Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ असार १६ बिहीबार ०६:२१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ वर्षअघि नैनीतालमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : कलेजका प्रधानाचार्यसहित तीनजना दोषी ठहर, जनही दुई वर्ष कैद र ५० हजार जरिवाना

Read Time : > 3 मिनेट
२०७९ असार १६ बिहीबार ०६:२१:००

भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको सेरउड कलेजमा नेपाली विद्यार्थी सान प्रजापतिको मृत्यु प्रकरणमा अदालतले कलेजका प्रधानाचार्यसहित तीनजनालाई दोषी ठहर गरेको छ । बुधबार नैनीतालस्थित जिल्ला अदालतले आठ वर्षपछि गरेको फैसलामा उनीहरूलाई जनही दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला तोकेको छ । 

अदालतले प्रधानाचार्य अमनदीप सन्धु, होस्टेल वार्डेन रवि कुमार र परिचारिका पायललाई दोषी ठहर गरेको हो । ‘मुद्दामा अदालतले अधिकतम सजायको फैसला गरेको छ । आठ वर्ष ढिलो भए पनि नेपाली विद्यार्थीको मुद्दामा न्याय मिलेको हुनाले खुसी व्यक्त गर्छुु,’ अधिवक्ता हरीशचन्द्र पाण्डेले नैनीतालबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

उनका अनुसार एक महिनाभित्र दोषी ठहर भएकाले पुनरावेदन दिन सक्नेछन् । ‘उनीहरू दोषी किटान भइसकेका छन्, सजाज र धरौटी कम गर्न उनीहरूले पुनरावेदनका लागि निवेदन दिन सक्ने समय एक महिनाको छ,’ पाण्डेले भने, ‘उनीहरूले पुनरावेदन दिएनन् वा अदालतले अहिलेकै फैसलालाई सदर गरेमा तीनैजनाले दुई वर्ष जेल बस्नुपर्नेछ, कानुनमा योभन्दा अधिकतम सजाय नै छैन ।’ 

सानकी आमा निना श्रेष्ठले पनि नैनीताल अदालतको फैसलाप्रति खुसी व्यक्त गरिन् । ‘ढिलै भए पनि अदालतले न्यायोचित फैसला गरेको छ, दोषीहरूमाथि कारबाहीका लागि हामीले उठाउँदै आएको आवाज अदालतले पूरा गरेकोमा सन्तोष लागेको छ,’ काठमाडौंमा रहेकी निनाले नयाँ पत्रिकासँग भनिन् । त्यस क्षेत्रमा विद्यालयलाई कलेज भनिन्छ । 

‘चर्च अफ नर्थ इन्डिया’द्वारा सञ्चालित उक्त कलेजमा अध्ययनरत सानको २८ कात्तिक ०७१ मा मृत्यु भएको थियो । कक्षा ९ मा अध्ययनरत उनको मृत्यु कलेजको लापरबाहीका कारण भएको भन्दै न्यायको माग हुँदै आएको थियो । नैनीताल अदालतमा यो मुद्दा घटनाको दुई वर्षपछि पुगेको थियो । 

सेरउड कलेजमा कक्षा ६ मा भर्ना भएका सान कक्षा ९ का विद्यार्थी थिए । त्यसवेला उपचार अभावमा उनको मृत्यु भएको थियो । आमा निनाका अनुसार पढाइमा अब्बल रहेका सानले चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना सुनाएका थिए । ०७१ को दसैँ–तिहार मनाउन घर आएका १४ वर्षीय सान ८ कात्तिकमा तिहारको भाइटीका मानेर ११ कात्तिकमा नैनीताल पुगेका थिए । त्यसको दुई सातापछि उनको उपचारको अभावमा मृत्यु भएको थियो । 

त्यसवेला आमा निनालाई प्राप्त सूचनाअनुसार २३ कात्तिकमा सानलाई ज्वरो आएको थियो । होस्टेलका हाउस मास्टरले सानलाई सिटामोल खुवाए, तर उनलाई सन्चो भएन । २४ कात्तिकमा उनले रगत बान्ता गरे । तैपनि सानलाई सिटामोल मात्रै दिइयो । २५ कात्तिकमा कलेजकै नर्सले दुईवटा सुई लगाइदिइन्, तर अस्पतालमा सानको उपचार भएन । 

२६ कात्तिकमा सानको स्वास्थ्य झन् खराब भए पनि प्रधानाचार्य सन्धुले सानलाई अस्पताल लैजान नदिएको कलेज प्रशासनका कर्मचारीले सानको परिवारलाई सुनाएका थिए । नैनीतालबाट ४० किलोमिटर दूरीमा हलद्धानी अस्पताल छ, तर सानलाई त्यहाँ लगिएको थिएन । बिरामी भएको पाँच दिनसम्म परिवारलाई कलेज प्रशासनले जानकारीसमेत गराएको थिएन । २६ कात्तिकमा हलद्धानी अस्पताल नैनीताल लैजाँदा डाक्टरले उपचार सम्भव नभएको बताए पनि प्रधानाचार्य सन्धुले सानलाई उपचारका लागि दिल्ली लैजान दिएनन् । 

