१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कार्यभार सम्हाल्दै धरान उपमहानगर प्रमुख हर्कराज राई
२०७९ जेठ १२ बिहीबार ०७:१२:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

धरानका मेयरको घोषणा- मोटरसाइकल नै चढ्छु

Read Time : > 1 मिनेट
२०७९ जेठ १२ बिहीबार ०७:१२:००

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जनताको सेवक भएकाले आफूले उपमहानगरको महँगो गाडी नचढ्ने, आफ्नो पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उनले सार्वजनिक रूपमा घोषणा गरेका छन् । राई एमाले र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट विजयी भएका हुन् । 

‘म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडलहरू पुर्नु छ, बिग्रिएका बाटाहरू मर्मत गर्नु छ,’ बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्ना निजी नम्बरसमेत सबैलाई दिएका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला ९८१९०१२३७१ र ९७४६९६५१९८ तपाईंको सेवक, जय धरान,’ उनले लेखेका छन् ।

हर्कराज राई साम्पाङ प्रमुख, धरान उपमहानगरपालिका 
म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन । त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडलहरू पुर्नु छ, बिग्रिएका बाटाहरू मर्मत गर्नु छ ।
 

धरान उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले मेयरका लागि को.१ज ६४० नम्बरको सेतो स्कोर्पियो तयारी अवस्थामा राखेको छ । चालक पनि तयारी अवस्थामा छन् । उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखेको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । 

‘हामीले उहाँहरूले पाउने सेवासुविधा तयारी अवस्थामा राखेका छौँ । सुविधा लिने वा नलिने भन्ने उहाँहरूको मर्जी हो,’ खतिवडाले भने, ‘मेयर, उपमेयर दुवैजनाले गाडी प्रयोग गर्नुभएको छैन । गाडीबारे हामीले जानकारी गराएका छौँ । मेयरसाप त मंगलबार पदबहाली गरेपछि उपमहानगरपालिका आउनुभएकै छैन ।’ मेयरले आफ्नो कार्यकालभरि निजी चालक पनि राख्न सक्ने व्यवस्था छ । 

मेयरमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघसंस्थाहरूबाट सम्मानका लागि निम्ता आउन थालेपछि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गरेका छन् । ‘मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुचि छैन । म काम गर्न चाहन्छु । मेरो यो भावना र चाहनाको ख्याल गरिदिनुहुन्छ भन्ने आशा लिएको छु,’ उनले भनेका छन् । 

धरानमा खानेपानीको हाहाकार छ । पानी खान नपाएका धराने जनताले दलका उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र उम्मेदवार राईलाई भारी मतका साथ विजयी गराएका छन् । लामो सयमदेखि सामाजिक अभियानमा लागेका राईले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलबार पदभार ग्रहण गर्दै पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावटलाई रोक्ने प्रतिबद्धता उनले जनाए । तर, लिखित निर्णय भने कर अध्ययनका विषयमा गरेका छन् । 

खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । ‘धरानको पहिलो समस्या भनेको खानेपानी हो, परियोजना सञ्चालन हुँदा पनि खानेपानीको अभाव भइरहेको छ, यसको समाधान नै मेरो पहिलो प्राथमिकतामा छ,’ पदभार ग्रहण गर्दै राईले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् ।