मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Thursday, 09 January, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ जेठ २२ आइतबार o७:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको प्रारम्भिक निष्कर्ष : चुनावमा गठबन्धनबाट धोका भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार o७:३७:oo

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबाट धोका भएका कारण सम्मानजनक नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

केन्द्रीय सचिवालयको शनिबारबाट सुरु भएको बैठकले गठबन्धनभित्रैबाट भएको धोका र असन्तुष्टिलाई पाँच दलको बैठकमा प्रवेश गराइसकेको र पार्टीले पनि आन्तरिक समीक्षा गरेर छिटो निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याएको छ । बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनभित्रैबाट पार्टीलाई गरिएको अपमानका विषयमा गहिरो असन्तुष्टि रहेको र त्यस विषयमा पाँच दल र पार्टीभित्र समीक्षा भइरहेको बताए ।

झलनाथ खनाल नेता, एकीकृत समाजवादी

हामी असन्तुष्ट मात्र होइन, अलि गहिरो बेहद असन्तुष्ट छौँ, किनभने पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यसकारण हामी असन्तुष्ट छौँ । त्यो असन्तुष्टिलाई पाँच दलभित्र पनि राखेका छौँ र हामी आफैँले पनि समीक्षा गरिरहेका छौँ । समीक्षा गरिसकेपछि जे निष्कर्ष आउँछ, त्यस आधारमा फेरि कुरा गर्छौँ ।

‘हामी असन्तुष्ट मात्र होइन, अलि गहिरो बेहद असन्तुष्ट छौँ, किनभने पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदैभएन । त्यसकारण हामी असन्तुष्ट छौँ’ बैठकपछि पत्रकारहरूसँग खनालले भने, ‘त्यो असन्तुष्टिलाई पाँच दलभित्र पनि राखेका छौँ र हामी आफैँले पनि समीक्षा गरिरहेका छौँ । समीक्षा गरिसकेपछि जे निष्कर्ष आउँछ, त्यस आधारमा फेरि तपाईंहरूसँग कुरा गर्छौं ।’

केन्द्रबाट गठबन्धनको निर्णय भए पनि तल कार्यान्वयन नहुँदा पार्टीले थोरै सिट मात्रै जितेको र एमालेले धेरै सिट जित्न सफल भएको प्रारम्भिक निष्कर्ष एकीकृत समाजवादीको छ । ६६ पालिका प्रमुखमा तालमेल गर्दा पार्टीले २० प्रमुख र २४ उपप्रमुख मात्रै जितेको छ । तीमध्ये नौवटा पालिका गठबन्धनको सहयोगविनै एकल प्रतिस्पर्धामा जित हासिल गरेको छ । गठबन्धन प्रभावकारी कार्यान्वयन भएको अवस्थामा कम्तीमा ४० देखि ५० ओटा पालिका प्रमुख जितिने अवस्था हुँदाहुँदै जम्मा ११ पालिकामा मात्र कांग्रेस र माओवादीसहित गठबन्धनमा रहेका अन्य दलको सहयोगमा जित हासिल भएको समाजवादीको प्रारम्भिक निष्कर्ष छ ।

समाजवादीले गठबन्धनबाट भएको असहयोगलगायतका विषयमा पाँच दिनभित्र सातवटै प्रदेशबाट विस्तृत सूचना संकलनका लागि सचिवालयका सात नेतालाई जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश १ मा उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा उपाध्यक्ष रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा उपमहासचिव प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा महासचिव बेदुराम भुषाललाई जिम्मेवारी दिइएको छ । 

उपमहासचिव तुलाधरले सातओटै प्रदेशबाट विस्तृतमा सूचना संकलन भएपछि सचिवालयमा घनीभूत समीक्षा हुने र त्यसलाई प्रतिवेदनका रूपमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकसम्म लगेर छलफल गरिने बताए । सचिवालय बैठक आइतबार पनि डाकिएको छ । 

गठबन्धनमा धोका नभएको भए कम्तीमा ४० देखि ५० स्थानीय तहमा सहज रूपले प्रमुख जितिने एकीकृत समाजवादीको आन्तरिक निष्कर्ष छ । आफ्नो प्रभाव क्षेत्र रहेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कांग्रेस र माओवादीले बेग्लै गठबन्धन गरेर धोका दिएको समाजवादीको निष्कर्ष छ । तर, स्थानीय तहको निर्वाचनलगत्तै वामपन्थीहरूबीच तत्काल एकताको आवश्यकता देखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए । तर, मुख्य वामपन्थी पार्टीकै प्रमुख नेताहरू नै त्यसप्रति इमानदार नदेखिएकाले एकताको सम्भावना भने कमजोर देखिएको उनको भनाइ छ । 

‘नेपाल यतिवेला जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अगाडि बढिरहेको छ । यो युगमा वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो । तर, यतिवेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू एकताको पक्षमा देखिनुहुन्न । त्यसकारण तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावनाचाहिँ निकै कमजोर छ,’ खनालले पत्रकारसँग भने ।