अहिले ‘सभ्यता’ एक सांस्कृतिक लगाव बनेको अर्थात् सबैजना शिष्ट हुने हो भने सबै किसिमका असहमति र फरक विचारलाई सम्बोधन गर्न सकिन्छ । वास्तवमा अहिलेको समयलाई असभ्यताले गाँजेको छ । र, अमेरिकामा कैयौँको मृत्यु हुने गरी दोहोरिइरहने सामूहिक गोलीकाण्डका सन्दर्भमा राजनीतिक संस्थापनभन्दा बढी असभ्य अरू केही छैन । वयस्क, स्कुले बालबालिका, शिक्षकदेखि पसलमा खरिद–बिक्री गर्ने व्यक्ति कोही पनि बन्दुक त्रासदीबाट अछुतो छैन ।
केही दिनअघि टेक्सासमा भएको गोलीकाण्डमा कमसेकम १९ बालबालिका र दुई शिक्षक मारिएका छन् । तर, यो भयावह मृत्युसंख्याले संस्थापनलाई छुनेछैन । हरेकपटक हामीलाई यी दोहोरिइरहने हिंसालाई प्रत्यक्ष वा परोक्ष रूपमा सहनुपर्छ भन्ने बताइन्छ । यी गोलीकाण्डमा हामी, हाम्रा सन्तान वा प्रियजन नपरून् भन्ने आशा मात्रै गर्न सक्छौँ । र, यदि हामी आक्रोशित हुन्छौँ वा विरोध प्रदर्शन गर्छौं भने हामीलाई सभ्यताको पाठ सिकाइन्छ । हामीलाई शान्त रहन र आफ्नो रिसलाई मतदानबाट पोख्न नसिहत दिइन्छ ।
असभ्यता यो मुलुकको इतिहास हो, अर्थात् यो मुलुक नै कब्जा गरिएको भूमि र शोषण गरिएको श्रममाथि ठडिएको हो । यसको संविधानले आधाभन्दा बढी जनसंख्यालाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको थियो । असभ्यताको जरा यहाँ धेरै गहिरो ढंगले गाडिएका छन् । जब नेताहरू सभ्यता र सार्वजनिक बहसको कुरा गर्छन्, उनीहरू वास्तवमा अन्याय भइरहेको विषयमा जनता चुप लागिदिऊन् भन्ने चाहन्छन् । नेताहरू सीमान्तकृत जनताले उत्पीडनलाई जीवनमा निर्विकल्प ठानून् भन्ने चाहन्छन् । उनीहरू सत्तामा लिसो टासिएझैँ टाँसिइरहन चाहन्छन्, तर विवेकअनुसार चल्न चाहन्नन् र आफ्ना कामको परिणाम भोग्दैनन् ।
बन्दुक हिंसा त्यस्तो एक समस्या हो, जहाँ नेताहरूले चिन्ता गर्नुपर्दैन किनभने उनीहरू बन्दुक हिंसाको चपेटामा आफू र आफ्नो परिवार नपर्ने ठान्छन् । बरु यिनले हाम्रो संविधानको दोस्रो संशोधनले निर्दिष्ट गरेको अधिकारको (सेकेन्ड एमेन्डमेन्ड राइट्स) रक्षाको विषयमा पैरवी गर्छन् र उनीहरू संविधानले वास्तवमा के भनेको हो भन्दा पनि बन्दुक लबीको स्वार्थपूर्ति गर्न दोस्रो संशोधन अधिकारको पुनर्कल्पना गर्छन् । पुरातनपन्थीहरूको बहुमत भएको सर्वोच्च अदालतले आफूअनुकूल दोस्रो संशोधन अधिकारको पुनर्कल्पना गरिरहन्छ । जब समाधानको प्रश्न तेर्सिन्छ, रिपब्लिकन नेताहरू शिक्षकलाई नै बन्दुक बोकाउन र तालिम दिनुपर्छ भन्ने बताउँछन् । सबैलाई बन्दुक बोक्ने छुट हुँदा असल बन्दुकधारीले गोलीकाण्ड रोक्न सक्छन् भन्ने तर्क नगरिने होइन, तर अहिलेसम्मका कैयौँ बन्दुक त्रासदीमा असल बन्दुकधारी पनि थिए, तर त्रासदी रोक्न सकेनन् ।
