Skip This
तातोपानीबाट निर्यात खुलाउने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २९ शनिबार o७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तातोपानीबाट निर्यात खुलाउने तयारी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:o६:oo

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका आयात मात्रै खुलाउने गरेर १५ जेठ ०७६ मा खुल्यो । कोरोना महामारीले तीन वर्षयता आयात पनि नियमित भएन । लगभग नाकाबन्दीको अवस्थामा रहेको तातोपानीबाट अब निर्यात पनि खुलाउने तयारी गरिएको छ । 

मित्रराष्ट्र चीन स्वशासित तिब्बतको खासामा नेपालबाट निकासी हुने सामान जाँचपासका लागि भन्सार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चिनियाँ पक्षसँग नियमित सम्पर्कमा रहेका सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जुलाई अन्तिमबाट निर्यात खुलाउने तयारी रहेको दाबी गरे । भूकम्पले क्षति गरेको खासाका भौतिक संरचना पुनर्निर्माणपछि चीन सरकारले नेपाली वस्तुको आयात खोल्ने तयारी गरेको शेर्पाले बताए । 

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले पनि नाकामा आयात सहज हुँदै गएको र निर्यातका लागि छलफल चलिरहेको जानकारी दिए । ‘निकासी खुलाउनेबारे चिनियाँ पक्षको आधिकारिक पत्र आएको छैन । तर, अनौपचारिक रूपमा तयारी गर्नुपर्ने कुरा आएको छ,’ उनले भने । निर्यातका लागि नेपालपट्टि सबै तयारी पूरा भएको उनले जनाए । ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाली वस्तु निर्यातका लागि चिनियाँ पक्षसँग निरन्तर छलफल चलाइरहेकाले सकारात्मक परिणामको आशा गरिएको गौतमले सुनाए । 

तातोपानीबाट चीन निर्यात हुने सामग्री परीक्षणका लागि नाकामा क्वारेन्टाइन व्यवस्थित रहेको, भन्सारको सबै तयारी पूरा भएको र नाकामा सीमा सुरक्षा मजबुत रहेको पनि गौतमले स्पष्ट पारे ।  भूकम्पअघि तातोपानीबाट हस्तकलाका उत्पादन, तामाका भाँडा, खाद्यान्नअन्तर्गत मैदा, चामल, चाउचाउ, बिस्कुट, जडीबुटीलगायत सामग्री चीन निर्यात हुन्थ्यो । नेपाली वस्तु निर्यातका लागि चिनियाँ पक्षका विभिन्न एजेन्सीसँग सहमति भएको  र केहीसँग छलफल चलिरहेको सिल्कका शेर्पाले बताए । भूकम्पअघि तातोपानीबाट निर्यात हुने सामग्री खासामा रहेका तिब्बत मूलका व्यापारीले खरिद गर्थे । तर, ती व्यापारी अहिले खासामा नरहेकोले नयाँ एजेन्सी र व्यापारीसँग सम्बन्ध बनाउनुपरेको उनले बताए ।

निर्यात खुलेपछि खासा क्षेत्रमा चिनियाँ व्यापारीले खुद्रा पसल सुरु गर्नेछन् । भोटेकोसी गाउँपालिकामा बस्ने सीमावासीले खासाबाट सामान किनेर ल्याउने अवस्था सिर्जना गर्न नेपालका व्यापारिक संघसंगठनले माग राखेका छन् । भूकम्पअघि लिपिङपारि चिनियाँ क्षेत्रबाट किनेर ल्याएको झोलेपोके व्यापारबाट स्थानीयको गुजारा चल्थ्यो  । नाकामा आवतजावत बन्द भएसँगै सीमावासी दुःखी छन् । निर्यात खुलाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत, हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठलगायतले परराष्ट्र, उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासलाई अनुरोध गरेका छन् । 

सडकको दुरवस्था उस्तै
०७६ जेठमा नाका खुल्नुअघि चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी) ले बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर कोदारी राजमार्गको मर्मतसुधार गरेको थियो । भौगोलिक अवस्था कच्चा भएकाले कोदारी राजमार्गमा पहिरो खसिरहन्छ । भोटेकोसी नदीले सडक कटान पनि गरिरहन्छ । अहिले कोदारीदेखि लिपिङसम्मको सडक जोखिमपूर्ण छ । भोटेकोसी नदीले सडक तानिरहेको र कोदारी गाउँ नै पहिरोमा परिणत हुने अवस्था आएकाले खासाबाट सामान हालेका व्यापारी समयमै सामान गन्तव्यमा नपुग्ने भयले चिन्तित छन् ।

पोहोर साल यही क्षेत्रमा तीन महिना बाटो बन्द भएको थियो । कोदारी राजमार्ग मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चरिकोटले बेवास्ता गरेको पाइन्छ । हाल तातोपानीबाट रासायनिक मल बोकेर काठमाडौं हिँडेका कन्टेनर बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड र सिल्क ट्रान्सपोर्ट कम्पनीका ट्रक कन्टेनरले नाकाबाट ५० हजार भाडामा सामान ढुवानी गरिरहेका छन् । 
 

ad
ad