१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
क्यालम सदरल्यान्ड
२o८२ बैशाख २७ शनिबार o८:२७:oo
Read Time : > 5 मिनेट
विश्व प्रिन्ट संस्करण

भारत र पाकिस्तानले यसअघि नै लडेका चार ठुला युद्ध

Read Time : > 5 मिनेट
क्यालम सदरल्यान्ड
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार o८:२७:oo

बुधबार (मे ७ मा) भारत र पाकिस्तानले एकअर्काको भूमिमाथि हवाई हमला गरेपछि दुई देशको तनाव पछिल्लो समय उच्च विन्दुमा पुगेको छ । भारतले गत अप्रिल २२ मा भारत प्रशासित कस्मिरमा भएको आतंकवादी आक्रमणको जवाफमा ‘अपरेसन सिन्दुर’ नाममा बुधबार पाकिस्तानी क्षेत्रमा शृंखलाबद्ध मिसाइल आक्रमण गरेपछि पाकिस्तानले जवाफी हमला गरेको छ । 

अप्रिल २२ मा भारत प्रशासित कस्मिरमा भएको आतंकवादी आक्रमणमा २५ जना भारतीय र एकजना नेपाली पर्यटक मारिएपछि पछिल्लो तनाव सुरु भएको हो । भारतले पाकिस्तानको सरकारले आतंकवादी आक्रमणलाई समर्थन र सहयोग गरेको दाबी गरेको छ, जसलाई पाकिस्तानले अस्वीकार गरेको छ । बुधबारको हवाई आक्रमणपछि पाकिस्तानमा ३१ र भारतमा १६ को मृत्यु भएको प्रारम्भिक तथ्यांक आएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका साथै अमेरिका, चीन, रुसका अधिकारीहरूलगायत विश्व नेताहरूले तनाव कम गर्न आग्रह गरेका छन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनाव बुझ्न यसको इतिहास हेर्नु उपयुक्त हुन्छ । 

१९४७ : स्वतन्त्रलगत्तै पहिलो युद्ध 

सन् १९४७ युद्धका लागि श्रीनगर हवाई मैदानमा भेला भएका भारतीय सेना

उसो त भारत र पाकिस्तानबिचको तनाव ती देशहरूजत्तिकै पुरानो हो । सन् १९४७ अघि दुवै देश बेलायतको उपनिवेश थिए । बेलायतको शासनविरुद्ध लामो स्वतन्त्रता अन्दोलनपछि अन्ततः अगस्ट १९४७ मा बेलायतले भारत छाड्यो । भारतीय उपमहाद्वीपको आफ्नो उपनिवेश छाड्दा बेलायतले आफूले प्रत्यक्ष शासन गरेको दक्षिण एसियाली क्षेत्रलाई हिन्दु बहुल भारत र मुस्लिम बहुल पाकिस्तानमा विभाजित गरेर गएको थियो । यस भेगमा बेलायतले प्रत्यक्ष शासन गरेका बाहेक पनि ६५० जति ससाना बेलायत आश्रित राज्य थिए । तिनलाई भारत र पाकिस्तामध्ये एउटा छान्ने विकल्प दिइएको थियो । प्रायः मुस्लिम बहुल राज्य पाकिस्तानमा गाभिए भने हिन्दु बहुल राज्य भारतमा मिसिए । तर, हिन्दु राजा हिन्दु महाराजाले शासन रहेको मुस्लिम बहुल कस्मिर भने कता मिसिने विवादमा फस्यो । यसै विषय चर्किँदै जाँदा दुई नयाँ देशबिच पहिलोपटक युद्ध भड्कियो । 

कस्मिरका तत्कालीन हिन्दु राजा हरि सिंहले सुरुमा भारत पाकिस्तान दुवैमा नमिसिई स्वतन्त्र रहने प्रयास गरेका थिए । तथापि, उनी सो चाहना कार्यान्वयन गर्न सक्ने गरी जनतामाझ लोकप्रिय थिएनन् । राज्यमा सिंहको शासनविरुद्ध आमअसन्तुष्टि र विरोध चुलिँदै गएको थियो । यही माहोलमा पाकिस्तानतर्फबाट आदिवासीहरूको एक सशस्त्र दस्ताले अक्टोबर १९४७ मा कस्मिरमाथि आक्रमण गर्‍यो । ती सशस्त्र दस्तालाई पाकिस्तानी सेनाले सघाएको थियो । 

