१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
जेनिफर मेथर्स
२o८२ असार २४ मंगलबार १o:३५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गर्भमा राष्ट्र : मातृत्वलाई नीति बनाउने सत्ता

‘प्रोनेटलिस्ट’ नीतिको उद्देश्य जनशक्ति सुनिश्चित गर्नु मात्रै हो भने समृद्ध देशले आप्रवासनलाई पूर्ण रूपमा अँगालिसकेका हुन्थे

Read Time : > 2 मिनेट
जेनिफर मेथर्स
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार १o:३५:oo

रुसका केही हिस्सामा विद्यालय पढ्दै गरेका किशोरीलाई गर्भवती भई बच्चा जन्माएर पालेबापत एक लाख रुबल (झन्डै एक हजार तीन सय डलर) भन्दा बढी रकम दिइँदै छ । हालै १० वटा क्षेत्रमा लागू गरिएको यो योजना सन् २०२५ को मार्चमा वयस्क महिलाका लागि ल्याइएको नीतिको विस्तार हो, जसले घट्दो जन्मदर सुधार्न ल्याइएको नयाँ जनसांख्यिक रणनीतिको संकेत गर्छ । सन् २०२३ मा रुसको प्रतिमहिला जन्मदर १.४१ थियो, जुन जनसंख्या स्थिर राख्न आवश्यक २.०५ भन्दा निकै कम हो । किशोरीलाई पैसा दिएर बच्चा जन्माउन प्रेरित गर्ने यो नीति विवादास्पद बनेको छ । रुसी सार्वजनिक मत सर्वेक्षणअनुसार ४३ प्रतिशतले यसलाई समर्थन गरेका छन् भने ४० प्रतिशत विपक्षमा छन् ।

राष्ट्रपति पुटिनका लागि ठुलो जनसंख्या, फैलँदो भूभाग र शक्तिशाली सेना एक महान् शक्तिका सूचक हुन् । तर, युक्रेनमाथिको आक्रमण र भूभाग अधिग्रहणले जनसंख्या झन् घटाएको छ । युद्धमा करिब दुई लाख ५० हजार रुसी सैनिक मारिएका छन् भने धेरै युवा र शिक्षित व्यक्ति विशेषतः सैन्य सेवा टार्न चाहनेहरूले देश छाडेका छन् । तर, यो संकट रुसको मात्र होइन । घट्दो जन्मदर अहिले विश्वव्यापी प्रवृत्ति बनिसकेको छ । अनुमानअनुसार सन् २०५० सम्ममा तीनचौथाइभन्दा बढी देशको जन्मदर जनसंख्या धान्न अपर्याप्त हुनेछ ।

महिलालाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्ने नीति ल्याउनेमा पुटिन मात्र एक्ला होइनन् । हंगेरीमा भिक्टर ओर्बानको सरकारले तीन वा सोभन्दा बढी सन्तान भएका परिवारलाई उदार कर छुट र अनुदानमा कर्जाजस्ता प्रलोभन दिँदै आएको छ । पोल्यान्डले दुई वा बढी सन्तान भएका परिवारलाई प्रतिमहिना पाँच सय ‘ज्लोटी’ (झन्डै एक सय ३८ डलर) उपलब्ध गराउँछ । तर, उच्च आय भएका पोलिस महिलाले पेसागत जीवन र आम्दानीमा बाधा पुग्ने डरले बढी बच्चा जन्माउन हिच्किचाउने देखिन्छ । अमेरिकामा डोनाल्ड ट्रम्पले बच्चा जन्माएबापत महिलालाई पाँच हजार डलर दिने प्रस्ताव गरेका छन्, जुन ‘अमेरिकालाई पुनः महान् बनाऔँ, मागा’ अभियानसँग जोडिएको छ । यसले महिलालाई ठुलो परिवार राख्न प्रेरित गर्न खोजेको छ ।

तर, जनसांख्यिक प्रवृत्ति उल्ट्याउनु जटिल छ, किनभने बच्चा जन्माउने निर्णयमा व्यक्तिगत चाहना, आर्थिक हैसियत, सामाजिक मान्यता र सांस्कृतिक मूल्यसमेत जोडिन्छन् । त्यसैले ‘प्रोनेटलिस्ट’ (सन्तान जन्माउन प्रोत्साहन गर्ने) नीति कतै सफल, कतै असफल भएका छन् । अहिलेसम्म कुनै देशले घट्दो जन्मदर सजिलै उल्ट्याउने उपाय पाएको छैन । यसको विकल्प अपनाउने देशमध्ये स्पेन पनि एक हो, जहाँ आप्रवासी (गैरकानुनी रूपमा प्रवेश गरेकाका लागि पनि) लाई नागरिकता पाउने प्रक्रिया सजिलो बनाइएको छ । म्याड्रिडले आप्रवासीलाई अँगाल्ने नीतिलाई हालको आर्थिक वृद्धिको मुख्य कारण मानेको छ ।