सबै नेता उपदेश, प्रार्थना र बाइबलका उद्धरण फलाक्छन् । यद्यपि उनीहरू अर्को बन्दुक हिंसा वा अमेरिकामा हरेक दिन औसतमा तीन सय २१ ले गोली चलाउने तथ्य, जसमा ४२ हत्या र ६५ आत्महत्या हुन्छन्, त्यसलाई रोक्न के गर्न आवश्यक छ भन्ने विषयमा चासो राख्दैनन् । कमसेकम हामीले यो यथार्थलाई स्पष्ट, निरन्तर र मुखर रूपमा उठाउँदै आएका छौँ । हामी उनीहरूलाई खोक्रो भाष्यका पछाडि लुक्न दिँदैनौँ र हामी उनीहरूको झुट पहिल्याउँछौँ भन्ने पनि उनीहरूलाई थाहा छ । उनीहरूलाई वास्तवमा आफू को हौँ भन्ने पनि थाहा हुनैपर्छ ।
फर्गुसन, केनोसा र लुइसभिलेमा अश्वेत मानिसलाई गोली प्रहार गरिँदा होस् वा मारिँदा उनीहरूले बारम्बार सभ्यताको आह्वान गर्ने गरेका छन् । गर्भपतनको अधिकार र शारीरिक स्वायत्तता प्रत्याभूत गर्ने ‘रो’विरुद्ध ‘वेड’ निर्णय उल्ट्याउने मस्यौदा राय निर्णय चुहिँदा पनि उनीहरू सभ्यताको पाठ पढाइ नै रहन्छन् ।
मस्यौदा राय निर्णय चुहिँदा त्यसवेला केही न्यायाधीशका निवासअगाडि वैधानिक एवं शान्तिपूर्ण प्रदर्शन गरिएका थिए । मानौँ यी प्रदर्शन समस्याजनक हुन्, त्यसकारण प्रदर्शनलाई नै पत्रकार एवं नेताहरूले असभ्य करार गर्न कुनै ढिलाइ गरेनन् । वासिंगटन पोस्टको सम्पादकीय बोर्डले न्यायाधीशहरूको पनि निजी जीवन छ र सार्वजनिक प्रदर्शनले सीमा नाघ्नु हुँदैन भन्ने उपदेश पनि दिन भ्यायो । सभ्यताको परिभाषा उनीहरूलाई जेले शक्तिमा पुर्याउँछ, त्यसको विरोध गरिनुहुन्न भन्ने बनेको छ । सभ्यता भनेको उनीहरूलाई विनाकुनै प्रश्न वा चुनौती शक्तिमा रहन दिनुपर्छ भन्ने बनेको छ ।
कनेक्टिकटका सिनेटर क्रिस्टोफर मर्फीले गत वर्षको मार्चमा ब्याकग्राउन्ड चेक एक्स्पान्सन एक्ट (ऐन) पुनः प्रस्तुत गरेका थिए । यो विधेयकले निजी बिक्री एवं स्थानान्तरणसहित सबै बन्दुक खरिदका लागि पृष्ठभूमि जाँच अनिवार्य गर्छ । तर, यो विधेयक अलपत्र छ । यसलाई धेरै अमेरिकीले समर्थन गरेका छन्, तर कांग्रेसमा रिपब्लिकनले बन्दुक सुधारसम्बन्धी आधारभूत विधेयकलाई पनि रोकिरहेका छन् । यो अवरोध एक जघन्य अपराध हो । अवरोध गर्नेहरू जीवनको कदर गर्ने मानिस होइनन् । उनीहरूको शक्ति र नियन्त्रणमा विशेष अनुराग छ । यसविरुद्ध पनि हामी स्पष्ट, निरन्तर र मुखर रूपमा बोल्नुपर्छ ।
मंगलबार मारिएका ती १९ बालबालिकाका अभिभावकले आफ्ना लालाबालाको हात समातेर विद्यालय पुर्याउँदा जब चुम्बन गरेका थिए वा टिफिन थमाएका थिए त्यति बालबालिका मारिएका थिएनन् । यी बालबालिकाको जीवन निस्सन्देह अमुल्य थियो । क्रोध, आक्रोश, शोक वा मृत्युले बन्दुक वा जीवनसँगको यो देशको सम्बन्धलाई परिवर्तन गर्दैन भन्ने यथार्थ अमेरिकी हुनुको सबैभन्दा ठुलो अपमान हो । यो बर्बरतालाई शब्दमा व्याख्या गर्न सकिँदैन । द न्युयोर्क टाइम्सबाट