पाकिस्तानतर्फबाट आक्रमण भएपछि हरि सिंहले नयाँदिल्लीबाट सुरक्षा प्रतिबद्धता लिएर राज्यलाई भारतमा बिलय गर्ने दस्तावेजमा हस्ताक्षर गरिदिए । भारतसँग बिलय सम्झौतामा हस्ताक्षर भएपछि भारतले पाकिस्तानतर्फबाट भएको सैन्य हस्तक्षेपविरुद्ध आफ्नो सेना परिचालन गर्‍यो । र, पहिलोपटक भारत र पाकिस्तान प्रत्यक्ष युद्धमा होमिए । 

भारत–पाकिस्तानबिचको पहिलो युद्धका क्रममा भारतीय सेनाले राज्यको दुईतिहाइ भाग लिन सफल भयो । बाँकी एकतिहाइ भागमा पाकिस्तानी फौजले नियन्त्रण कायम गर्‍यो । सन् १९४९ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम हुँदा दुई सेनाले जहाँसम्म कब्जा गरेका थिए त्यसलाई मान्यता दिए दुई देशको सेनाको भेट (मुडभेड) भएको स्थान ‘नियन्त्रण रेखा (एलओसी)’लाई अस्थायी सीमा घोषित गरियो । तथापि, त्यसपछि पनि दुवै देशले सम्पूर्ण कस्मिरमा दाबी गर्न छाडेनन् ।

१९६५ : दोस्रो भारत–पाकिस्तान युद्ध

सन् १९६५ को दोस्रो भारत–पाक युद्धमा प्रयोग भएका तोप

सन् १९४९ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भएपछि पनि दुई देशबिच सीमाक्षेत्रमा सानातिना झडप चलिरहेको थियो । सन् १९६० को दशकसम्म पुग्दा तनाव चुलिँदै जानथाल्यो । ५ अगस्ट १९६५ मा, पाकिस्तानले भारत प्रशासित कस्मिरमा ठुलो संख्यामा सेना पसाएर भारतविरुद्ध विद्रोेह सुरु गर्ने उद्देश्यका साथ ‘अपरेसन जिब्राल्टर’ नामक सैन्य अपरेसन सुरु गर्‍यो । अपरेसन असफल भयो र भारतले जवाफी कारबाही गर्दा दुई देशलाई कस्मिरका विषयमा पुनः युद्ध धकेल्यो । 

मुख्यतः कस्मिरी भूमिमा ५० दिनसम्म चलाएको युद्धमा दुई राष्ट्रका पाँच हजारजति सेनाले ज्यान गुमाए । तत्कालीन विश्वशक्ति अमेरिका र सोभियत संघको कूटनीतिक हस्तक्षेपपछि फेरि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा दुई देशबिच युद्धविराम भयो । तीन महिनापछि सोभियत संघको तासकन्त सहरमा एक सन्धि गरेर यस युद्धविरामलाई औपचारिकता प्रदान गरिएको थियो । नियन्त्रण रेखा पुनः यथावत् राखियो, तर फेरि पनि दुवै पक्षले कस्मिरको पूरै भागमाथि दाबी राख्न छाडेनन् । 

१९७१ :  बंगलादेशका लागि तेस्रो युद्ध र कस्मिरको स्थायी विभाजन

सन् १९७१ मा तेस्रो भारत–पाक युद्धमा हारेपछि आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै पाकिस्तानी सेनाका लेफ्टिनेन्ट जनरल एएके नियाजी 

सन् १९४७ मा बेलायतले छाडेर जाँदा पश्चिममा रहेको हालको पाकिस्तान र हालको बंगलादेश, अर्थात् पूर्वी बंगालको भूभाग समेटेर पाकिस्तान बनेको थियो । सन् १९५५ मा पूर्वी बंगाललाई पूर्वी पाकिस्तान भन्न थालियो । तर, इस्लामाबादकेन्द्रित पन्जाबीभाषी राजनीतिज्ञबाट बंगाली भाषा र बंगाल अलगावमा परेको भन्दै यस भेगमा सुरुदेखि नै असन्तुष्टि थियो । बिस्तारै विरोध उर्लिँदै थियो । सन् १९७० मा पाकिस्तानमा भएको आमनिर्वाचनमा बंगाल क्षेत्रमा हाबी रहेको अवामी लिगले बहुमत प्राप्त गर्‍यो । तर, राष्ट्रपति याया खानले अवामी लिगलाई सरकार बनाउन रोकेपछि बंगालमा विद्रोह उठ्यो । पाकिस्तानी फौज विद्रोहीलाई क्रूरतापूर्वक दबाउन उत्रियो । यसले सन् १९७१ मा बंगलादेशमा स्वतन्त्रता संग्राम चर्कियो ।  

