हाम्रो समाज धेरै विषाक्त र निर्जीव भइसकेको छ, त्यसैले हामीले नेतालाई मात्र सराप्नु बेकार छ । 

सामान्यभन्दा सामान्य विषयमा पनि हामी त्यति नै गैरजिम्मेवार छौँ । हिँड्दा चकलेट खायौँ भने खोल त्यतै फालिदिन्छौँ, बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गर्नु आवश्यक ठान्दैनौँ । हुन त हामीले जेब्रा क्रसिङ प्रयोग नगरेर देश बिग्रेको हो र भन्ने प्रश्न पनि आउला । तर, यस्तै सामान्य विषयमा हामी गैरजिम्मेवार बनेका कारण नै आज देश यो अवस्थामा पुगेको हो । हामीलाई आफ्नो जिम्मेवारी के हो भन्ने थाहै छैन । यो देश बिग्रिनुमा जति हामीले चुनेका नेताको हात छ, त्यति नै गलत नेता चुन्ने हाम्रो पनि हात छ ।

अन्त्यमा, गएको स्थानीय निर्वाचनमा काठमाडौं, धरान र केही स्थानमा नागरिकले मत परिवर्तन गरे, जसको सकारात्मक सुरुवाती परिणाम पनि देखिन थालेको छ । सार्वभौम नागरिकको विवेक र निर्णयमाथि प्रश्न गर्नु लेखको उद्देश्य होइन, तर हाम्रो निर्वाचन प्रणाली र लोकतान्त्रिक अभ्यासलाई अझ उन्नत र सुसंस्कृत बनाउनैपर्छ । त्यसका लागि नागरिकमा शैक्षिक, नैतिक चेतना अभिवृद्धि गराउनु राज्य र राजनीतिक दलहरूको दायित्व हो भने नेताहरूको गलत क्रियाकलापमाथि खबरदारी गर्नु नागरिकको दायित्व हो । लोकतन्त्रमा सरकार शोषक र मालिक होइन, सेवक हुनुपर्छ । त्यस्तो सरकार निर्माण नागरिकको विवेकपूर्ण मतदानबाट मात्र सम्भव हुन्छ । त्यसैले, जवाफदेही नेतृत्व पाउन नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ ।