मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडौैं
२o७९ जेठ १० मंगलबार o९:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा मानव तस्करी : दुबईका नेपाली व्यापारीविरुद्ध रेड नोटिस जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार o९:१४:oo

सयौँ नेपाली युवायुवतीलाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) लगेर ठगी गरेको अभियोगमा दुबईमा बस्दै आएका नेपाली व्यवसायी कोमलराज उपाध्यायलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले गत साता उनीविरुद्ध रेड नोटिस जारी गरेको हो । 

उपाध्यायविरुद्ध ४० जनाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा ठगी र मानव तस्करीको जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहका नाइकेलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउन लागिएको हो । दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्स नामक कम्पनी चलाउँदै आएका उपाध्याय र उनका साझेदारहरूले यस्तो धन्दा चलाएको प्रहरीले जनाएको छ । उनका अन्य साझेदारहरूमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

पीडितहरूकै उजुरीका अधारमा उपाध्यायलगायत दुबईमा बस्ने अन्य नेपालीमाथि अनुसन्धान भइरहेको सिआइबीका निमित्त प्रमुख एसएसपी कुवेर कठायत बताउँछन् । ‘उपाध्यायले धेरैलाई दुबई लगेर अलपत्र पारेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाएका छौँ, उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको छ,’ एसएसपी कठायत भन्छन्, ‘इन्टरपोलसँगकै सहकार्यमा अन्य व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेका छौँ ।’ 

रेड नोटिस जारी भएका उपाध्यायलाई तीन महिनाअघि दुबईमा त्यहाँको प्रहरीले पक्राउसमेत गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै उनी छुटेका थिए । करिब १५ वर्षदेखि दुबई बस्दै आएका उनको कम्पनी मानव तस्करी, हुन्डीलगायतका अपराधमा जोडिँदै आएको छ । रेड नोटिस जारी भएपछि युएई प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउन सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । 

एक वर्षमा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगे
सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगेका थिए । त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेका थिए । कोरोना महामारीले त्यसरी पुगेकाले रोजगारी नपाएपछि सडकमा अलपत्र परेका थिए । 

धेरै नेपाली अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले भिजिट भिसामा सबैभन्दा धेरै समस्या युएईमा रहेको औँल्याएको थियो । समितिको प्रतिवेदनअनुसार सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा युएई पुगेका थिए । धेरैजसो रोजगारीकै खोजीमा त्यहाँ गएको समितिको निष्कर्ष छ । युएई सरकारले भिजिट भिसालाई कामदार भिसामा सहजै परिवर्तन गर्ने भएकाले यसमा गिरोहहरू नै सक्रिय हुने गरेका छन् । 

सयौँ नेपाली युएईलगायत देशमा अलपत्र परेपछि सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा हेरफेर गरी कडाइ पनि गरेको थियो । गत वर्ष १० माघदेखि लागू हुने गरी खाडीका १८ देश तथा मलेसियामा भिजिट भिसामा अत्यावश्यक कामबाहेकको अवस्थामा जान रोक लगाइयो । हाल १८ बुँदे मापदण्ड लागू गरिएको छ । भिजिट भिसाको दुरुपयोग रोक्न नयाँ कार्यविधि बनाएर गृह मन्त्रालयमा पठाइएको र स्वीकृत भएपछि लागू हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई बताउँछन् । जसमा घुम्नकै लागि विदेश जानेले अनिवार्य रूपमा निश्चित बैंक ब्यालेन्स देखाउनुपर्ने प्रस्ताव गरिएको छ ।