बंगलादेशमा भड्किएको द्वन्द्वले लाखौँ बंगलादेशी नागरिक सुरक्षाका लागि छिमेकी भारत पस्दा त्यहाँ शरणार्थी संकट निम्तियो । भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले बंगलादेशको स्वतन्त्रताको समर्थनमा सेना पठाउने निर्णय गरिन् । योसँगै भारत र पाकिस्तानबिच तेस्रो युद्ध सुरु भयो । यो युद्ध विगतमा भन्दा छोटो रह्यो । भारतले डिसेम्बर ३ मा पाकिस्तानविरुद्ध युद्ध घोषणा गरेको थियो । १३ दिनपछि डिसेम्बर १६ मा पाकिस्तान सेनाको पूर्वी कमान्डले आत्मसमर्पण गरेसँगै युद्ध रोकियो । 

६ महिनापछि जुलाई १९७२ मा ‘सिमला सम्झौता’मार्फत दुई देशले औपचारिक रूपमा तेस्रो युद्धको अन्त्य गरे । भारत–पाकिस्तानबिच भएको तेस्रो युद्ध पहिलेका दुईजस्तो कस्मिरको विषयमा लडिएको थिएन । न त मुख्य युद्धभूमि कस्मिर थियो । तथापि, सिमला सम्झौताका क्रममा कस्मिरको ‘नियन्त्रण रेखा’लाई दुवैले स्थायी रूप दिने सहमति जनाए । सम्झौतापछि पनि दुई देशले अझै पनि सम्पूर्ण कस्मिरमाथिको हकदाबी गरिरहे । तथापि, सम्झौताले ‘नियन्त्रण रेखा (एलओसी)’लाई औपचारिक रूपमा भारत र पाकिस्तानको सीमाको काम गर्‍यो, जुन अझै कायम छ ।

सन् १९९९ : कस्मिरमा विवादास्पद चुनाव, विद्रोह र चौथो युद्ध (कार्गिल युद्ध)

सन् १९९९ को भारत–कारगिल युद्धमा कब्जा गरिएको पाकिस्तानी हतियार देखाउँदै भारतीय सेना 

भारत प्रशासित कस्मिरमा सन् १९८७ मा भएको विधान सभा चुनावले राज्यको राजनीतिमा लामो प्रभाव पारेको मानिन्छ । चुनावमा फारुक अब्दुल्लाह नेतृत्वमा रहेको पार्टी ‘नेसनल कन्फरेन्स’को पक्षमा व्यापक धाँधली भएको सबैले देखे । यस खुला धाँधलीले राज्यको गिर्दो अवस्थाबाट असन्तुष्ट आमकस्मिरीलाई थप आक्रोशित बनायो । त्यसपछिका वर्षहरूमा कस्मिरमा सशस्त्र समूहको गतिविधि तीव्र वृद्धि हुन थाल्यो । यस्ता समूहले पाकिस्तानको समर्थनमा भारतबाट अलग हुने माग उचाल्न थाले । 

यसै समयमा निर्माण भएको ‘जम्मु र कस्मिर लिबरेसन फ्रन्ट (जेकेएलएफ)’ले पाकिस्तानको समर्थनमा सन् १९९० को दशकको सुरुमा राज्यमा विद्रोहको नेतृत्व गर्‍यो । जेकेएलएफले पछि आफूलाई पाकिस्तानबाट टाढिएर कस्मिरी स्वतन्त्रतामा जोड दिन थाल्यो । कस्मिरलाई भारतबाट अलग गर्नुपर्ने माग राख्ने समूह जेकेएलएफ मात्र थिएन । त्यसैवेला गठन भएका अन्य समूह अझै पनि पाकिस्तानको समर्थनमा सशस्त्र संघर्ष चलाइरहेका छन् । तिनमा ‘लस्कर–ए–तैयबा (एलइटी)’ सबैभन्दा परिचित समूह हो । सन् १९९० को दशकमा यो कस्मिरको सबैभन्दा सक्रिय र प्रमुख लडाकु समूह बन्यो । 

