Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्षमा उम्मेदवारी दिँदै । 
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ७ शनिबार ०८:०५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा चुनाव : अध्यक्षमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा खड्काको उम्मेदवारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ७ शनिबार ०८:०५:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि शुक्रबार सातदोबाटोस्थित एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्ष तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदै छ । एन्फाको चुनावी साधारणसभाका लागि ६ देखि १२ जेठसम्मको समय तोकिएको छ । शुक्रबारै कर्माछिरिङ शेर्पाले अध्यक्षमा उम्मेदवारी दिने भनिएको थियो । तर, उनले अर्को साता मात्र उम्मेदवारी दिने भएका छन् । 

यसपटक दुवै पक्ष प्यानलसहित मनोनयन दर्ता गर्ने तयारीमा छन् । अध्यक्ष शेर्पाको पक्षमा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह र मानार्थ उपाध्यक्ष शिक्षित पराजुली छन् । यस्तै, महासचिव इन्द्रमान तुलाधर पनि शेर्पाकै पक्षमा देखिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका नेम्वाङले झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्नेछन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले प्रस्तावक र ए डिभिजन क्लब जावलाखेल युथका अध्यक्ष महेन्द्र क्षत्रीले समर्थन गरेका छन् । वर्तमान एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्तापछि आयोजित पत्रकार सम्मेलनमा नेपाली फुटबललाई अगाडि बढाउन नै उम्मेदवारी दर्ता दिएको बताएका छन् । ‘लामो समयदेखि परिवर्तनका लागि समूह एकता र आर्थिक पारदर्शितालगायत मुद्दा उठायौँ, तर क्षणमै हरायो,’ पत्रकार सम्मेलनमा नेम्वाङले भने, ‘वर्तमान अध्यक्षले चार उपाध्यक्षलाई चारतिर, १२ सदस्यलाई १२ तिर पुर्‍याउनुभयो ।’ पत्रकार सम्मेलनमा नेम्वाङले शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि पोखे ।

चार वर्षमा अनियमितता
वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले शेर्पाको चारवर्षे कार्यकालमा आर्थिक अनियमिततादेखि प्रतिबन्धसम्म भएको खुलासा गरेका छन् । ‘यो चार वर्षमा एन्फाभित्र आर्थिक अनियमितता चरममा पुगेको छ, उनले भने, ‘नरेन्द्र श्रेष्ठ (दाइ)को समयमा किन प्रतिबन्ध लगाइएन ? अहिले किन आर्थिक प्रतिबन्ध लाग्यो ।’ एन्फाभित्र चरम आर्थिक अनियमितता भएका कारण नै आर्थिक प्रतिबन्ध लागेको नेम्वाङको भनाइ छ । 

‘झन्डै तीन करोड रुपैयाँ एक कम्पनीले लगेको छ, त्यो नेपाललाई दिने ग्रान्टबाट काटिएको छ,’ उनले भने, ‘हामीले हिजोका दिनमा एन्फाभित्र पारदर्शिता र भ्रष्टाचारलाई शून्य सहनशीलता नारा लगाएका थियौँ, यो चार वर्षमा यसको कार्यान्वयन हुँदै भएन ।’ 

नेपाली फुटबललाई सही बाटोमा लैजान र यसको विकासका निम्ति नै एन्फा अध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङको तर्क छ । ‘साथीबाट नेपाली फुटबललाई अगाडि बढाउन एन्फा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने सुझाव आयो, यसै कारण मैले आज उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘सबैको आशीर्वाद र युवा साथीहरूको जोसका साथ मेरो उम्मेदवारी घोषणा गर्दछु ।’शेर्पाको चार वर्ष अवधिमा एन्फाभित्र एकलौटी रूपमा चलाएको आरोप उनले लगाएका छन् । 

२१ सदस्यीय कार्यसमिति
पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेम्वाङ समूहले आफ्नो साथमा शुक्रबार नै ५३ मताधिकार प्रतिनिधि रहेको बताएका छन् । अध्यक्षमा जित्न कम्तीमा ४८ मत आवश्यक पर्छ । चार वर्षअघिको निर्वाचनमा शेर्पा अत्यधिक बहुमत प्यानलसहित एन्फा नेतृत्वका लागि निर्वाचित भएका थिए । असारमा २१ जनाको कार्यसमितिका लागि निर्वाचन हुँदै छ । 

यसअघि १७ जनाको कार्यसमिति रहने गरेको थियो । १९औँ साधारणसभाले निर्वाचित कार्यसमिति २१ जना पुर्‍याउने निर्णय गरेको थियो । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ जना सदस्य रहनेछन् । सदस्यमा दुई महिला अनिवार्य छ । यसअघि चारजना उपाध्यक्षबाट वरिष्ठ छानिने प्रावधान थियो । अहिले वरिष्ठ उपाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । महासचिव र कोषाध्यक्ष भने पछि मनोनीत गरिनेछ ।

संस्थापनका तर्फबाट वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोहोरिने निर्णय गरेका छन् । सोमबार मनोनयन दर्ता गर्ने उनको भनाइ छ । अध्यक्षसँगै अन्य पदमा उम्मेदवार निर्धारण गरी प्यानलसहित मनोनयन दर्ता गर्ने गृहकार्यमा शेर्पा लागेका छन् ।

८७ मतदाता 
एन्फा निर्वाचनमा ८७ मतदाता छन् । जसमा ४५ जिल्ला, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब र सी डिभिजनका नौ क्लब प्रतिनिधिहरूले मतदान गर्न पाउँछन् । ४५ जिल्लामध्ये प्रदेश १ बाट १० जिल्ला, मधेस प्रदेशबाट आठ, बागमती प्रदेशबाट ११, गण्डकी र लुम्बिनी प्रदेशबाट ६–६ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई–दुई जिल्लाको मताधिकार हुनेछ ।

ठूलो योजना छैन
उम्मेदवारी दिँदै नेम्वाङले ठूलो योजनाभन्दा पनि चारवर्षे कार्यकालमा बनाउन सकिने योजनालाई प्राथमिकतामा राखिने बताए । उनका अनुसार राष्ट्रिय लिग सञ्चालन गर्नेदेखि एन्फा सचिवालय चुस्त बनाउने योजना छ । यसैबीच वीरबहादुरले एन्फामा नेम्वाङलाई सहयोग गर्न र खेलाडीका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । ‘मेरो उम्मेदवारी तीन हप्तादेखि १० राष्ट्रिय खेलाडीका लागि हो,’ वीरबहादुरले भने, ‘खेलाडीले दिनहुँ आएर गुनासो गरिरहँदा पनि हामी केही गर्न सकिरहेका छैनौँ ।’ यसैगरी, एन्फाका पूर्वप्रवक्ता तथा वर्तमान केन्द्रीय सदस्य किरण राईले अध्यक्ष शेर्पालाई आगामी निर्वाचनमा उम्मेदवारी नदिन सुझाव दिएका छन् ।