मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ९ बिहीबार ०६:३९:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

महोत्सवमार्फत विश्वभर नेपाली कला संस्कृति फैलाउँदै छौँ - युवाकर राजकर्णिकार

Read Time : > 1 मिनेट
२०७९ असार ९ बिहीबार ०६:३९:००

नेपाल–अमेरिका फिल्म सोसाइटीले पाँचौँ संस्करणको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ गर्दै छ । अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा आज सुरु हुने महोत्सव १२ असार (जुन २३–२६)सम्म जारी रहनेछ । यसै सन्दर्भमा महोत्सवका निर्देशक युवाकर राजकर्णिकारसँग गरिएको कुराकानीको अंश :

महोत्सवमा कस्ता चलचित्र प्रदर्शन हुन्छन् ? 
नेपाली परिवेशमा बनेका चलचित्रलाई प्राथमिकतामा राखेका छौँ । महोत्सवको उद्देश्य चलचित्रको माध्यमबाट नेपाली कला–संस्कृतिलाई विश्वसमुदायसम्म पुर्‍याउनु हो । चलचित्र प्रदर्शनी भौतिक र अनलाइन (भर्चुअल) दुवै माध्यमबाट हुँदै छ । नेपाल, अमेरिकालगायत १२ देशका कथानक चलचित्र, वृत्तचित्र, लघु चलचित्र, एनिमेसन महोत्सवमा छानिएका छन् । चलचित्र छान्दा संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण तथा बसाइँसराइजस्ता विषयवस्तुलाई ख्याल गरेका छौँ । 

चलचित्र छनोट प्रक्रिया कस्तो थियो ? कतिले आवेदन दिएका थिए ?
महोत्सवमा नेपाल, अमेरिकालगायत विश्वका १२ देशका ३८ चलचित्र प्रदर्शनका लागि छानिएका छन् । ७६ भन्दा बढी चलचित्रको आवेदन परेको थियो । त्यसध्ये उत्कृष्ट ३८ वटा (वृत्तचित्र, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक) चलचित्र छानिएका हुन् । चलचित्र छनोट कमिटी बनाएका थियौँ । 

पाँच वर्षदेखि महोत्सव आयोजना गरिरहनुभएको छ, नेपाली चलचित्रमा कस्तो परिवर्तन पाउनुभएको छ ?
विगतका वर्षभन्दा यसपटक महोत्सवमा सहभागी हुने नेपाली चलचित्रको संख्या घटेको छ । तर, गुणस्तर भने बढेको पाएको छु । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । नेपाली सर्ट फिल्म, फिचर फिल्म, डकुमेन्ट्री सबै स्तरीय बन्न थालेका छन् । डकुमेन्ट्रीमा रिसर्च, लगाव र मिहिनेत गरेको देखिन्छ । महोत्सवमा संसारभरका चलचित्र सहभागी हुन्छन् । यहाँ प्रतिस्पर्धा गर्ने खालका चलचित्र मात्रै छान्छौँ । समग्रमा नेपाली चलचित्र आशालाग्दो देखिएको छ । 

महोत्सवको तयारी कसरी भइरहेको छ ? 
कोरोना महामारीपछि भौतिक उपस्थितिमा पहिलोपटक महोत्सव गर्न लागेको हो । महोत्सवको उद्घाटन नेपाली चलचित्र ‘हल्करा’को भौतिक प्रदर्शनबाट हुनेछ । अन्तिम दिन २६ जुन साँझ वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनसँगै समापन हुनेछ ।

भौतिक रूपमा उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमार्फत पनि चलचित्र चलचित्र हेर्ने सुविधा छ । प्रदर्शनपछि दर्शक र चलचित्रका निर्माता–निर्देशक तथा कलाकारसँग छलफल पनि गरिनेछ । यस वर्ष कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिनेछ । सातजनाको निर्णायकमण्डलको टिम बनाएका छौँ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ । 

हरेक वर्ष चलचित्र महोत्सव गर्न कत्तिको गाह्रो छ ? 
अमेरिकामा चलचित्र महोत्सव गर्नु आफैँमा चुनौतीपूर्ण छ । यहाँ समय व्यवस्थापन गर्न गाह्रो छ । कामबाट समय बचत गरेर कार्यक्रमलाई छुट्याउनुपर्छ । साथै आर्थिक जोहो पनि गर्नुपर्छ । अहिलेसम्म ‘स्वयंसेवी’को रूपमा नै काम गरिरहेका छौँ । एकाध स्थानीय संघसंस्था र नेपाली समुदायका संघसंस्थाले केही ‘डोनेसन’ गर्छन् ।