९० को दशकको मध्यसम्म आइपुगेपछि भारतले कस्मिरभित्र बढ्दो सशस्त्र समूहको प्रभावलाई कम गर्न पाकिस्तानसँग सीधा कूटनीति महत्वपूर्ण हुने बुझ्न थालिसकेको थियो । यसैले उसले भित्री च्यानलमा वार्ता अघि बढायो । लामो कूटनीतिक प्रयासको परिणामस्वरूप फेब्रुअरीमा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयी बसमा चढेर पाकिस्तानको लाहोर पुगे । दशकपछि पाकिस्तान पुग्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका बाजपेयीले सम्बन्धलाई मुख्य प्राथमिकता दिएका थिए । बाजपेयी भ्रमणमा दुई देशले सम्बन्ध सामान्यीकरण गर्दै जाने ‘लाहोर घोषणापत्र’मा हस्ताक्षर गरे । लाहोर घोषणापत्रले भारत पाकिस्तानबिच शान्ति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धेरैको आशा थियो । तर, घोषणापत्रको मसी पनि सुक्न नपाउँदै तीन महिनामै दुई देश पुनः युद्धभूमिमा एकअर्काविरुद्ध उभिएका थिए । 

भारत प्रशासित कस्मिरको कार्गिल क्षेत्रमा कैयौँ सैन्य पोस्ट पाकिस्तानतर्फबाट आएका घुसपैठियाले कब्जा गरेपछि उक्त लडाइँ सुरु भएको थियो । भारतले घुसपैठिया पाकिस्तानी सेना भएको दाबी गरेको थियो । तथापि, पाकिस्तानले भारतको दाबी खण्डन गर्दै ती कस्मिरी विद्रोही भएको बतायो, पछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले घुसपैठियालाई फिर्ता बोलाएपछि युद्ध रोकियो । (त्यस समय पनि उनले ती पाकिस्तानी सेना नभएको बताइरहेका थिए ।) १० हप्ता चलेको लडाइँमा १,००० भन्दा बढी लडाकुको मृत्यु भयो ।

१९९० को दशकभरको उच्च तनावका बिच कस्मिर विश्वको सबैभन्दा बढी सेना तैनाथ भएको क्षेत्रमध्ये एक बन्यो । लाखौँ भारतीय सेनाको उपस्थितिका बाबजुद सशस्त्र समूहको सक्रियता घटेन । धेरै कस्मिरी लडाकु समूहले सन् २००० को दशकमा पनि आक्रमण जारी राखे । २००१ मा लस्कर–ए–तैयबा र अर्को समूह जैस–ए–मोहम्मद (जेइएम)ले मिलेर नयाँदिल्लीस्थित भारतीय संसद् भवनमा आक्रमण गरे । आक्रमणमा पाँच आतंककारीसहित १४ जनाको मृत्यु भएको थियो । लस्कर–ए–तैयबाले पछि सन् २००८ मा मुम्बईमा अर्को आतंकवादी हमला गरेको थियो, जसमा १६६ को मृत्यु भएको थियो ।

फेब्रुअरी २०१९ मा जैस–ए–मोहम्मदसम्बद्ध एक आतंककारीले कस्मिरको पुलवामाको राजमार्गमा गुडिरहेको भारतीय केन्द्रीय रिजर्भ पुलिस बलको गाडीमाथि विस्फोटक पदार्थले भरिएको कार ठोक्काउँदा ४० प्रहरीको मृत्यु भयो । भारतीय लडाकु विमानले पाकिस्तानी भूमिमा सर्जिकल स्ट्राइक गर्‍यो । तथापि, द्वन्द्व मत्थर हुँदा युद्ध हुन पाएन । आक्रमण भएकै वर्ष अगस्टमा भारतको केन्द्र सरकारले कस्मिरलाई देशको संविधानले प्रदान गरेको विशेष अधिकार (स्वायत्तता) खारेज गरिदियो । यसको पूर्ण अधिकारसमेत खोसिँदा पहिलेको कस्मिर राज्य अहिले लद्दाख र कस्मिर गरी दुई केन्द्र शासित क्षेत्रमा विभाजित छन् । 
सदरल्यान्ड टाइम म्यागेजिनका रिपोर्टर हुन् ।

अनुवाद : श्रवण उप्रेती (टाइम म्यागेजिनबाट)