सेरउडमै अध्ययनरत काठमाडौंका विद्यार्थी एस झुनझुनवालले सानकी आमा निनालाई लुकिछिपी फोन गरेर सान बिरामी भएको जानकारी दिएका थिए । त्यसपछि २६ कात्तिकमा निनाले कलेजका हाउस मास्टर रवि कुमार र प्रिन्सिपल सन्धुलाई फोन गरिन् । सुरुमा रेस्पोन्स आएन । निनालाई २७ कात्तिक साँझ प्रिन्सिपल सन्धुले फोनमा सानको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि एम्बुलेन्सबाट नयाँदिल्ली लैजाँदै गरेको जानकारी दिएका थिए । आमा निना २८ कात्तिकमा नयाँदिल्ली पुग्दा सानको शव बुझाइएको थियो । 

निनाको साथमा तेजस्वी श्रेष्ठ र श्लोक ज्ञवाली (राप्रपाका दिवंगत नेता रवीन्द्रनाथ शर्माका नाति) पनि दिल्ली पुगेका थिए । नोयडामा उनीहरूलाई कलेज प्रशासनले बोलायो । एम्बुलेन्समा ड्राइभर, स्कुलका स्टाफ र सानको मृत शरीर थियो । ‘मेरो बच्चाको शरीरमा स्कुल पोसाक थियो, एउटा खुट्टामा मात्रै जुत्ता थियो,’ त्यसवेलाको घटनाबारे निनाले भनिन्, ‘कलेज पोसाकमा रहेको शव हामीलाई देखाइयो ।’ उनको अहिले पनि प्रश्न छ, ‘बिरामी व्यक्ति कसरी कलेज पोसाकमा हुन्छ?’ 

शव बोकेर ल्याउने एम्बुलेन्सचालकले निनालाई नैनीतालबाटै आफूले मृत विद्यार्थी बोकेर ल्याएको बताएका थिए । चालकको बयानका आधारमा उनीहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सानका साथी एसले बिरामी भएको दोस्रो दिनमै सानले अस्पताल लैजान भनेका थिए, तर प्रधानाचार्य सन्धुले पर्खिन भन्दै बेवास्ता गरेका थिए । 

सानको परिवारलाई नजिकबाट चिन्ने सेरउडका पूर्वविद्यार्थी एवं समाजसेवी उज्ज्वलविक्रम थापाका अनुसार सानले आफ्नो स्वास्थ्यबारे जानकारी दिँदा कलेज प्रशासनले त्यसलाई गम्भीरतासाथ लिएन । सानको मृत्युपछि उनका साथी एस झुनझुनवाललाई परिवारले सेरउडबाट निकालेर भारतको पुनेमा भर्ना गरेको थियो । 

घटनाको दुई वर्षपछि अदालतमा चार्जसिट फाइल भएको थियो । नैनीताल अदालतमा ८ फागुन ०७३ मा आरोपी प्रिन्सिपल सन्धु, नर्स भनिएकी पायल पाउल र हाउस मास्टर रवि कुमारले आत्मसमर्पण गरेपछि उनीहरू धरौटीमा छाडिए । करिब १७ सय पेजको चार्जसिट अदालतमा दर्ता भएको थापाले बताए । 

सानको मृत्युको विरोधमा सेरउड कलेजका पूर्वविद्यार्थीले जस्टिस फर सान अभियान सञ्चालन गरेका थिए । त्यसको अगुवाइ उज्ज्वलविक्रम थापाले गरेका थिए । थापाकै अगुवाइमा हालका भारतीय केन्द्रीय सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले लोकसभा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीसामु सानको घटनामा दोषीमाथि कारबाहीको माग गरेका थिए । 

०७१ मंसिरमा काठमाडौंमा सार्क सम्मेलनमा आएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो विषय उठाउने जानकारी परिवारलाई दिएका थिए । ‘सार्क सम्मेलनमा मोदीजी आउँदा म उहाँको कानमा यो कुरा पारौँला भनेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हामीलाई आश्वस्त पार्नुभएको थियो । कुरा भयो कि भएन, थाहा भएन,’ थापा भन्छन् । 

थापाका अनुसार त्यसवेला भाजपा नेता एवं सांसद अनुराग ठाकुर, तबाल कल्याणमन्त्री मोनिका गान्धी (सोनिया गान्धीकी देउरानी), भाजपा सांसद वरुण गन्धी, भारतीय कंग्रेसका सांसद सत्यव्रत चतुर्वेदीलगायतले सानको न्यायको लडाइँमा समर्थन गरेका थिए । ‘आठ वर्षपछि अदालतले न्यायको पक्षमा फैसला दिएको छ,’ हाल भारतमै रहेका थापाले टेलिफोनमा भने ।