
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले युरोपियन विजेता इटलीलाई ‘फाइलिसीमा’ फुटबल प्रतियोगितामा ३–० ले हराउँदै उपाधि जितेको छ । इंग्ल्यान्डको विम्बली रंगशालामा बुधबार राति दक्षिण अमेरिकन र युरोपियन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको थियो । जसमा अर्जेन्टिनाले बाजी मार्यो । यसअघि सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच खेल भएको थियो । जसमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा डेनमार्कमाथि जित निकाल्यो ।
विम्बली रंगशालामा जित हात पारेसँगै अर्जेन्टिनाले आफ्नो अपराजित खेल संख्या ३२ पुर्याएको छ । अर्जेन्टिना जुन २०१९ देखि अपराजित छ । अर्जेन्टिनाका लगि मार्टिनेजले खेलको २८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमै अर्जेन्टिना २–० ले अघि रह्यो ।
मिडफिल्डर डी मारियाले डिबक्सभित्र सहजै गोल गर्दा अर्जेन्टिनाले प्रतिस्पर्धामा दोस्रो गोलको अग्रता लियो । दोस्रो हाफमा सन् २०२० को युरोकप विजेता इटलीले अर्जेन्टिनामाथि दबाब राखेको थियो । तर, इटलीले गोल फर्काउन सकेन । दोस्रो हाफमा अर्जेन्टिनाले अन्तिम इन्जुरी समयमा थप एक गोल गरेको थियो । यसपटक अर्जेन्टिनाका लागि तेस्रो गोल डिबालाले गरे ।
अर्जेन्टिनाले ११ महिनाको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको हो । गत वर्षको जुलाईमा अर्जेन्टिनाले लियोनल मेसीको कप्तानीमा कोपा अमेरिका उपाधि हात पारेको थियो । राष्ट्रिय टोलीबाट मेसीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको नै कोपा अमेरिका हो । उनी ११ महिनाको अन्तरमा दोस्रो उपाधि चुम्न सफल भए । इटलीविरुद्धको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा मेसीले राखेका थिए । अन्तरमहादेशीय फुटबल खेल सोचेकोजस्तो भएको उनले बताएका छन् ।