
अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका तीन हजार ४७२ र १६ देखि ५९ महिनासम्मका नौ हजार ७३० बलबालिकाले पूर्ण खोप पाएपछि शुक्रबार अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
जिल्लाका सबै १० स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात् वार्षिक नियमित कार्यक्रमअन्तर्गत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा जिल्लाको रामारोशन गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ३६१, १६ देखि ५९ महिनासम्मका एक हजार ९४, तुर्माखाँद गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ४६३, १६ देखि ५९ महिनासम्मका एक हजार १७७, मंगलसेन नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या २७६, १६ देखि ५९ महिनासम्मका ४०० र ढकारी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ४९९, १६ देखि ५९ महिनासम्मका एक हजार २६८ रहेका छन् ।
त्यस्तै, चौरपाटी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ३५८, १६ देखि ५९ महिनासम्मका एक हजार १८८, कमलबजार नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या २९७, १६ देखि ५९ महिनासम्मका ९२६, मेल्लेख गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या २९४, १६ देखि ५९ महिनाका ९३४, साँफेबगर नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ३१२, १६ देखि ५९ महिनासम्मका ९२७ र बान्नीगढी जयगढ गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या १३४ र १६ देखि ५९ महिना उमेर सम्मका १३४ बलबालिकाले पूर्ण खोप पाएका छन् ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले प्रस्तुत गरेको तथ्यांकअनुसार अझै पनि जन्मेदेखि १५ महिनासम्मका १६ बालबालिका सँग खोप कार्ड छैन भने १६ देखि ५९ महिना उमेर समूहका चारजना बालबालिकाले कुनै पनि खोप नपाएको देखिन्छ ।
घोषणा कार्यक्रममा बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
१० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा सम्पन्न घोषणा सभामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई सम्मान गरिएको थियो ।