मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Tuesday, 17 December, 2024
२o७९ जेठ १९ बिहीबार o८:१५:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मंकिपक्स रोकथाममा के गर्दै छन् विकसित मुलुक ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:१५:oo

विश्वका २० मुलुक अहिले मंकिपक्स प्रकोपसँग जुधिरहेका छन् । यो रोग फैलन नदिन हरेक देशका स्वास्थ्य अधिकारी आफ्नो देशको खोप भण्डार तथा उपचार स्थितिको मूल्यांकन गरिरहेका छन् । रोगले भोलि विश्वभर प्रकोपको रूप लियो भने ती पूर्वाधार आवश्यक पर्ने भएकाले उनीहरू तयारीमा लागेका हुन् । औषधि र खोप मान्यता दिने अमेरिकी फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसनले यसअघिनै अनुमोदित गरेका दुई खोप मंकिपक्सविरुद्ध प्रयोग गर्न सकिन्छ । बिफरविरुद्ध प्रयोग भएका खोप मंकिपक्सलाई उपयुक्त हुन सक्ने अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जानकारी गराइरहेको छ । 

अमेरिकाको भण्डारणमा बिफरविरुद्ध प्रयोग भएको खोपको १० करोडभन्दा बढी डोज छ । तर, त्यसमा साइडइफेक्ट र रोग प्रतिरोधात्मक समस्या भएका बिरामीलाई यो खोप दिनुहँुदैन । सन् २०१९ मा जिन्नेइयोस भनिने एउटा नयाँ खोप बिफर र मंकिपक्स दुवैको रोकथाममा प्रयोग गर्न सकिने भनेर स्वीकृति भएको छ ।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले करिब २.१ करोड डोज बिफरको खोप भण्डारण गरेर राखेको छ । तर, लामो समयदेखि भण्डारणमा रहेकाले तिनको सामथ्र्यमा कमी आएको हुन सक्ने अनुमान छ । 

मंकिपक्सको सबैभन्दा ठूलो क्लस्टर युरोपमा देखिएको छ । त्यसमा पनि विशेष गरी स्पेन बढी जोखिममा छ । केही विश्लेषकले यसपटकको प्रकोप स्पेनबाटै सुरु भएको हो कि भन्ने आशंकासमेत गरेका छन् । स्पेनकै अधिकारीले भने मंकिपक्स विस्तारका दुई सम्भावित स्रोतको अनुसन्धान गरिरहेको छः एउटा क्यानरी टापुहरूमा ५ मेमा आयोजित ‘गे प्राइड’ कार्यक्रम र म्याड्रिडस्थित एक सौना ।

समलिंगी पुरुष बढी संक्रमित
मध्य तथा पश्चिम अफ्रिकामा समय–समयमा मंकिपक्स भाइरसले प्रकोपको रूप लिने गर्छ । विशेषतः मंकिपक्स त्यति छिटो प्रसार भइहाल्दैन । अहिले पनि धेरै केस समलिंगी पुरुषमा देखिएको छ । ‘मध्य तथा पश्चिम अफ्रिकाबाहेक अन्यत्र लामो समयसम्म मंकिपक्सले प्रकोप लिएको छैन,’ एटलान्टास्थित इमोरी विश्वविद्यालयकी सरुवा रोग चिकित्सक डा. बोघुमा टिटान्जीले भनिन् । 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गत आइतबार मंकिपक्सविरुद्ध सबै सचेत हुनुपर्ने बताए । यसको भोलिपल्टै आफ्ना नागरिकलाई पुग्ने खोप रहेको जनाए । तर, विज्ञहरूले भने अमेरिका वा अन्य कुनै मुलुकका सबैलाई खोप दिन आवश्यक नरहेको बताउँछन् । त्यसको सट्टा विज्ञले संक्रमित फेला परे सम्पर्कमा आएकाहरूलाई खोप लगाउन सिफारिस गरेका छन् । 

 बिफरकै खोप मंकिपक्समा प्रयोग गर्न मिल्ने
विभिन्न दुर्लभ रोगको प्रकोपलाई दबाउन ‘रिङ भ्याक्सिनेसन’ विधि प्रयोग गरिन्छ । तर, अहिलेकै स्थितिमा सबैलाई खोप लगाउन सिफारिस गर्न नहुने विज्ञको भनाइ छ ।विगतमा बिफरविरुद्ध प्रयोग भएको खोपले मंकिपक्सलाई काम गर्ने भए पनि त्यसको गम्भीर साइडइफेक्ट हुन्छ । खोपले मुटुको मांसपेशी सुन्नाइदिन्छ, रोग प्रतिरोधात्मक क्षमता दबाउने रोगहरू जस्तै, एचआइभी लागेकाहरूलाई पनि खोप जोखिमपूर्ण हुन सक्छ । खोप एक्जेमाका बिरामीका लागि प्राणघातक हुन सक्छ । 

११ डिसेम्बर २००१ को आतंककारी हमलापछि अमेरिकाले पुनः आतंकवादी आक्रमण हुन सक्ने आशंकामा सम्पूर्ण जनसंख्यालाई खोप दिने विचार गरेको थियो । ‘अन्तिममा धेरै मानिसलाई खोपको नकारात्मक असर देखिने भन्दै निर्णय अघि बढाइएन्,’ हारवर्ड टिएचचान स्कुल अफ पब्लिक हेल्थका महामारीविद् बिल ह्यानेजले भने, ‘हुन त खोपको साइडइफेक्ट एकदम दुर्लभ हुन्छ । तर, एकैपटक लाखौँ मानिसमा खोप लगाउँदा धेरै संख्या बाहिर आउँछ । ’

जिन्नेइओसजस्ता नयाँ पुस्ताका खोप ठूला समूहलाई लगाउन सुरक्षित हुने सम्भावना पनि छ । तथापि, अहिलेका लागि ‘रिङ भ्याक्सिनेसन’ नै संक्रमण रोक्न पर्याप्त हुन सक्छ । ‘मंकिपक्स अहिले पनि अपेक्षाकृत दुर्लभ भेटिएको छ र रिङ भ्याक्सिनेसन रणनीतिले यो पूर्ण नियन्त्रित हुन्छ,’ डा. ह्यानेजले भने । अमेरिकाले मंकिपक्स रोकथाम गर्ने खोपबाहेक पनि टेकोभिरिमेट नामक एन्टिभाइरल चक्की २० लाख डोज किनेको छ । जुन संक्रमित भइसकेका बिफरको उपचारका लागि स्वीकृत गरिएको औषधि भएको सिडिसीले बतायो । 

मानव मंकिपक्स पहिलोपटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोको एक क्षेत्रका नौ वर्षीय बालकमा देखिएको थियो । बिफर निर्मूल भइसकेको सो मुलुकमा मंकिपक्सका केस पछिल्ला दशकमा उल्लेखनीय रूपमा बढेका छन् । विशेषतः बिफरको खोप अभियान अन्त्य हुनु यसका लागि जिम्मेबार ठानिएको छ । मानिसमा भन्दा अगाडि नै यो भाइरस पहिलोपटक सन् १९५८ मा अनुसन्धानका लागि राखिएको बाँदरमा पत्ता लागेको थियो । बाँदरमा यो भाइरस मुसाबाट सर्ने गर्छ । 
एजेन्सीको सहयोगमा