सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् । आचार्यले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटालाई दुई हजार पाँच सय २० मत अन्तरले पराजित गरेका हुन् । आचार्यले आठ हजार चार सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी देवकोटाले पाँच हजार नाै सय ६० मत मात्र प्राप्त गरी पराजित भए ।
यस्तै, उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार रञ्जितादेवी चौधरी विजयी भएकी छिन् । चौधरीले एमालेकी उम्मेदवार एवं निवर्तमान उपमेयर एकावतीदेवी चौधरीलाई एक हजार नाै सय १५ मतान्तरले पराजित गरिन् । कांग्रेसकी चौधरीले कुल आठ हजार दुई सय ६८ मत प्राप्त गर्दा एमालेकी चौधरीले ६ हजार तीन सय ५३ मत मात्र प्राप्त गरिन् ।
यस्तै १५ वटा वडा रहेको यस नगरपालिकामा ६ वटा वडामा नेकपा एमाले, ६ वटा वडामा कांग्रेस, जनता समाजवादी पार्टी एक, लोकतान्त्रिक समाजवादी पार्टी एक र माओवादी केन्द्र एक स्थानमा विजयी भएका छन् ।