सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा आमाले नै दुई छोरीको हत्या गरेको खुलेको छ। बुधबार बिहान करिब ११ बजेतिर बनगाड कुपिन्डे– १ गोलगौलमा घरमा मृत भेटिएका दुई दिदीबहिनीको हत्या आमाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
२६ वर्षीया पूर्णिमा रानाले प्रारम्भिक अनुसन्धानका क्रममा आफूले दुई छोरीको हत्या गरेको स्वीकार गरे पनि हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए।
सोधपुछका क्रममा श्रीमानसँग समयसमयमा विवाद भएका कारण छोरीहरूको हत्या गरेको बताए पनि श्रीमान् कामको सिलसिलामा जिल्लाबाहिर भएकाले फोनमा भएको विवादलाई मात्र मुख्य कारण मान्न नसकिने उनको भनाइ छ। घटना भएको दिनसमेत श्रीमानलाई फोन गरेको वा आएको मोबाइलमा नदेखिएको न्यौपानेले जानकारी दिए।
घटनापछि श्रीमान् जिल्ला आउँदै गरेको र उनीसँग पनि थप सोधपुछपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए।
बुधबार बिहान तीन वर्षीया करिश्मा र ६ महिनाकी राघवी आफ्नै घरमा मृत फेला परेका थिए। आमालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।