१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रसुवामा कांग्रेस र एमाले दुई–दुई पालिकामा निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o८:oo

रसुवाको पाँचवटा गाउँपालिकामध्ये चार पालिकाको अन्तिम परिणाम आएको छ । कालिका, उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सकिएको हो । 

कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने, उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा बुचुङ तामाङले १४३० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १३४५ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना लामाले १२२३ मत प्राप्त गरिन् ।

२०७४ को निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुनः अध्यक्षमा दोहोरिएका हुन् । 

कालिका गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत ल्याए । माओबादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत ल्याए । 

उपाध्यक्षमा कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्द्धी एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ को निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो । 

गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । 

उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।
२०७४ को निर्वाचनमा अध्यक्षमा कैसाङनुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुनः दोहोरिएका हुन् । 

उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत ल्याए । 

उपाध्यक्षमा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्द्धी कांग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा जितेकी थिइन् । 

नौकुण्ड गाउँपालिकामा भने मतगणना भइरहेको छ ।

ad
ad