मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ७ मंगलबार १०:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नगदेबाली बन्दै मकै 

Read Time : > 1 मिनेट
२०७९ असार ७ मंगलबार १०:२५:००

भरतपुर– ६ का कृष्णप्रसाद तिमल्सिनाले करिब एक बिघा जग्गामा मकै लगाएका थिए । मकैमा घोगा लाग्दै गर्दाको दुईमहिने दुधिलो मकै पशु आहार साइलेजका लागि उनले बिक्री गर्ने सोच राखे । तर, त्यो समयमा बिक्री भएन । थप एक महिना राखेपछि मकै बजारका लागि बिक्रीयोग्य बन्यो ।  बिक्रीअघि मकैलाई सडकमा सुकाउँदै गर्दा घरअगाडि भेटिएका तिमल्सिनासँगै उनका छिमेकीहरू पनि हतारमा थिए । उनीहरू सबैलाई आफ्नो  मकै सुकाउन भ्याइनभ्याई थियो । 

भित्री सडक भरतपुर– ६ चोकबजार हुँदै केसरबाघ यात्रा गर्नेहरू मकै माथिमाथि नै हिँड्न बाध्य थिए । कारण त्यसै दिन मकै लिन व्यापारीहरू घरमा आउँदै थिए । लामो समयसम्म मकै स्टोर होस् भन्नका लागि मकैको चिसोपना हटाउन किसानले घाममा मकै सुकाउने गर्छन् । तिमल्सिनाले भने, ‘पहिलेपहिले मकै बिक्री गर्न मुस्किल हुन्थ्यो, अहिले घरमै व्यापारी लिन आउँछन् । खाद्यान्न बाली भन्ने गरिएको मकै अहिले हाम्रा लागि नगदेबाली भएको छ ।’

पशुपालन गरेर गुजारा चलाउने उनीजस्तै अधिकांश किसानकोे आम्दानीको स्रोेत बनेको छ अहिले मकै । तुलनात्मक कम खर्चमा उत्पादन गर्न सकिने मकै साइलेजको लागि प्रतिकेजी ढोडसहित चारदेखि पाँच रुपैयाँ केजी र तयारी मकै प्रतिकेजी ३३ देखि माथि बिक्री हुन्छ । विगतमा निर्वाहमुखी रूपमा मकै खेती हुँदै आए पनि स्थानीय बजारमा दाना उद्योगहरू खुल्ने क्रम बढेपछि तराईका क्षेत्रमा व्यावसायिक रूपमा हाइब्रिड जातका मकै खेतीतर्फ किसानको आकर्षण बढेको छ । दुग्ध र माछामा आत्मनिर्भर चितवनलाई पोल्ट्रीको राजधानी पनि भन्ने गर्छन् । 

केही समय अघिसम्म यहाँका किसान मकै खेती गर्न झन्झटिलो माने गर्थे, मकैको मूल्य थिएन भने उत्पादनले बजार नपाउँदा पनि मुस्किल हुन्थ्यो । तर, पछिल्ला दिनमा बोक्रासहितको मकै छोडाउने थ्रेसर मेसिन प्रयोगमा ल्याइएपछि सहजतासँगै लागत खर्च कम भएपछि किसान उत्साहित छन् । भूगोलअनुसार सबै सिजनमा मकै लगाउँछन् । मकैको प्रयोग बहुउपयोगी बन्दै छ । तयारी मकैसँगै अहिले पशु आहार साइलेजका लागि दुधिलो मकै घोगासहित बाेटबाट नै बिक्री पनि हुन्छ । तयारी मकैको ढोड पनि किसानले व्यक्तिगत रूपमा पशुआहाराका लागि प्रयोग गर्छन् । 

पशुआहार र साइलेज उत्पादन गर्दै आएको भरतपुर– ६ को अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईंका अनुसार सहकारीले दाना उद्योग सञ्चालनमा ल्याएसँगै मकै लगाउने किसानको संख्या पनि बढेको बताउँछन् । उनका अनुसार सहकारीमा आबद्ध अधिकांश किसानले मकै लगाएका छन् । कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्याल सिँचाइसँगै मकै छोडाउने, मकै रोप्नेलगायतका कृषि उपकरणसहित मकै सुकाउने त्रिपालमा राज्यको सहयोगले पनि व्यावसायिक मकैखेतीमा आकर्षण बढेको बताए । यद्यपि, चितवनका सरकारी निकायसँग आधिकारिक रूपमा मकैखेती कति जमिनमा भएको छ, कति उत्पादन बढ्यो भन्ने तथ्यांक भने छैन ।