१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : गण्डकी थापा अधिकारी र हिराकुमारी छन्त्याल ।
२o८१ बैशाख २४ सोमबार १९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बाग्लुङका दश पालिकामध्ये प्रमुख र उपप्रमुखमा जम्मा दुई महिला निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२३:oo

१० स्थानीय तहका प्रमुख र उपप्रमुखमा जम्मा दुईजना महिला निर्वाचित भएका छन् । एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमा कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनका कारण बाग्लुङमा प्रमुख र उपप्रमुखमा जम्मा दुईजना मात्र महिलाहरू निर्वाचित भएका हुन् । 

बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एक मात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिराकुमारी छन्त्याल एक मात्र पालिका उपप्रमुख हुन् । अधिकारी र छन्त्याल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । अधिकारीसँग गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले उपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको थियो । गठबन्धनमा भागबन्डा गर्दा आफ्नो भागमा परेका पालिकामध्ये बडिगाड गाउँपालिका प्रमुखमा मात्र कांग्रेसले महिला उम्मेदवार उठाएको थियो । तमानखोलामा निर्वाचित उपाध्यक्ष हिराकुमारी छन्त्याल पनि कांग्रेसकै उम्मेदवार हुन् । यसबाहेक कांग्रेसले काठेखोला गाउँपालिका–२ को अध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । उनी नेकपा एमालेका उम्मेदवारसँग पराजित भइन् ।

४ सय ४५ जना जनप्रतिनिधिको लागि भएको स्थानीय तह निर्वाचनमा संविधानले अनिवार्य गरेकाबाहेकका पदमा जम्मा १० महिला निर्वाचित भएका छन् । ताराखोला गाउँपालिकामा २, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिकामा ३, गलकोट नगरपालिकामा १ र जैमिनी नगरपालिकामा १ गरी ८ जना महिला खुला सदस्यमा निर्वाचित भएका छन् । १० स्थानीय तहका ८५ वटा वडा रहेको बाग्लुङमा योपटक एकजना पनि महिला वडाध्यक्ष चुनिएनन् । ०७४ मा ६ महिला उपप्रमुख र २ जना महिला वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नगरप्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिता गर्नुपर्ने संवैधानिक मर्म भए पनि दलहरूले तालमेलका नाममा महिलालाई प्रमुख पदमा स्थान नदिँदा योपटक २ महिला मात्र निर्वाचित भएका हुन् ।

एउटा दलले प्रमुख वा उपप्रमुखमध्ये एक मात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने व्यवस्था नभएकै कारण बाग्लुङमा महिला नेतृत्व घटेको हो । सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तहमा भागबन्डा गर्दा पालिका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उठाएका थिए । वडाध्यक्ष र खुला सदस्यमा महिला उम्मेदवार नै उठाएका थिएनन् । नेकपा एमालेले जिल्लाका ९ स्थानीय तहको उपप्रमुख र एक वडाध्यक्षमा महिला उम्मेदवार उठाए पनि उनीहरू सबै सत्तारुढ गठबन्धनका उम्मेदवारसँग पराजित भएका छन् ।
 

ad
ad