अधिकांश प्रोनेटलिस्ट नीति अपनाउने सरकार केवल जनसंख्या बढाउने चासोमा मात्र सीमित हुँदैनन्, उनीहरू प्रायः विशेष किसिमका मानिसलाई सन्तान जन्माउन प्रेरित गर्न चाहन्छन् ।

यस्ता नीतिमा विचारधारात्मक आयाम पनि हुने गर्छ । सन्तान जन्म र ठुलो परिवारका लागि दिइने प्रोत्साहन प्रायः तिनै व्यक्तितर्फ लक्षित हुन्छन्, जसलाई राज्यले ‘इच्छित नागरिक’ मान्छ । र, इच्छित नागरिकको पहिचान जाति, भाषा, धर्म, यौनिकता वा अन्य आधारमा निर्धारण हुन्छ । उदाहरणका लागि स्पेनले क्याथोलिक ल्याटिन अमेरिकी स्पेनिस भाषीलाई रोजगारी दिई आप्रवासनमार्फत जनसंख्या वृद्धि गर्न खोजेको छ, तर अफ्रिकी आप्रवासीलाई त्यस्तो अवसर कम दिइएको देखिन्छ । हंगेरीमा पारिवारिक प्रोत्साहन उच्च आय भएका विषमलैंगिक (महिला–पुरुष) जोडीका लागि मात्र उपलब्ध छन् । ‘इच्छित नागरिक’को अनुपात बढाउने सोचका कारण ट्रम्प प्रशासनले अमेरिकामा बढी बच्चा जन्माइयोस् भन्ने माग राख्दै गर्दा पनि सयौँ गैरकानुनी आप्रवासीलाई पक्राउ र निर्वासन गर्ने, जन्मसिद्ध नागरिकताको संवैधानिक प्रत्याभूति उल्ट्याउने प्रयास गर्ने र केही अमेरिकीबाट नागरिकता खोस्ने काममा कुनै विरोधाभास देख्दैन ।

प्रोनेटलिस्ट नीति प्रवद्र्धन गर्ने सरकार वा समाजको सफलता आममानिस विशेषतः महिलालाई आमा बन्न प्रेरित गर्न सक्छन् कि सक्दैनन् भन्नेले निर्धारण गर्छ । आर्थिक प्रोत्साहनका साथै केही राज्यले धेरै सन्तान जन्माउने आमालाई सामाजिक सम्मान पनि दिन्छन् । उदाहरणका लागि, पुटिनले स्टालिनकालीन ‘मातृत्व पदक’ पुनः सुरु गरेका छन्, जुन १० वा सोभन्दा बढी सन्तान जन्माउने महिलालाई दिइन्छ । कहिलेकाहीँ यस्तो मान्यता समाजबाटै आउँछ, उदाहरणका लागि अमेरिकामा ‘ट्र्याड वाइभ्स’ (परम्परावादी गृहिणी) प्रतिको आकर्षणलाई लिन सकिन्छ । यी महिला पेसागत जीवन त्यागेर धेरै बच्चा हुर्काउने जीवनशैली अँगाल्छन् र सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिका रूपमा देखा पर्छन् ।

तर, मातृत्वको महिमामण्डनसँगै ती महिलामाथि आलोचना हुने गर्छ, जो बच्चा जन्माउन ढिलो गर्छन् वा अस्वीकार गर्छन् । सन् २०२४ मा रुसको संसद्ले ‘चाइल्ड–फ्री प्रोपगान्डा’ (सन्तानविहीन जीवनशैली प्रचार) प्रतिबन्ध गर्ने कानुन पास ग¥यो । यो निजी क्लिनिकमा गर्भपतनमा प्रतिबन्ध र अध्ययन तथा पेसागत जीवनलाई प्राथमिकता दिने महिलाको सार्वजनिक आलोचनासँग पनि जोडिएको छ । यदि प्रोनेटलिस्ट नीतिको उद्देश्य जनशक्ति सुनिश्चित गर्नु मात्रै हो भने समृद्ध देशले आप्रवासनलाई खुला रूपमा अँगालिसकेका हुने थिए । तर, यस्ता प्रयास प्रायः नागरिक विशेषतः महिलाको व्यक्तिगत निर्णय नियन्त्रण गर्न र आफूले मन पराएका समूहले भरिएको जनसंख्या निर्माण गर्न चाहने आकांक्षासँग गाँसिएका हुन्छन् ।

(मेथर्स एभेरिस्टविथ विश्वविद्यालयकी अन्तर्राष्ट्रिय राजनीतिकी वरिष्ठ लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट